• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

कविता : अध्यारो रातमा उदाएको बादसाह

यस्तो पनि राजनीति हुन्छ

के राजनीति ?

यस्तो पनि संविधानसम्मत

के संविधान ?

यस्ता पनि मान्छेहरू

खै के मान्छे ?

अवैधानिक मान्छेको

अवैधानिक नियुक्ति

अध्यारो कर्मको घनिभूत बादल

मुलुकमा सर्वत्र ढाकिएको

खै, त्यो भन्ने गरेको चाँदीको घेरा

त्यो पनि कतै देखिएन

यस्तो पनि के शपथ

जसले गोजीको सुपारी जस्तो

व्यक्तिको सनकमा

अदली बदली हुन्छ पर्छ

रात परेपछि ख्याउनेले ख्याए

खानेले खाए

ती व्यक्तिहरूले जसले संविधान आफ्नो भनेनन्

सधैँ भने-यो हाम्रो संविधान होइन

आन्दोलन गरे संविधान विरुद्ध

जलाए  संविधान दिनदहाडै

अहिले रातमा मन्त्री खान

सत्तारोटीको लागि

भेटी-भेटीको लागि

अन्तको गोटी बनेर

घुट्टीको तागतले धानेको सत्ताले

लत्ता कपडा जाति ल्याए पनि

लाज छोप्न नसक्ने भयो

नाङ्गो बादशाहको जन्तीमा

शोभा बढाउनेहरूको गन्ती

लाजले लाज मान्नुपर्ने भयो

गणतन्त्र रूपान्तरित गिट्टीतन्त्रको

अध्यारो रातको अध्यारो कर्ममा

अति भयो, यो त अति नै भयो

'अति सर्वत्र वर्जयेत्'

अब मुलुक बाँच्ने हो भने

अति गर्नेबाट बाँच्नु पर्‍यो

आधी बनेर जुध्नु पर्‍यो

आगो बनेर फैलनु पर्‍यो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार