• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

नेता आतङ्क

टिभी हेर्‍यो नेता देखाउँछ,
रेडियो सुन्यो नेता कराउँछ
छापा सबले नेता पढाउँछ
जनमानसमा नेता छाउँछ

 
बुढो राती सुत्न डराउँछ
सपनामा त्यही नेता आउँछ,
भाषण के के टन्न सुनाउँछ 
ताली पिट्न पनि लगाउँछ
“भोट दे भोट दे” भनी कराउँछ 
नत्र देशै बन्द गराउँछ 
जान्ने–सुन्ने सबै भगाउँछ 
सोझालाई सहिद बनाउँछ 
लास बोकेर शहर डुलाउँछ
सपनामा त्यही नेता आउँछ,
बुढो राती सुत्न डराउँछ !!


बालख स्कुल जान डराउँछ,
स्कुलमा त्यही नेता आउँछ
जुलुस जान तयार बनाउँछ 
नारा यो यो लाउनु सिकाउँछ 
भाषणा के के टन्न सुनाउँछ,
ताली पिट्न खूब लगाउँछ
छानी छानी स्वाँठ आफ्नो बनाउँछ,
नत्र स्कुल बन्द गराउँछ 
नमानेमा आगो लगाउँछ 
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!


रोगी डाक्टर भेट्न डराउँछ,
अस्पतालमा नेता आउँछ
कार्यकर्ता डाक्टर बनाउँछ,
कुन इन्जेक्सन कता लगाउँछ 
म्याद गुज्रेको ट्याब्लेट ल्याउँछ 
औषधीमा टन्न कमाउँछ
रोगी डाक्टर भेट्न डराउँछ
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!


लेखक साँचो लेख्न डराउँछ
विवेक मार्दै बिचार लुकाउँछ
नेता उसलाई झोला बोकाउँछ
सट्टामा केही पाउँछ कमाउँछ
अनि नेताको गुनगान गाउँछ
“नयाँ नेपाल नेता बनाउँछ”
लेखक साँचो लेख्न डराउँछ
रोगी डाक्टर भेट्न डराउँछ
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!


पसले पसल खोल्न डराउँछ
चन्दा माग्न नेता आउँछ
दुई चार गुण्डा साथ लेराउँछ
धाक र धम्की सबै सुनाउँछ 
कुन मुद्दामा कता फसाउँछ 
उद्योग ब्यापार बन्द गराउँछ

 

पसले पसल खोल्न डराउँछ
लेखक साँचो लेख्न डराउँछ
रोगी डाक्टर भेट्न डराउँछ 
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!


सब जनताको सातो हराउँछ
मुर्खदेखि दैव डराउँछ 
विवेक बुद्धि भाडा कमाउँछ
चल्ता–फिर्ता लास कराउँछ
बुढो राती सुत्न डराउँछ
बालक स्कुल जान डराउँछ
रोगी औषधी खान डराउँछ
लेखक साँचो लेख्न डराउछँ
पसले पसल खोल्न डराउँछ


डरले सबको विवेक हराउँछ
लोभले नाटक गर्न लगाउँछ
नेताले स्यालको  हुइयाँ लगाउँछ
जनता डरले हुइयाँ कराउँछ
मेरो नेता देश बनाउँछ !
मेरो नेता देश बनाउँछ !

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार