युवराज दीपेन्द्रको कविता मोह
०००
अर्धचेत अवस्थामा दुई दिनका लागि राजा भएपनि धेरैले युवराजका रुपमा चिन्ने दीपेन्द्र वीरविक्रम शाहले कविता लेख्ने कुरा धेरैलाई थाहा छैन । दीपेन्द्र चित्रकला र खेलकुदसँगै दीपेन्द्रले युवाअवस्थामै लेखेका कविताहरू विभिन्न पत्रिका प्रकाशित छन् ।
यसो त राजपरिवारका महेन्द्र वीरविक्रम शाहले ‘मवीवी शाह’को नामबाट, राजा ज्ञानेन्द्रले ‘जी शाह’ तथा युवराज दीपेन्द्रकी आमा ऐश्वर्य राज्यलक्ष्मीले ‘चाँदनी शाह’का नामबाट गीत र कविता प्रकाशित गरेका छन् ।
युवराज दीपेन्द्रका पनि केही कविता प्रकाशित छन् । राष्ट्रिय एकता र नागरिक कर्तव्यमाथि लेखिएका उनका आधा दर्जन बढी कविता ४० को दशकका ‘उपकार’, ‘भन्ज्याङ’ र ‘गोरखापत्र दैनिक’मा प्रकाशित छन् । यस्तै युवराजका केही फुटकर लेख र निबन्धसमेत प्रकाशित रहेको घटराज भट्टराईद्वारा सम्पादित ‘नेपाली लेखककोष २०५६’मा उल्लेख छ ।
राजपरिवारका सदस्यलाई लामो समयसम्म पढाउने प्राध्यापक हरिशचन्द्र न्यौपानेले युवराज दीपेन्द्रलाई दुई कक्षादेखि एसएलसीसम्म पढाएका थिए । न्यौपानेका अनुसार नाटक पनि लेख्ने दीपेन्द्र भविष्यको राजा हुने निश्चित भएकाले नेपाली भाषाप्रति उनको विशेष रुची रहन्थ्यो ।
दीपेन्द्रले लेखेका नाटक र लेखको शुद्धाशुद्धी न्यौपानेले नै मिलाउँथे । त्यतिबेलादेखि नै युवराजलाई कविताको रुची भएको न्यौपानेले बताएका छन् ।
प्राध्यापक घटराज भट्टराईले पनि युवराज दीपेन्द्रलाई एक सिद्धहत कविको रुपमा उल्लेख गरेका छन् । ‘मूलतः निबन्धकारका रुपमा देखा परेका दीपेन्द्र शाहको कलिलो मस्तिष्कमा हे आमा ! शिर्षकको कविता आउनुले उनी एक सिद्धहस्त कवि हुन् भन्ने आभाष पाइन्छ’, भट्टराईले हिमाल पाक्षिकसँग गरेको कुराकानीमा यस्तो बताएका छन् ।
२०४५ सालको ‘उपकार’ त्रैमासिकमा प्रकाशित दीपेन्द्र शाहको ‘हे आमा !’ शिर्षकको कविता छापेको सम्भँदै नरेन्द्रराज प्रसाईं भन्छन्, ‘युवराज आफैंले टाइप गरेर हस्ताक्षर गरेको कविता प्राप्त भएको थियो । युवराजको कविता छाप्न पाउनु त्यतिबेला ठूलो कुरा मानिन्थ्यो ।’
अहिले ‘नइ प्रकाशन’का अध्यक्ष रहेका प्रसाई त्यतिबेला रानी ऐश्वर्य राज्यलक्ष्मी शाह अध्यक्ष रहेको ‘उपकार’ त्रैमासिकमा सम्पादक थिए । त्यहाँ रहँदा तत्कालीन रानी ऐश्वर्य राज्यलक्ष्मी आफैंले टाइप गर्ने गरेको उनी सम्झन्छन् ।
प्रसाईं आफैंले जीवनकालमा युवराजका चार थान कविता पढ्न पाएको स्मरण गरिरहन्छन् । ‘मानिसहरू युवराज आफैंले लेखेको कुरा पत्याउन गाह्रो मान्छन्’ उनले भने ‘तर नेपाली भाषा र कलाप्रति दीपेन्द्रलाई गहिरो पारिवारिक अनुराग थियो ।’
‘हे आमा !’ शिर्षकको उक्त कविता यहाँ प्रस्तुत गरिएको छ ।
हे आमा !
देखाइदेउ हे आमा ! काम, काम हामी गर्दछौं
घरका रित्ता भकारी– डाला पौरखले भर्दछौं।
जाने हो कता देखाऊ बाटो हृदय खोलेर
उघार्छौं हामी ज्योतिको दैलो यो जुगै फेरेर।
घुम्दछौं प्रत्येक गाउँका कुना ज्ञानज्योति छरेर
प्रत्येक सुख्खा थलोमा आज सिँचाइ गरेर।
पुर्याउँदछौं सारा विकट ठाउँमा चम्किलो बिजुली
उर्वरा पार्छौं खोँच र बगर यै माटो उचाली।
यो छातीभित्र छ राँको जल्दो नेपाली तागत
मिहिनेत गर्छौं बनाउन देश बहुञ्जेल रगत।
भिजाउनु परे यो माटो आज, मायाले भिजाउँछौं
माटोमा जाँगर उठाउनु परे आफैंलाई उठाउँछौं।
देशलाई शक्ति चाहिएमा मेरै बल बाहु छन् तयार
चम्किला सधैं म देख्न पाऊँ आमाको मुहार।
०००
(‘उपकार’ वर्ष ८, अंक ३, २०४५ बाट साभार/ तस्वीर स्रोत : हिमाल साप्ताहिक, २०५८ असार)
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस