• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

गर्भिणी समय

विचारहरू असमय्जस्यतामा 
हावाको वेगसँग दौडदा 
एक मोडमा ठोक्किएर 
मलाई उठेर भन्छ 
अनुरोध यो क्षणको 
ख्याल गर्नु 
समय गर्भिणी भएको छ

 

म आफ्नै छाती छामेर 
अचम्मले झस्किए 
अनि बोधताको गर्वले मुस्कुराएँ
मेरो डढेलो झैँ जलेको मनलाई 
आगोको भुङग्रोमा पिल्सिएको देशलाई 
थाहै नपाइ आगोकै झिल्काले 
ह्वार्र ह्वार्र बलेको यो घडी 
नागरिकका मनहरुलाई 
मलम लाउन कोही आउने आशले

 

समयले जन्माएको महान व्यक्तिहरूलाई 
मैले क्षमा माग्दै भने 
तिमीले हिडेको बाटो हिड्न नसक्दा 
तिमीले भनेको कार्य गर्न नसक्दा 
तिम्रो विचारको कदर नहुँदा 
तिम्रै असल भावनाहरु धरधरी रोएको देखेर 
मैले नै समयलाई गर्भिणी  हुन अनुरोध गरेँ 

 

समय र जीवनको भूगोल पल्टाउँदा 
जल्दै मेटिएको इतिहास पढ्छु
चेतन अवचेतन मनभित्र गढेर 
सुँकसुकाई रहेको विश्वास जाग्दा 
सँस्कृति
सम्पदा 
सभ्यता 
सदियौं देखिको मानवीयता
फेरि पुनर्जन्म हुन्छु भन्छ

 

कामना गर्छु म अब 
सँस्कृति आ-आफ्नै जन्मोस 
सम्पदा हराभरा भएर फूलोस 
सभ्यताले सगरमाथा छुन सकोस
सत्य युगको स्वबोध मनुष्यता 
पशु पंक्षी,प्रकृतिको भाषा बुझियोस 
सत्यम् शिवम् सुन्दरममा 
डढेलो लाउने चेष्टा नगरोस कसैले

 

यसैले समय गर्भिणी भएको छ 
प्रत्येक मुटु जलन रापमा अमृत बर्सन 
असिनाले चुटेको पत्रदल जीवन नहुन 
आफै जन्मेको ठाउँलाई देश भन्न पाउँन 
आफ्नै पसिना घोप्टाएर एक पेट भर्न 
मौलिक सिर्जना रीतिरिवाज सँस्कारको
अपहरण हुने छैन अब 
आफ्नो सुरक्षा आफै गर्न 
आफ्नो निर्णय आफै गर्न 
हामीलाई समयले जन्माइरहेछ 
बारम्बार आफैबाट आफू हुन

 

समय गर्भिणी  भएको छ 
अब हामी मान्छे भएर जन्मनु पर्छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार