• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
विचार

आशाको दीपको अवसान

-देवी सापकोटा

 

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको परिवार, पार्टी पङ्क्ति र आम नेपालीले कल्पना नगरेको अल्पायूमै उनी यो संसारबाट विदा भएका छन । लाखौ शुभेच्छुकको कामनाले पनि हार्‍यो यतिवेला । पछिल्लो दशकमा सम्भवतः स्वास्थ्यसुधारका निम्ति जनताबाट कुनै नेताप्रति चासो र चिन्ता व्यक्त भएको थियो भने ती थोरै नेतामध्यमा पर्छन् उज्ज्वल थापा । 

 

गएको हप्ता दिनभित्र सामाजिक संजालका भित्ता चिहाउने हो भने थापालाई स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छाहरु उल्लेखनीय रुपमा आएका छन् । को राजनीतिकर्मी को आममानिस सबैले उनलाई ‘उज्ज्वल तिमी उठ्नुपर्छ’ भन्ने आशयका  भावहरु सामजिक संजालका भित्तामा भेटिन्छन् । 

 

नेपालको राजनीतिमा सँधै एकलौटी गर्न खोज्ने नेताहरु भन्दा भिन्न किसिमको उनको छवि बनेको थियो । राजनीतिको नाम सुन्न पनि नचाहने पछिल्लो पुस्तामाझ राजनीतिक चेत केही हदसम्म भर्न सफल भएका थिए उनी। यदि राजनीति फोहोर छ भने त्यसलाई सफा गर्न आफैं पोखरीमा डुब्नुपर्छ भन्ने उनको सोच थियो । त्यहि कुराको प्रभावले नयाँ पुस्ता राजनीतिमा चासो राख्ने, सरकारले गरेका गलत निर्णयमा जतिवेला पनि सडकमा पुग्ने र फरक शैलीले बिरोध गर्ने चलन शुरु हुनुले पनि थापाको पहिचान बन्यो । 

 

बिभिन्न राजनीतिक दलहरुले नेपाल बन्द भनेर घोषणा गर्दैगर्दा उनै उज्ज्वल नेपाल खुल्ला छ भन्ने सन्देश दिन व्यानर र प्लेकार्ड सहित सडकमा पुग्थे। निराशामा बाँचेको युवा पुस्तालाई आशा जगाउने योद्धा हुन उनी । पदको लोभ नगर्ने, सरल शालिन र अध्ययनशील व्यक्तित्व उनको पहिचान बनेको थियो । धेरैले उनलाई बैकल्पिक राजनीतिक शक्तिको अभ्यास गर्न जग बसाल्ने युवाका रुपमा स्मरण गरेका छन् । तराई र पहाडलाई जोड्ने उनको कौशल र लगावलाई  धेरै युवाले प्रशंसा गरेका छन् ।

 

गोविन्द केसीले सर्बसुलभ स्वास्थ्यको सवाल उठाउँदा होस् अथवा जनताका हक अधिकार खोसिँदा, हरेक समय जनताको पक्षमा उभिने योद्धा थिए उनी। आम मानिसले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न उनी पटक–पटक डा. केसीसँग उभिएका थिए। 

 

अत्याधुनिक एक्मो प्रविधिको सहायताले उपचार गर्दा पनि कालले जित्यो र उज्ज्वलले सबैलाई छाडेर गए । यसबीच उनको उपचारकालागि देश विदेशबाट लाखौँ रकम संकलन भएको समाचार छ । यदि त्यसो हो भने, उनको चाहना नहुँदै पनि संकलन भएको यो रकम दुरुपयोग नहोस् । कुनै कल्याणकारी कोषमा लगाउने हो अथवा परिवारका सदस्यलाई जिम्मा दिने हो त्यो पक्षमा पनि बिचार गरियोस् । एक सरल र त्यागी नेताको उपचारको नाममा उठेको पैसा गलत प्रयोजनमा नजाओस् भन्ने सोच्नु र सोही अनुरुप गर्नुले उनको आत्मालाई चिरशान्ति मिल्नेछ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार