• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
पत्रपत्रिका

आश्रयको खोजीमा मेलम्चीवासी

चौतारा  । मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।


एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चिनियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सम्पर्कविहीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भारतीय र दुई जना चिनियाँ नागरिक घाइते भएका छन् । घाइतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बेस क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

उद्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । त्यस्तै मेलम्ची खानेपानीमा कार्यरत मजदुर तथा बाढीबाट प्रभावित अन्य स्थानीयवासीसहित थप ९४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित हेलम्बु गाउँपालिका–२ का माधव भण्डारी, ज्ञानेन्द्र कक्षपति र गणेश ज्योति, हेलम्बु–३ की टीकामाया खड्का, हेलम्बु–६ का च्याङ्गा तामाङ र काली तामाङ, हेलम्बु–१ का सुनील, पूर्ण, कामी तामाङ र उहाँकी आमा, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का सुरेन्द्र नेपाल, ठेगाना नखुलेको होमराज घिमिरे र विजय बासुमन्तरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।


मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताउनुभयो । “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भन्नुभयो ।

 

बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।

 

मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताउनुभयो । “सडक बगाएको छ, बजारमा खोला बगिरहेको छ । तिम्बुदेखि चनौटेसम्मका दुई सयभन्दा बढी घर बगेका छन्,” उहाँले भन्नुभयो ।

 

हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानीयवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसिरहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतिले बताउनुभयो । “माथि बसेर आफ्नो घर बगाएको हेर्ने पालो कुरेर बसिरहेका छौँ,” उहाँले भन्नुभयो ।

 

यसैगरी पाँचपोखरी गाउँपालिका–३, लार्केखोलामा आएको बाढीले नदी किनारका सबै संरचनामा क्षति पु-याएको पाँचपोखरी–३ का अध्यक्ष निमाछिरिङ तामाङले जानकारी दिनुभयो । “हिँउ पहिरोले क्षति पु¥याएको हुनुपर्छ,” तामाङले भन्नुभयो, “करिब ५० घर विस्थापित भएका छन् ।” बाढीबाट विस्थापित हेलम्बु–मेलम्ची क्षेत्रका पीडित परिवार सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गइरहेका छन् ।

 

मेलम्चीका अधिकांश पीडितले इन्द्रेश्वरी माध्यमिक विद्यालय र नेपाली सेनाको ब्यारेकमा आश्रय लिइरहेका छन् । बाढीले इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ, सशस्त्र प्रहरी बल अस्थायी चेक पोस्ट हेलम्बु र सुरक्षा पोस्ट बगाएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । हराइरहेका नागरिकको खोजी, पीडितको उद्धार र राहतका काम निरन्तर भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

 

बिहीबार गृह मन्त्रालयबाट सय थान टेन्ट, २५० थान त्रिपाल, ५० थान स्लिपिङ ब्याग र बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४८ बोरा चामल, दुई बोरा नुन, २३ बोरा चिउरा तथा चाउचाउलगायतका सामग्री उपलब्ध गराइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

 

बाढीपीडितका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले हेलम्बु र मेलम्चीलाई तीन/तीन लाख रुपियाँ सहयोगको घोषणा गरेको छ । काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराउने मुहान क्षेत्रको विपत्तिमा मेलम्ची र हेलम्बुलाई कागेश्वरी, मनोहरा र गोकर्णेश्वर नगरपालिकाले क्रमशः १०/१० र पाँच लाख रुपियाँ सहयोगको घोषणा गरेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । दुई करोडको सहयोग बाढीग्रस्त क्षेत्रको पुनर्निर्माणमा खर्चिने गरी काठमाडौँ महानगरपालिकासँग समन्वय भएको समेत मन्त्री तामाङले बताउनुभयो ।विदुर आचार्य /गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार