• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

लगातार मूल्य वृद्धि , वर्ष दिनमै बढ्यो खानेतेलमा सय रुपैयाँ

काठमाडौं । बजारमा एक वर्षको अवधिमा खाने तेलको मूल्य लिटरमा एक सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थ मूल्य बढेर आएकाले तेलको मूल्य एक सय रुपैयाँ बढेको हो । गत वर्ष वैशाख महिनामा १६० रुपैयाँ रहेको प्रतिलिटर तेलमा एक सय रुपैयाँ बढेर २६० पुगेको छ ।


कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले तेलको मूल्य बढाएका हुन् । एक वर्षअघि प्रतिलिटर १४० रुपैयाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरमा २४० रुपैयाँ पुगेको छ । यस्तै तोरीको तेलको मूल्य बढेर प्रतिलिटर २८० पुगेको छ ।


कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले एक वर्षको अवधिमा खाने तेलको मूल्य धेरै नै बढाएका हुन् । लगातार मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा पर्न गएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञापछि पुनः तेलको मूल्य बढेको छ । कच्चा पदार्थको मूल्य बढेर आएकाले मूल्य बढ्न गएको उद्योगीको भनाइ छ ।

 

कच्चा पदार्थको मूल्य बढेर आएको बहाना देखाउँदै उद्योगीले तेलमा अस्वाभाविक मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । निषेधाज्ञाको बेला बजारमा चिनी, खाने तेलमा अभाव देखाएर मूल्य बढाउँदा उपभोक्ताई प्रत्यक्ष मार परेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले जानकारी दिए । उद्योगीले तेलमा अस्वाभाविक मूल्य बढाउँदा पनि कारबाही नहुँदा मूल्य अकासिँदै गएको उनको भनाइ छ ।

 

नेपाल वनस्पति घिउ तेल उत्पादन संघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेलको मूल्य बढ्न गएको हो । संघमा आबद्ध २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगले नियमतिरूपमा आफ्ना उत्पादन गरेर बजारमा वितरण गर्दै आएका छन् । उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया,युक्रेन देशबाट आयात हुनेगर्छ । संघका अनुसार कच्चा पदार्थ बढेर आएकाले एक वर्षको अवधिमा ६ वटा खानेतेलको मूल्य (तोरी, वनस्पति, सोयाविन, सनफ्लावर, पाम र बदाम) २० देखि ५६ प्रतिशतसम्म बढेको छ ।

 

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै होलसेल व्यापारीले तेलमा मूल्य बढाउँदा त्यसको असर खुद्रा व्यवसायी र उपभोक्तालाई पर्न गएको बताए । एक वर्षको अवधिमा प्रतिलिटर तेलमा एक सय रुपैयाँभन्दा बढी मूल्य बढेको उनले जानकारी दिए । तेल उद्योगले बजारमा फरक फरक एमआरपी (अधिकतम खुद्रा मूल्य राखिएको प्याकेट बजारमा पठाएको उनको भनाइ छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढार्इंले तेलको मूल्यमा सामान्य बढेर आएको तर व्यवसायीले अनधिकृतरूपमा बढी मूल्य लिएको पाइए कारबाही गरिने बताउँछन् ।

 

कृषि मन्त्रालयका अनुसार वनस्पति तेलको माग सन् २०१५÷१६ मा २ करोड ३४ लाख ८० हजार टन थियो भने सन् २०१९-२० मा २ करोड ५९ लाख २० हजार टन पुगेको छ । मागअनुसार उत्पादन नहुँदा तेलको कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्छ ।


स्वदेशी उत्पादन जम्मा १ करोड ६ लाख ५० टनमात्रै छ । स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ब्रेन आयल, कटन सिड गरेर १ करोड ६ लाख ५० हजारमात्रै रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा ३८ अर्ब रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको छ ।


विश्व खाद्य तथा कृषि संगठनअनुसार सन् २०२१÷२२ मा समेत अमेरिकामा तापक्रम उच्च हुँदा सोयाविनको उत्पादन कम भएकाले कम खेती भएकाले आपूर्ति कम हुनेछ । अर्जेन्टिनामा समेत सुक्खाका कारण अपेक्षाभन्दा कममात्रै तेलहन बाली उत्पादन हुने अध्ययनले देखाएको छ । लक्ष्मी सापकोटा/ कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार