• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अन्तर्वार्ता

विचार र चित्रकारिताको संयोजन हो कार्टुन

नेपाली व्यङ्गचित्रको संसारमा अविनको परिचय आवश्यक छैन। सम्वाद बिनाका कार्टुन बनाउन खप्पीस उनका कार्टुनहरु अखवार किन्ने बित्तिकै हेर्न उत्सुक पाठकहरु पनि छन् । आजको दिन फेरि के कटाक्ष गरेको होला भनेर डर र कौतुहलले उनको कार्टुनतर्फ आँखा डुलाउने पनि छन्। तर, उनलाई वास्तवमै ती सबको कुनै चासो छैन । उनी समाजमा विद्यमान विसङ्गतिहरु, शक्तिको आडमा चलिरहेको उद्दण्डताले विचलित छन्। र, जन्मिरहेका छन् एकसेएक कार्टुनहरु । यी तमाम विसङ्गतिहरु मेटिए भने के उनले कार्टुन बनाउन छाड्लान् ? सम्भवतः त्यो दिन सहजै आउने छैन, समाज सहजै रुपान्तर हुने मार्गमा छैन । 

 

हालै उनले प्रधानमन्त्री र राष्ट्रपतिको चालालाई कटाक्ष गरेर बनाएको सम्पादकीय कार्टुनले बडो हल्लीखल्ली मच्चायो। प्रधानमन्त्रीको मर्ममा त्यो यति परेछ कि सार्वजनिक रुपमा उनले आफ्नो चित्त दुखेको स्टेटमेन्ट दिए । त्यही सन्दर्भमा प्रस्तुत छ अविनका भनाई– प्रधानमन्त्रीको स्टेटमेन्टबारे, आफ्ना पीडाबारे र व्यङ्ग्य चित्रकारिता बारे । 

 
प्रधानमन्त्रीको बगलीमा राष्ट्रपतिले चिहाएको कार्टुनले हल्लीखल्ली मच्चायो त । प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाउनु भएछ । बनाउने बेलामा यस्तै प्रतिक्रिया आउँछ भन्ने सोच्नुभएको थियो ?
बनाउने बेलामा त्यस्तो केही सोचेर बनाएको थिइनँ। प्रधानमन्त्रीकै कारणले गर्दा नै त्यो कार्टुनले त्यसरी हल्लीखल्ली मच्चाउन सफल भयो। त्यसको लागि म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। जहाँसम्म उहाँको असन्तुष्टिको कुरा छ, लोकतन्त्रमा हरेकको विचारलाई सम्मान गर्नुपर्दछ। लोकतान्त्रिक मुलुककै एक आम नागरिक भएको नाताले मैले उहाँको विचारलाई पनि सम्मान गर्नुपर्दछ र गर्छु पनि। उहाँ हाम्रो मुलुकको प्रधानमन्त्री नै हुनुभएको ले उहाँको विचारलाई अझ उच्च सम्मान नै गर्छु । तर म उहाँको विचारसँग सहमत चाहिँ हुन सक्दिनँ । उहाँले जुन रुपमा त्यो कार्टुनमाथि आफ्नो भनाई राख्नु भो, जुन जुन शब्दहरु उहाँले त्यो कार्टुनमाथि लक्षित गरेर व्यक्त गर्नुभयो। त्यो गलत थियो । हुन त त्यो कार्टुनमा कुनै शब्दहरु थिएनन्। तर कार्टुनमा भएका चित्रात्मक विम्वहरुले उहाँले व्यक्त गर्नुभएका शब्दहरु भन्दा विल्कुल फरक शब्दहरु बोलिरहेको छ । मलाई लाग्छ, यो कुरा उहाँले पक्कै पनि बुझ्नु नै भएको छ । त्यसकारण उहाँ जस्तो विवेकशील प्रधानमन्त्रीले किन त्यसरी बोल्नुभयो, म अचम्ममा परिरहेको छु ।

 

कुनै नसीहत आयो उहाँको तर्फबाट ?
मलाई व्यक्तिगत रुपमा त्यस्तो केही पनि आएको छैन। यस्ता कुराहरु त नआएकै राम्रो।

 

अहिले कार्टुनले तरङ्ग ल्याइरहेको बेला अचानक प्रधानमन्त्री र राष्ट्रपतिले चिया खान बोलाउनुभयो भने के गर्नुहुन्छ ? 
बोलाउनुभयो भने त जान्छु नि । उहाँहरुले उक्त कार्टुनलाई साँच्चिकै गलत अर्थमै बुझिरहनु भएको हो भने कमसेकम यही मौकामा त्यसलाई सही अर्थमा बुझ्न सघाउन त पाउँछु । 

 

आफूले बनाएको कृतिबाट तारिफ मिल्दा कस्तो महसुस हुन्छ ? अनि कार्टुनकै कारण कसैले धम्की दिँदा चाहिँ कस्तो हुन्छ नि ?
आफूले बनाएको कृतिबाट तारिफ मिल्दा जसलाई पनि खुशी त महसुस हुन्छ नै। मलाई पनि हुन्छ । जहाँसम्म धम्कीको कुरा छ, राजनीतिक कार्टुन बनाउँदा सबै पक्षलाई कहिल्यै पनि चित्त बुझाउन सकिँदैन। कार्टुनले लक्षित गरेको पक्षले धेरैजसो अवस्थामा कार्टुनले सही बोलिरहेछ भनि थाहा हुँदा हुँदै पनि अनेक बखेडा झिक्न पनि खोज्छ। धम्की पनि त्यही बखेडामध्येको एक हो। म कार्टुन बनाउँदा व्यक्तिगत आग्रह पूर्वाग्रह राख्ने, आधारहिन कुराहरुलाई विषय बनाउने कहिल्यै गर्दिन। मेरा कार्टुनहरुले सधैँ आम नागरिककै पीडा बोलिरहेको हुन्छ। यथार्थ बोलिरहेको हुन्छ । त्यसकारण जब आफूले केही गलत नै गरिरहेको छैन भन्ने लाग्छ, त्यस्तो अवस्थामा त्यस्ता धम्कीहरु विरुद्ध लड्न आफूमा छुट्टै शक्ति पनि आइरहेको हुन्छ । 

 

कार्टुन प्रशंसाले भरिएको प्रतिक्रिया पाउन बनाउनु हुन्छ कि अरु कुनै उद्देश्य मनमा खेल्छ ? केले प्रेरित गर्छ तपाईँलाई कार्टुन बनाउन ?
हरेक कामले प्रशंसाको अपेक्षा त राखेको हुन्छ नै । तर कार्टुनले चाहिँ प्रशंसाको मात्र नभई सुधारको पनि अपेक्षा राखेको हुन्छ। विकृति विसंगतिहरु सब निर्मुल भई स्वच्छ समाजको निर्माण होस् भन्ने उद्देश्यले हामी कार्टुनमार्फत त्यस्ता विकृति विसंगतिहरु विरुद्ध आवाज उठाउँछौँ। त्यसकारण जबजब त्यस्ता विकृति विसंगतिहरु देख्छौँ, भोग्छौँ, थाहा पाउँछौँ । भित्रैदेखि पीडाको महसुस हुन थाल्छ। अनि ती पीडाहरुले नै कार्टुन बनाउन प्रेरित गरिरहन्छ।

 

आफूलाई कत्तिको संवेदनशील पाउनुहुन्छ  ? कस्ता कुराले तपाईँलाई विचलित तुल्याउँछ र कस्ता कुराले तपाईँलाई आनन्दित तुल्याउँछ ? 
म अलि संवेदनशील नै छु । मैले अघि पनि भनिसकेँ कि कार्टुन भनेको कहाँ कहाँ नराम्रो भइरहेको छ त्यो विषयमा मात्र बनाइन्छ। राम्रो विषयमा त कार्टुन बनाउन जरुरी पनि छैन। राम्रो त यसै पनि राम्रो, उसै पनि राम्रो। नराम्रा कुराहरु पनि राम्रोमा परिणत भई जाउन् भन्ने उद्देश्यले कार्टुन बनाउने हुँदा म बिहान पत्रपत्रिका हेरेदेखि नै नराम्रो कुराहरुको खोजीमा रहन्छु। कहिलेकाहिँ त यति नराम्रो कुराहरुले दिमाग भर्छ कि विरक्त नै लागेर आउँछ। सार्‍है पीडा हुन्छ। चिच्याइचिच्याइ रुन मन लागेर आउँछ। त्यसकारण कहिलेकाहिँ त चाहिने भन्दा अलि बढी नै संवेदनशील पो छु कि भन्ने पनि लाग्छ । तर दिमागको कुनै कुनामा म आफू विचलित हुनु हुन्न भन्ने चेत चाहिँ आइरहेको हुन्छ। यस्ता चेतले चाहिँ अलि सजग बनाउँछ। अनि त्यही पीडाहरुलाई आफ्ना कार्टुन मार्फत पोख्ने गर्छु। जब आफूले कार्टुनमा उठाएका विषयहरुमा सुधार आएको थाहा पाउँछु। यस्ता कुराहरुले एकदम आनन्दित तुल्याउँछ। तर बिडम्वना, त्यस्ता क्षणहरु निकै नै कम मात्र छ मेरो ।

 

तपाईँका कार्टुनहरु उत्कृष्ट कोटिमध्येमा पर्छन् । त्यो सम्भव कसरी भयो ? तपाईँको आइडिया, चित्राङ्कन शील्प वा त्यसमा रहने सम्वादमध्ये के कुराको अहम भूमिका देख्नुहुन्छ ? 
तपाईंको मूल्यांकनको लागि धेरै धेरै धन्यवाद । कार्टुन भनेको विचार र चित्रकारिताको संयोजन हो। चित्रको माध्यमबाट विचार पोख्ने भएको हुनाले माध्यम जति बलियो हुन्छ, विचारले पनि त्यति नै प्रभावकारी ढङ्गबाट व्यक्त हुने मौका पाउँछ । म कार्टुन बनाउँदा यस्ता कुराहरुलाई ध्यानमा राख्ने गर्छु । त्यसकारण म विचारमा जति मिहिनेत गर्छु, चित्रमा पनि उति नै मिहेनत गर्छु। त्यसमा कुन पक्षको भूमिका अहम् हुन्छ भन्ने चैँ अलि भन्न गार्‍हो हुन्छ । मेरो विचारमा विचार र चित्र दुवैको उतिकै समान भूमिका हुन्छ । जहाँसम्म सम्वादको कुरा छ,म आफ्नो कार्टुनमा सकेसम्म चित्रै बोलोस् भनेर सोच्ने गर्छु  । त्यहि भएर सकेसम्म सम्पादकीय कार्टुनमा सम्वाद प्रयोग गर्दिन । पकेट कार्टुनमा पनि ‘गजब छ बा!’ स्तम्भमा सकेसम्म छोटो सम्वाद लेख्ने गर्छु ।

 

तपाईँका कार्टुनमा सम्वाद सरल र बोलीचालीको हुन्छ ? आफैँ रच्नुहुन्छ ?
सम्वाद भन्नासाथ त्यसमा ‘लेखिने भाषा’ भन्दा ‘बोलिने भाषा’ राख्यो भन्ने अझ सजिवता आउँछ । त्यही भएर म सम्वादमा सरल र सामान्य बोलीचालीकै भाषा राख्न रुचाउँछु । अनि त्यो बिल्कुल आफैँले नै रच्ने गर्छु ।

 

कार्टुनतर्फ रुची कसरी जाग्यो ? कुनै तालिम लिनुभयो ? अनि, पहिलो कार्टुन सम्झिनुहुन्छ ? त्यसबाट कस्तो प्रतिक्रिया आयो ? र छापिइसकेपछि तपाईँलाई कस्तो महसुस भयो ?
चित्रकारिता मेरो बाल्यकालदेखिकै रुचीको विषय थियो । पछि अलि युवावस्थामा पुगिसकेपछि मुलुकको विकृति विसंगतिहरुको महसुस हुन थाल्यो। अनि विस्तारै ती कुराहरुले अलि भित्रभित्रै पीडा दिन थालेपछि ती पीडाहरुलाई चित्रको माध्यमबाट किन नपोख्ने त भन्ने विचार आयो। अनि कार्टुन बनाउन थालेँ । कार्टुन बनाउन थालेको दुई–चार वर्षमै अलि चिनिन थालेँ । अनि धेरैजसोले ‘ललितकला क्याम्पसमा पढेको हो ?’ भनेर सोध्न थाले। त्यो भन्दा अगाडि मलाई चित्रकला पनि पढ्ने विषय हो भन्ने समेत पनि ज्ञान थिएन। काठमाडौँको असन भोटाहिटी भएरै बाल्यकाल बिताएँ। भोटाहिटीमा रहेको ललितकला क्याम्पसको बोर्ड पनि सानैबेलादेखि देखिएकै पनि हो। तर त्यहाँ चित्रकलाबारे पढाई हुन्छ भनेर थाहै थिएन। पछि थाहा भएपछि कमर्समा स्नातक गरिरहेको पढाईलाई त्यहीँ त्यागेर ललितकला क्याम्पसमा पढ्न थालेँ । त्यो भन्दा अगाडि मैले कहिँ पनि कसैसँग यो विषयमा तालिम लिएको थिइनँ । 

 

मेरो पहिलो कार्टुन सामाजिक विषयवस्तुमा आधारित थियो । त्यो बेला काठमाडौंका मेयर पीएल सिंहले आफू मेयर हुनासाथ आकर्षक नारा ल्याएका थिए, ‘स्वच्छ सफा हराभरा काठमाडौँ’ । तर त्यो नारामा मात्रै सिमित रहिरहेको अवस्था थियो । अनि मैले मेयरले फोहोरको सगरमाथा चढेर टुप्पामा पुगी त्यो नारा लेखिएको झण्डा गाडिरहेको कार्टुन बनाएको थिएँ । त्यो छापिइसकेपछिको खुशी त शब्दमा व्यक्त नै गर्न सकिन्न । अहिले सम्झँदा पनि रमाइलो लागेर आउँछ ।

 

कार्टुन बनाउनु भनेको व्यवस्थाको विरोध गर्नलाई मात्रै हो ? ह्यूमन इन्ट्रेस्टका कार्टुनहरु त यदाकदा मात्रै हेर्न पाईन्छ त ।
कार्टुनले सँधै विसंगतिको मात्रै विरोध गर्ने हो । हामीकहाँ विसंगतिले व्यवस्थालाई नै यति धेरै गाँजेर लान थाल्यो कि अनि कहिलेकाहीँ कार्टुन हेर्दा पाठकलाई त्यस्तो महसुस हुन जानु स्वाभाविक हो। ह्यूमन इन्ट्रेस्ट भनेर तपाईंले सामाजिक विषयवस्तुमा आधारित कार्टुन भन्नु भएको होला। खासमा कार्टुन भनेको समाचार होइन विश्लेषण हो। त्यसकारण जुन विषयमा कार्टुन बनेको छ, त्यो विषयबारे पाठकलाई पुर्वजानकारी भएन भने कार्टुनले भन्न खोजेको कुरा बुझ्न गाह्रो हुन्छ । हामीकहाँ धेरैजसो पाठकले राजनीतिबारे नै जानकारी राख्न रुचाउने भएकोले धेरैजसो राजनीतिक कार्टुन बनाइने गरिन्छ। त्यसकारण तुलनात्मक रुपमा सामाजिक विषयवस्तुका कार्टुनहरु अलि कम देखिएको हो । फेरि हामीकहाँ राजनीति यति व्याप्त छ कि, यसले कुनै क्षेत्र पनि छाडेको छैन। अनि कहिलेकाहिँ शिक्षा, स्वास्थ्य, विकास निर्माणजस्ता विषयमा कार्टुन बनाउँ भनेर सोच्दा पनि त्यहाँ पनि राजनीति नै भेटिन्छ। यसरी हरेक क्षेत्रमा राजनीतिकै प्रभाव भएकोले पनि सामाजिक कार्टुन अलि कम देखिएको हो ।

 

कार्टुन भनेको कालजयी हुनुपर्ने हो कि समसामयिक ?
हुन त समसामयिक होस् भनेर बनाउने हो तर कालजयी भईदिन्छ। धेरैजसो विसंगतिहरु यसरी जरा गाडेर बसेका छन् कि उहिलेदेखि अहिलेसम्म पनि जस्ताका तस्तै छन्। अनि त्यस्ता विषयमा बनाएका कार्टुनहरु कालजयी भईदिन्छ । सधैँका लागि समसामयिक । 

 

 

आफैँ फुराउनु हुन्छ कार्टुन ? कि आइडिया दिने कोही छन् ? आफैँले फुराउने हो भने कार्टुन फुराउँदा फुराउँदा कहिलेकाहीँ वाक्क लाग्दैन ? समाज संवेदनहीन हुँदै गएको बेला यस्तो कुराको के काम जस्तो लाग्दैन ?
आफै फुराउँछु । कार्टुन भनेको केवल चित्रकारितामात्र हैन विचार पनि हो । त्यसकारण हरेक कार्टुनिस्टले आफैँ फुराउनु पर्छ । अरुले दिएको आइडियामा कार्टुन बनाउने हो भने त्यो कार्टुनको स्वामित्व आफूले लिन नैतिक रुपमै पनि मिल्दैन नि । विचारै अर्काको छ भने कसरी त्यो कार्टुन मैले बनाएको भन्ने ? त्यसकारण अरुको आइडियामा कार्टुन बनाउनु त केवल चित्रकार हुनु हो, व्यंग्यचित्रकार (कार्टुनिस्ट) हैन ।

 

यसरी कार्टुन फुराउँदा कहिलकाहीँ त वाक्क दिक्क नै लाग्छ। कार्टुन फुराउन बस्दा मुलुकमा भइरहेका नराम्रा गतिविधिहरु एक एक गरी सम्झिनु परिहाल्यो। मैले अघि पनि भने यस्तो अवस्थामा मुलुकको अवस्था देखेर साह्रै पीडा हुन्छ। समाज संवेदनहीन हुँदै गएको बेला यस्तो कुराको के काम जस्तो चाहिँ लाग्दैन। यस्तो बेला झन आफ्नो जिम्मेवारी बढ्दै गएको जस्तो अनुभव हुन्छ । 

 

कार्टुन बनाएर कसैसँग सम्बन्ध जोडिएको या तोडिएको कुनै प्रसङ्ग छन् तपाईँसँग ?
तोडिएको त छैन । जोडिएको चाहिँ धेरै नै छ । भर्खरै तपाईंसँग पनि जोडियो । यो पनि कार्टुनकै कारणले नै त हो नि ।

 

कार्टुनको विधामा तपाईँलाई निकै प्रभाव कसले पारे ?
मलाई हाम्रा अग्रज कार्टुनिस्ट ‘वात्स्यायन’ को कार्टुनले निकै प्रभाव पारे । मेरो कार्टुन लेखनको शुरुवाती कालमा मलाई उहाँको कार्टुन खासै मन पर्दैनथ्यो। अनि पछि जब मैले चित्रकलाको अध्ययन थालेँ, जब चित्रकलाको गहिराई बुझ्ने प्रयास गर्नथालेँ, त्यसपछि त उहाँको कार्टुन जति हेर्‍यो त्यति मन पर्नथाल्यो। उहाँको कार्टुनमा हुने रेखाहरुको बहाव, रंगहरुको संयोजन एकदम मनपर्छ । फेरि विचार पक्षमा पनि उहाँको कार्टुनमा धेरै नै शालिनता पनि पाउँछु । यो शालिनताले पनि म प्रभावित हुन्छु । 

 

आफूले बनाएको सबैभन्दा प्रिय कुनै कार्टुन छ, जसले धेरै समयसम्म तरङ्गित बनाईरह्यो ?
त्यस्तो कार्टुन बनाउन त बाँकी नै छ जस्तो लाग्छ ।

 

तपाईँका कार्टुनहरुमा डाइमेन्सन मिलेको, प्रकाशको श्रोत मिलेको पाईन्छ। कार्टुनमा त्यसको जरुरत पर्दैन भनेर बनाउनेहरु पनि छन्। तपाईँको विचारमा कार्टुन बनाउँदा ध्यान पुर्‍याउनु पर्ने आधारभूत कुरा के होलान् ?
तपाईंले ठीक भन्नु भयो, कार्टुन भनेको विचार हो त्यसमा चित्रकारितालाई त्यति महत्व दिनु जरुरी छैन भन्नेहरु पनि छन् । तर मेरो विचारमा कार्टुनमा चित्रकारिताको पनि विशेष भुमिका हुन्छ । किनभने कार्टुनमा चित्रकारितानै विचार पोख्ने माध्यम हो। साँच्चिकै प्रभावकारी काम गर्ने हो भने माध्यम त बलियो हुनुपर्‍यो नि । उदाहरणका लागि, कुनै एउटा राम्रो सिनेमा बनाउन एकदम राम्रो कथामात्र भएर पुग्छ र ? यदि त्यो सिनेमाका कलाकारहरुमा राम्रो कलाकारिताको क्षमता नै छैन भने, यदि त्यो सिनेमाको सिनेमाटोग्राफी लगायतका प्राविधिक पक्ष पनि गतिलो छैन भने कस्तो बनिएला त्यो सिनेमा ? पक्कैपनि हेर्न लायकको त बन्दै बन्दैन। जसरी राम्रो सिनेमा बनाउन त्यसको लागि राम्रो कथासँगै बलियो प्रस्तुतिकरण पनि चाहिन्छ, त्यसरी नै कार्टुनमा पनि यदि कार्टुनिस्टले प्रभावकारी ढङ्गसँग आफ्नो विचारलाई प्रस्तुत गर्ने हो भने प्रस्तुतिकरण यानीकि चित्रकारिता पक्षलाई पनि प्राथमिकतामा राख्नैपर्छ । म कार्टुन बनाउँदा यस्तै कुराहरुमा ध्यान पुर्‍याउने गर्दछु ।  


कार्टुनको भविष्य नेपालमा कस्तो देख्नुहुन्छ ?
अहिले हामीकहाँ कार्टुन र कार्टुनिस्टहरुको लागि प्लेटफार्मको रुपमा प्रिन्ट मिडियामात्र भइरहेको देखिन्छ। हामी सबैलाई थाहा छ प्रिन्ट मिडियाको भविष्य त्यति उज्ज्वल छैन । तर, अनलाइन मिडियाको भविष्य उज्ज्वल भइकन पनि उनीहरुले कार्टुनलाई त्यति स्थान दिइरहेको पाइँदैन। यो एकदम दुःखलाग्दो कुरा हो । यदि अनलाइन मिडियाहरुले पनि प्रिन्ट मिडियाले जस्तै कार्टुनलाई महत्व दिने हो भने नेपालमा कार्टुनको भविष्य निकै उज्ज्वल देख्छु ।

 

मान्नुस्, कार्टुन बनाउन तपाईँलाई प्रतिबन्ध लाग्यो रे । त्यतिबेला के गर्नुहोला ? केको शरण लिनुहुन्छ ? पौभा कि पेण्टिङ्को ?
कार्टुन बनाउन पाइरहेछु र आफ्नो पीडा पोख्न पाइरहेको छु । त्यति पनि पाइएन भने त पागल हुन्छु होला जस्तो लाग्छ । पौभा त मेरो विषय नै होइन , पेन्टिङ्लाई पनि छाडेर धेरै नै टाढा पो आइसकेछु त ! अब फेरि फर्केर उतै जान त सम्भव छ जस्तो पनि लाग्दैन । त्यसैले त्यतिबेला म के गर्छु होला ? केको शरण लिन्छु होला ? केही सोच्नै सक्दिनँ । 

 

कसैले मलाई सुनाउनु भएको थियो– गजबको कार्टुनिस्ट बन्न नामको पछाडि न आउनुपर्छ रे। उदाहरणका लागि वात्सायन, रविन, अविन या हिन्दुस्तानका आर. के. लक्ष्मन । तपाईँलाई कस्तो लाग्छ ?
हा हा हा !... अब भोलिदेखि गज्जबको कार्टुनिस्ट बन्न कति कार्टुनिस्टहरुले आफ्नो नाममा न झुण्ड्याउने हुन् !  

 

प्रस्तुती : देवी सापकोटा  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार