• शुक्रबार ३-४-२०७८/Friday 06-18-2021
विचार

यस्तो बेला आफ्नो बाहेक कसैको पनि माया लाग्दैन रहेछ

गत अंकमा हामीले वि.सं. २०७२ सालको महाभूकम्पको बारेमा विस्तृत रूपमा पढ्यौँ । यो हप्ता हामी विगत आठ सय वर्षमा के कस्ता महाभूकम्पहरु हिमालय क्षेत्रमा गए र त्यतिबेला उद्धार कार्यमा कसरी काम भएको थियो र क्षतिको पुनर्निमार्ण के कसरी गरिएको थियो भन्ने बारे पनि छलफल गर्नेछौँ ।


वि.सं. १९९० साल माघ २ गते यानी २०७२ वैशाख १२ गतेको महाभूकम्पभन्दा ८२ वर्षपहिले भारतको विहार राज्यको सीतामढी र मधुबनीको बीचलाई केन्द्रविन्दु बनाई २०७२ को महाभूकम्पको भन्दा पनि ठूला धक्का महसुस गरिएको थियो भने त्यतिबेला पनि काठमाडौंवरिपरि अधिक क्षति हुनुका साथै पूर्वीनेपाल, वीरगञ्ज र भारतको विहारमा निकै धनजनको क्षति भएको थियो । सो महाभूकम्प नेपाली समयअनुसार दिउँसोको २ बजेर २४ मिनेट २२ सेकेण्डमा गएको र करिव २ मिनेटसम्म रहेको अनुमान गरिएको छ। भारतीय भूगर्भविद्हरूको हिसाबमा त्यो महाभूकम्प करिव ८ दशमलव ४ रेक्टर स्केलको थियो। त्यो महाभूकम्प विगत ८०० वर्षमा नेपालमा गएका भूकम्पहरूमध्ये दोस्रो सबैभन्दा ठूलो थियो भने १५६२ आषाढमा कर्णालीमा केन्द्रविन्दु रहेको ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प भने सबैभन्दा शक्तिशाली थियो। १९९० सालतिर काठमाडौंको शहरी भाग भनेर टुँडिखेलबाट पश्चिमतिरका वस्ती यानी गणवहाल, लगन, हालको जुद्धसडक, हनुमानढोकाको सेरोफेरो, इन्द्रचोक, असन र भोटाहिटीजस्ता ठाउँहरूलाई मात्र चिनिन्थ्यो। यो भूकम्पको कारण मर्नेहरूको संख्या ८,५१९ पुगेको थियो, जसमा महिलाको संख्या ४,६६९ थियो । 

 

९० सालको त्यो महाभूकम्पको अघिल्लोदिन माघे संक्रान्ति परेकोले सबैजना चाडपर्व र भोजको आनन्दमा थिए भने जाडो पनि निकै बढिसकेकाले दिन पनि छोट्टिँदै गएको थियो। अचानक सुरु भएको महाभूकम्पले गर्दा उत्पन्न एक किसिमको नौलो र भयानक आवाज र पूरै जमिन बेस्सरी हल्लँदा मान्छेमात्र होइन, पशुपन्छीसमेत डरले कराउन थालेका थिए र रुखबिरुवा निकै मच्चेका थिए रे। घरबाट बाहिर निस्किसकेका कैयन् महिला आफ्ना बालबच्चा र आफन्तको मायामोहले फेरि घरभित्र जाँदा धेरैको मृत्यु भएको रहेछ । काँचा इँटाले बनेका शहरका अधिकांश घर भत्कँदा निस्केको धूलोले निस्सासिएर पनि कति मान्छे मूर्छा परेछन् भने शहरभित्रबाट निस्केको धूलोले निकैबेरसम्म टुँडिखेलमा पनि कुहिरो लागेको जस्तो अवस्थाको सिर्जना भएको रहेछ । भूकम्प र धूलोको त्रासले भाग्दा साँघुरा गल्लीहरूमा धेरै मान्छे घरहरूले थिचिएर मरे भने कैयन् घाइते भए । धरहरा र घण्टाघर पनि भत्केर पातालमा मिले । टुँडिखेल, बालाजु र शङ्खमूलका कैयन ठाउँमा जमिन चिरा–चिरा परेर लामा तथा ३–४ मिटर गहिरा खाडल बनेछन् भने त्यहाँबाट पानी, कालीमाटी र बालुवासमेत निस्किएछन् । वागमती, विष्णुमती तथा अन्य नदीहरूमा कालो र मैलो पानी बग्न थालेछ । 


त्यो भूकम्पले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै नोक्सानी भएका क्षेत्रहरूमा वुङ्गमती, चापागाउँ, हरिसिद्धी, बाँडेगाउँ, गोदावरी, सिस्नेरी, सिपाडोल, लुभु, थिमी, भक्तपुर, शहर (लगन, गणबहाल, सुन्धारा, खिचापोखरी, इन्द्रचोक, हनुमानढोका, असन, भोटाहिटी, पकनाजोल, क्षेत्रपाटी), म्हेपी, सामाखुशी, नारायणहिटी, हाँडीगाउ, महाराजगञ्ज, वागबजार, घण्टाघर, थापाथली, त्रिपुरेश्वर, नैकाप, वलम्बु, सीतापाइला थिए। तर बूढानीलकण्ठ, बालाजु, जीतपुर, चावहिल, बौद्ध, सुन्दरीजल, गोकर्ण, साँखु, नगरकोट, चाँगुनारायण, थली, बोडे, कोटेश्वर, धोवीखोला, मच्छेगाउँ, चन्द्रागिरी, थानकोट, फर्पिङ, साँगा आदि क्षेत्रमा भने महाभूकम्पको क्षति न्यून रह्यो ।

 

काठमाडौं बाहिर भोजपुर र उदयपुरसम्म भूकम्पले निकै नोक्सानी गरायो । भूकम्प गइरहेको बेलामा त यी इलाकामा निकै बेर पहिरोको धूलोले गर्दा एक प्रकारको अँध्यारो अवस्था सिर्जना भएको रहेछ र धूलो उड्न बन्द भएपछि हेर्दा अघिसम्म हराभरा देखिने पहाड सबै पहिरोले जर्जर भएका रहेछन्। पहिरोका कारणले धेरै खोलानाला पुरिएर पानीको समेत हाहाकार भएको रहेछ भने धेरै महिनासम्म ती जर्जर भएका पहाडहरूमा पहिरो गइरहने भएछ। पूर्वीपहाडमा झण्डै ४ हजारजनाको ज्यान गएको थियो भने पश्चिममा ६५ जनाजतिको । पूर्वमा इलाम, धनकुटा, विराटनगर र झापासम्म नै भूकम्पले ठूला प्रभाव पारेको थियो । पश्चिममा सो भूकम्पको प्रभाव बुटवल, पाल्पा र कास्कीसम्म परे पनि गोरखा र नुवाकोट इलाकामा भने बढी क्षति भयो । त्यस्तै दक्षिणतर्पm मकवानपुरका चित्लाङ, कुलेखानी, भीमफेदी, टिस्टुङ, पालुङ आदि ठाउँमा धनजनको निकै क्षति भयो भने वीरगञ्जमा समेत धेरै नोक्सानी भयो । काठमाडौंको उत्तरतिरको कुरा गर्दा भने रसुवादेखि कोदारीसम्म नै निकै क्षति पुग्यो ।

 

माघ २ देखि एकहप्तासम्म विभिन्न खाले दुर्ई दर्जनभन्दा बढी पराकम्पन गए र जसमध्ये केही निकै ठूला थिए । यी पराकम्पनले गर्दा त्यतिबेला माघको ठण्डीमा पनि अधिकांश भूकम्प अतिप्रभावित क्षेत्रका बासिन्दा धेरै समयसम्म खुला आकाशमा नै बसेछन्। शहरका मान्छेहरू टुँडिखेल, जमल, हालको भृकुटीमण्डप, सभागृह, ल, रत्नराज्य र संस्कृत क्याम्पस भएका खाली ठाउँमा र छाउनीतिरको खाली जग्गामा पाल टाँगेर बसेछन् भने बारी–बँगैचा हुनेहरू आफ्नै घरका खाली जग्गामा बसेछन् । 

 

१९९० सालताका मुलुकमा निर्माणका आजजस्ता आधुनिक उपकरणहरू केही थिएनन्। तै पनि प्रधानमन्त्री जुद्घशमशेर, उनका भारदार, सेना र जनताहरू मिलेर सो महाभूकम्पको सामनामात्र गरेनन् बरु पुनः निर्माणसमेत अधिकतम प्राथमिकताका साथ छोटो समयमा नै गरे। भूकम्पको समयमा जुद्घशमशेर महाकालीतिर जाडो छल्न र सिकार खेल्न गएका थिए। माघ २ गतेको महाभूकम्पको खबर उनलाई तारमार्फत माघ ६ गते साँझमात्र पुगेछ। भारतको रेलको पुल पनि वीरगञ्जपारि भत्केर रेलसेवा बन्द भएकाले जुद्धशमशेरलाई राजधानी फर्कन झण्डै तीनहप्ता लाग्यो । बाटोमा उनले वीरगञ्जका विभिन्न भूकम्प प्रभावित क्षेत्रको पनि निरीक्षण गरे । माघ २२ गते काठमाडौं आउनासाथ टुँडिखेलको खरीको बोटबाट उनले त्यहाँ उपस्थित जनसमुदायलाई सम्बोधन गरेर भूकम्पबाट भएको क्षतिको पुनः निर्माण राष्ट्रकै स्रोत र साधनबाट तत्काल सुरु गर्ने घोषणा गरे। त्यतिबेला जनतालाई भत्केका घर पुनः निर्माणका निम्ति तत्कालीन सरकारले ऋण दिएर पछि सो ऋणसमेत मिनाहा गरिदियो। त्यसबेलाका ऋणका कागजातहरू पछि भूगोलपार्क र जुद्घशमशेरको सालिकमुनि गाडिदिएको कुरा पनि सुन्नमा आएको थियो। त्यतिबेला केही विदेशी राष्ट्रले मद्दत गर्न खोज्दा तत्काललाई नेपाल आफैं सक्षम भएको भनी ती मुलुकहरूलाई धन्यवाद ज्ञापन गरेको थियो रे नेपाल सरकारले ।

 

काठमाडौंको नयाँसडक, जुन जुद्धसडक भनेर पनि चिनिन्छ, यो विक्रम सम्वत् १९९० सालको भूकम्पपछि जुद्धशमशेरले बनाउन लगाएका हुन्। आफ्नो सालिक पनि राख्न लगाएर उनले सालिकको चारैतिर यानी पूर्वमा टुँडिखेल, पश्चिममा कुमारीघर, उत्तरमा इन्द्रचोक र दक्षिणमा नगरपालिकाको पुरानो कार्यालयसम्म चौँडा सडक र उस्तैखाले तीनतले सेता घरहरू बनाउन लगाएका हुन् । यस्तै पीपलबोटदेखि रणमुक्तेश्वर र नयाँसडकदेखि खिचापोखरीसम्म पनि चौँडा बाटो त्यहीबेला बनेका हुन् । त्यसपछि नै यो ठाउँ बिस्तारै व्यापारिक केन्द्र बन्दै गएको हो। हालको भूगोलपार्क पनि त्यति नै बेला बनाएर त्यसको बीचमा पृथ्वीको आकृति र त्यसमाथि शिवजीको मूर्ति स्थापना गराए जुद्धले । यसो गर्नुको उद्देश्यचाहिँ अब आइन्दा भूकम्पले दुनियाँलाई हल्लाउन खोज्यो भने शिवजी यसमाथि बसेकाले हल्लाउन नसकोस् भन्ने थियो रे। यो पार्कको दक्षिणमा अवस्थित पोखरीलाई पुरेर निकै ठूला मैदान र त्योभन्दा पर हालको नेपाल बैंक लिमिटेडको भवन बनाइएको रहेछ त्यतिबेला । भूगोलपार्कको दक्षिण–पूर्वमा चाहिँ गोरखापत्रको भवन बनाइयो भने दक्षिण–पश्चिममा जुद्ध वारुणयन्त्र । यस्तै उत्तरपट्टि जनसेवा सिनेमा हल बन्यो आजको विशालबजार भएको ठाउँमा ।

 

वि.सं. १८९० भाद्र १२ गते सोमबार पनि साँझ ६ बजेतिर सुरु भएको भूकम्पको धक्काले आधारातमा महाभूकम्पकै रूप लिएको रहेछ । साँझदेखि आधारातसम्म चारपटक भयानक धक्काहरू महसुस गरिएको मध्ये चौँथो धक्का जुन ७ दशमलव ९ रेक्टर स्केलको थियो, त्यसले भने निकै ठूला क्षति गराएको रहेछ। रातभरमा २३ वटा पराकम्पन महसुस गरिएको रहेछ। राजा रणबहादुर शाहले यो भूकम्पभन्दा ३५ वर्षअगाडि टुँडिखेलनीर बनाउन लगाएको जगन्नाथको मन्दिर र यसका वरिपरि बनाइएका सय फिट अग्ला बुर्जा सबै भत्किएका रहेछन्। भीमसेन थापाले सुन्धारामा आफ्नो दरवारको दुईतिर बनाएका धरहराहरूमध्ये एउटा पूरै भत्किएछ भने अर्कोको माथिल्लो भागमात्र भत्किएछ । पछि बाँकी रहेको एउटा धरहराको मात्र मर्मत गरिएको रहेछ । काठमाडौं, पाटन र भक्तपुर तथा वरिपरिका गाउँहरू पूरै ध्वस्त भएका रहेछन् त्यतिबेला पनि । यीमध्ये पनि सबैभन्दा बढी असर भक्तपुर र थिमीलाई परेको रहेछ । तर पशुपतिनाथ, गुह्येश्वरी, मीननाथ र चण्डेश्वरीजस्ता देवीदेवताका महत्वपुर्ण मन्दिरहरूमा कुनै हानी–नोक्सानी भएनछ। यो भूकम्पले नेपालमा पश्चिममा गोरखा, पूर्वमा धरान–विजयपुर, दक्षिणमा मकवानपुर र उत्तरमा कुतीसम्म अधिक नोक्सान गरेछ । त्यसबखतका राजा राजेन्द्रवीरविक्रम शाहले काठमाडौं, पाटन र भक्तपुरमा गएर भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गरी केही राहत सामग्री पनि वितरण गरेका रहेछन् । त्यतिबेलासम्म घर बनाउन चाहिने सबै सामग्री मुलुकभित्र नै बन्ने हुनाले र विकासको परिभाषा नै अहिलेको भन्दा फरक यानी मठमन्दिर बनाउने र गोरेटो, पाटी, पौवा, इनार, पोखरीआदि बनाउनेजस्ता कार्यमा सीमित भएकाले पनि पुनः निर्माण कार्य छिटो हुने गर्दथ्यो । १८९० सालको भूकम्पले पनि भारतको विहारमा नै धेरै नोक्सानी गराएको थियो ।

 

विगत ८०० वर्षअघिदेखिको भूकम्पको फेहरिस्त हेर्ने हो भने विक्रम सम्वत् १३१२ साल आषाढमा पनि २०७२ सालको जस्तै ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको रहेछ । सो भूकम्पमा परेर कान्तिपुरका तत्कालीन राजा अभय मल्ल र करिव एकतिहाइ जनताले ज्यान गुमाएका रहेछन् । यो भूकम्पको पराकम्पन १५ दिनसम्म निकै पटक भएको रहेछ र त्यसपछिमात्र यो कम हुँदै गएछ ।


 
विक्रम सम्वत् १३१२ देखिको भूकम्पको मात्र विश्लेषण गर्दा नेपालमा औसतन प्रत्येक १०० वर्षमा एउटा महाभूकम्प जाने गरेको देखिन्छ। महाभूकम्पको शक्तिका अन्य जे अन्तर्राष्ट्रिय मापदण्ड र परिभाषा भए पनि मेरो विचारमा हाम्रो मुलुकको भौगर्भिक बनौट र संरचनाहरूको लेखाजोखा गर्दा ७ रेक्टर स्केल वा सोभन्दामाथिका भूकम्पलाई महाभूकम्पको वर्गमा राख्न सकिन्छ, किनकि त्यति मापन–वर्गका भूकम्प नै धेरै विनाशकारी सावित भएका छन्। भूकम्पन जमिनको सतहबाट कतिमुनि सुरु भएको छ, त्यो जमिनभित्रको बनोट कस्तो प्रकारको माटो, बालुवा, चट्टान वा पानीबाट भएको छ, त्यसबाट पनि यसको शक्ति आँक्न सकिन्छ।

 

विक्रम सम्वत् १३१२ देखि २०७२ सम्म ७ रेक्टर स्केलभन्दा माथिका १२ वटा महाभूकम्प गएछन्। यीमध्येको सबैभन्दा शक्तिशाली र डरलाग्दो भूकम्प भने १५६२ आषाढमा कर्णालीमा केन्द्रविन्दु बनाएर ८ दशमलव ८ रेक्टर स्केलको गएको रहेछ । त्यसपछिको सबैभन्दा भयानक भूकम्पचाहिँ १९९० सालको ८ दशमलव ४ रेक्टर स्केलको नै हो । यस्तै १७३७ पौष र १८९० भाद्रमा ८ रेक्टर स्केलका भूकम्पहरू गएका थिए भने १४६५ भाद्रमा ८ दशमलव २ रेक्टर स्केलको । ७ देखि ८ रेक्टर स्केलका भूकम्पहरूको कुरा गर्दा १३१२ असारमा ७ दशमलव ८, १३१७ मा ७ दशमलव १, १४०१ मा ७ दशमलव ८, १८२४ श्रावणमा ७ दशमलव ९, १९७३ भाद्रमा ७ दशमलव ७, २०७२ वैशाखमा ७ दशमलव ८ र ७ दशमलव ३ रेक्टर स्केलका भूकम्पहरू गए ।

 

२०४५ साल भाद्रमा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले पनि भक्तपुर र धरानजस्ता शहरहरूमा धनजनको ठूलै नोक्सानी गरायो भने २०६८ आश्विनको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले भने खासै नोक्सानी नगरे पनि महाभूकम्प जान लागेको जनाउ दिएर गएको रहेछ, तर कसरी बुझ्नू र उसको जनाउलाई ।  हुन त संयुक्त राष्ट्र संघ, जापानी नियोग, तथा विभिन्न गैरसरकारी संस्था र भूकम्पविद्हरूले विगत केही वर्षअघिदेखि बेला–बेलामा भूकम्पन हुँदा के–कसो गरेर आफु र अरूलाई बचाउन सकिन्छ भनेर विभिन्न अड्डा, विद्यालय तथा संघ–संस्थामा गएर शिक्षामूलक तालिमहरू दिइनै रहेका थिए, तर यो सब उनीहरूले भूकम्प आउने कुरा निश्चित भइसकेको भएर गरेका होइनन् । भूकम्पको पूर्वानुमान आजसम्म न त ज्योतीषशास्त्रले गर्न सकेको छ न त वैज्ञानिक खोजले नै । तर विगतको भूकम्पनको प्रवृत्तिको अध्ययन गरेर कुनै पनि इलाकामा औसतन कति समयमा भूकम्प जान सक्छ भन्ने अनुमानसम्म गर्न सकिन्छ । यस्तै विगतको भूकम्पका सूचनाका आधारमा नेपालमा प्रत्येक १०० वर्ष वा सोभन्दा केही समय कममा ठूला भूकम्पहरू गएको तथ्यलाई विचार गरेर अब कुनै पनि बेला महाभूकम्प जानसक्छ भनेर उनीहरूले जनमानसलाई सचेत गराउन खोजेका थिए । मैले पनि यस्ता केही कार्यक्रमा सक्रियरूपले भाग लिएको भएर २०६८ र २०७२ का गरी त्यतिबेलाका चार ठूला भूकम्पनमा आपूmमा भएको डरलाई काबूमा राखेर अरूलाई मद्दत गरेको थिएँ । तर पनि यस्तो बेला आफ्नोबाहेक कसैको पनि माया लाग्दैन रहेछ यो पापी मनलाई ।    


हाम्रो “पर्पल इभेण्ट नेपाल डट कम” भन्ने संस्थाको माध्यमबाट हामीले पनि राहतका विभिन्न कार्यक्रम गर्‍यौँ । बालसखा तथा कलाकार किशोर डंगोल एवम् अर्का युवा असिम के.सी. को सक्रियतामा धेरै देशी– विदेशी स्वयमसेवकले हाम्रो संस्थामार्फत भूकम्प प्रभावित क्षेत्रहरूमा गएर राहतका कामहरू गरे। खासगरी गोर्खा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक तथा काठमाडौं उपत्यकाका विभिन्न विकट ठाउँमा गएर पाल, खाद्य पदार्थ, प्राथमिक उपचार तथा स्वास्थ्य परीक्षणदेखि लिएर चर्पी तथा धारा निर्माणमा समेत सघायौँ हामीले। त्यस्तै संगीतकार अम्बर गुरुङका माहिला सुपुत्र संगीतकार राजु गुरुङको सक्रियतामा ठाउँ–ठाउँका विद्यालयमा संगीतमार्फत भूकम्पले भयग्रस्त केटाकेटीहरूलाई मनोचिकित्सा पनि प्रदान गर्‍यौँ। यी सब कार्यमा हाम्रो संस्थाका अति सक्रिय सदस्य मेरी सुपुत्री कृपा, सुपुत्र कृपेश, धर्मपुत्री चाँदनी र उनका साथीहरूको ठूला योगदान रह्यो ।

 

हाम्रो पिँढीले आफ्नो जीवनकालमा कैयन् प्रकारका दुखद घटना र आपत–विपदहरु झेल्न वाध्य भएका छौँ। यी घटनाका वाबजुद, सकारात्मक भएर नै सोच्ने हो भने यस्ता अकल्पनीय अवस्थाहरूले हामीलाई अझै धेरै ऊर्जा दिएका छन् र जस्तै कठिन परिस्थितिको पनि सामना गर्न सक्ने भएका छौँ अब हामी । मर्नेहरूको जीवन नै समाप्त भयो र घरपरिवारमा चरम बिचल्ली भयो तर बाँच्नेहरूको धन सम्पत्तिमा धक्का लागे पनि तिनले अभैm बाँच्न पाए, यस्तो बिपत्तिको पनि सामना गर्न सिके, सके । यो भने एउटा निकै कम मान्छेले अनुभव गर्न पाउने सकारात्मक कुरा हो ।

 

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार