• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
विचार

हिनता पीडितले छोपेको मौका

गाउँको चिया पसलमा बिहान चिया पिउन जम्मा भएको केही छिमेकीहरुबीच एक नवआगन्तुक सज्जन बिश्व भ्रमण गरेको बखान गर्दै थिए। अमेरिकामा यो देखे, रुसमा त्यो देखे, चीनले क्या प्रगती गरेको आदी बिषयमा गफ चुट्दै थिए, चियाको चुस्की लिदै। गाउँलेहरु खुशी थिए आफ्नो गाउँमा यस्तो बिश्व परिक्रमा गरेका महान ब्यक्तिको आगमनले। अग्रजहरुको भीडमा एक स्कुल जाँदै गरेको बिद्यार्थी सामेल भएछ। सज्जनको कुरा सुन्दै गर्दा उसले “जोग्राफीका बिषयमा यहाँको ज्ञान अपार नै छ जस्तो छ” सज्जनले उत्तर दिए “के केटाकेटीको जस्तो कुरा गरेको बाबु म त्यो जोग्राफीमा कतिपटक पुगे कति गिन्ती गर्नसम्म पनि सक्दिन। ल सोध त्यस मुलुकका बिषयमा तिमीलाई के थाहा पाउनुपर्‍यो” बिद्यार्थी झस्कियो अघीसम्म देश विदेशको भ्रमणको वर्णन गर्ने ब्यक्तिलाई  “जोग्राफी” भनेको भुगोल हो, देश होइन भन्ने।

 

मनोबिज्ञान बिषयमा पंक्तिकारको ज्ञान शुन्य प्राय छ। न्युनतम बिषयगत ज्ञानको सेरोफेरोमा थाहा भएको चाही अहंकारीहरु हिनताग्रस्त मनोविज्ञान पिडीत हुन्छन। अहंकारले गर्दा उनीहरु आफुलाई थाहा हुँदै नभएको बिषयमा समेत ज्ञाताका रुपमा प्रस्तुत भईदिन्छन्। अज्ञानतालाई लुकाउनका निमित्त झुट बोल्नु साधारण हुन्छ उनीहरुका निमित्त। एउटा झुटलाई ढाकछोप गर्न अनेक झुटहरु बोल्छन। झुटको प्रचारमा अरुले बिश्वास गरेको देखेर उनीहरु आफैले उक्त झुटलाई सच्चाई ठान्न थाल्दछन। धोती फुस्केपछि उनीहरु पानी भित्रको ओभानो ढुङ्गो बन्न खोज्दैछन्। आफुले गरेको गल्तीको भागीदार अर्कोलाई तुल्याएनन् कलामा तिनीहरु निपूर्ण हुन्छन्।

 

निःसन्देह खड्गप्रसाद ओली अब्बल दर्जाको उदाहरण हुन् हिनताग्रस्त मनोभाव पिडीत व्यक्तिहरुको। चारुमुजीमदार प्रभावित भएर ब्यक्ति हत्याको राजनीतिमा संलग्न हुँदा तिनी औपचारिक शिक्षा हासिल अवसर बिमुख भए। चौधबर्ष लामो जेल जीवनमा अधिकांश समय बिरामी भएका ओलीले के कति अध्यन गरे होलान कल्पना गर्न कठिन छैन। तर पनि तिनका समर्थकहरुले गरेको प्रचार बाजीलाई पत्याउने हो भने जेलजीवनमा तिनले अक्सफोर्ड डिश्नेरी कण्ठ पारे। प्रधानमन्त्रीले पद ग्रहण गरे पछि दैनिकी १८ घण्टा ब्यस्त रहन्छन्। समय पाउँदा साथै स्व-अध्यनमा जुट्छन आदी आदी। तीनको चारित्रिक गुण हो योग्य व्यक्तिलाई पाखा लगाउने। चटुककरलाई गणेशले जस्तो घुमाएर रमाउने । तीनले बौद्धिक समुहलाई आफनो बिरोधी ठानेका छन्। बौद्धिक क्षमता भएको महिलालाई तिनी देखि सहदैनन् । 

 

सार्वजनिक रुपमा प्रस्तुत हुँदा उखान टुक्काहरुको वर्षा खुबै गर्दछन्। अझैसम्म तिनले कसैप्रति आदरको भाव प्रकट गरेको सुनिएको छैन । पुराण पाठ गरे जस्तो गरेर आधारहीन पौराणिक ज्ञान गुनका कुराहरु सुनाउन तिनी पंडित नै छन । कोशी नदीमा हुने पानी तथा गहिराईको कारण तिनले सोचे जस्तो जहाज संचालन गर्न “फिजिबल छैन” भन्ने इन्जिनियरहरुलाई  “फिजिवल छैन भने फिजीबल तुल्याउनु होस” भन्ने आदेश दिन अजबल । संघीय संसदमा “नेपालीको शारीरीक प्रतिरोध शक्तिको कारण कोरोनाले हानी नोक्सानी गर्न सक्दैन” भन्न भ्याई दिए। त्यस्ता आधारहीन तर घातक धारणाको श्रोत खोज्ने सांसद गगन थापालाई जंगबाहादुको शैलीमा “मैले भनेको” भन्न धक मानेनन् । “कोभिड महामारी” ले देशलाई गाज्न सक्दछ भन्ने देशी बिदेशी स्वास्थकर्मीहरुले दिएको सुझावयुक्त चेतावनीलाई तिनले ख्याल ख्यालमा उडाइदिए । आफैले आविष्कार गरेको बेसार पानीले कुल्ला गर्ने, तातो पानीले हात धुने तथा ह्च्छिउँ गर्ने औषधीको प्रेसक्रिप्सनलाई प्रचार गरे। कोभिड महामारीको दोश्रो लहरले देशव्यापी भईसकेको अवस्थामा अम्बाको पात उमालेर पीएपछि कोभिड भाग्ने भ्रम प्रचार गरे ।  

 

पहिलो चरणको कोभिड-१९ संक्रमणको रोकथाम गर्न चीन, भियतनाम जस्तो कम्युनिष्ट राष्ट्रहरु सफल रहे। त्यसैगरी जर्मनी, स्वीडेन, दक्षिण कोरिया आदी लोकतान्त्रिक प्रणाली अपनाउने राष्ट्रहरु पनि सफल भए। सरसर्ती शासकहरुको चारित्रिक गुणको मुल्यांकन गर्ने हो भने जुन मुलकका शासक नागरिक प्रति जवाफदेही थिए त्यस्ता राष्ट्रहरुमा कोभिड महामारीले न्युन असर पार्‍यो ।

 

६ माघ २०७६ मा कोभिडले नेपालमा प्रवेश पाएको हो। बैशाख (२०७७ साल) अन्तिम सातापछि स्थानीय रुपमा संक्रमण फैलिन थालेको हो। कोभिड महामारी स्थानीय तहसम्म फैलिनु पुर्व ओली शक्तिशाली प्रधानमन्त्री थिए। तीनको नेतृत्वमा रहेको त्यस बखतको नेपाल कम्युनिष्ट पार्टी भित्रको सत्ता संघर्ष भुसको आगो सतहमा देखापर्दा “स्वदेशी प्रतिगमनकारी तथा बिदेशी शक्तिहरुको चलखेल”मा भएको हल्लालाई दुई सह-अध्यक्षले परस्त गरेको कथामा सिमित थिए। कोभिड संक्रमणको रोकथामका निमित्त उप-प्रधानमन्त्री (रक्षा) को संयोजकत्वमा गठित उच्च स्तरीय समिती (सीसीएमसी) तामझाम बीचको गठन, जनस्वास्थ्य बिषयमा कुनै चासो नराखेका उप-प्रधानमन्त्री (स्वास्थ्य) तथा जसपा नेता को बहिरगर्मन आदि हुँदै तीनको शक्तिक्षण हुँदै गर्दा स्थानीय स्तरमा संक्रमण फैलिन थाल्यो। सीसीएमसी संयोजक सुपुत्रको नेतृत्व भएको “ओम्नी” प्रकरण तथा उक्त प्रकरणमा भएको भ्रष्टाचारलाई घुम्टो ओडाउने प्रयासमा सेनालाई औषधी उपकरण खरीद कार्य सुम्पने निर्णय तथा सेनालाई उक्त कार्यमा  हात परेको असफलता लगायत अस्पताल निर्माणका घोषणा शिलान्यास आदि राष्ट्रले प्रथम कोभिड महामारी नियन्त्रणमा सरकारबाट भएको हस्तक्षेपको प्रतिनिधी उदहारणहरु हुन ।

 

मंसिर (२०७७) देखी कोभिड महामारीको जोखिम घट्न थालेको थियो। ओलीका निमित्त त्यो अवसर भयो बिरोधीलाई छानीछानी सखाप तुल्याउने । एकपछि अर्को असफल कार्यहरु जस्तै संघीय संसद सदृश्यको अपहरण, दल बिघटन गर्ने प्रस्ताव आदी असफल हुँदै गरेपछि तिनले संसद माथी नै खडग प्रहार गरे। त्यस पश्चात आयोजना गरिएका राजनीतिक शक्ति प्रदर्शन तथा सामाजिक जात्राहरु थेग्दै राष्ट्रले दोश्रो कोभिड लहरको सामना गर्दैछ। पहिलो ३०९  दिनमा हातहत हुनेको संख्या ३ हजार १२ थियो भने दोश्रो लहरको शुरुवात फागुण २०७७ लाई मान्ने हो भने आजका दिनसम्म (१० जेष्ठ २०७८) आइपुग्दा अर्को ३ हजार १५३ थपिसकेको छ। कोभिड महामारीको दोश्रो लहर उत्सर्गमा पुग्दा ओलीले “कु” गर्न भ्याईदिएका छन्।

 

दोश्रो लहरको शुरवात बहु प्रचारित ७० लाख डोज भ्याक्सीन प्रकरणको खुलासा भयो। सरकार तथा बिचौलियाहरु बीचको लेनदेनमा भएको खिचातानीको फल ६५ बर्ष उमेर नाघेका १५ लाख को संख्याका बृद्धाहरु भोग्दै छन। दानमा ग्रहण गरेको ११ लाख तथा खरीद गरिएको १०  लाख डोजको आधारमा “३ महिनामा प्रत्येक नेपाली नागरिकले खोप पाइसक्ने” अभियान को प्रतिफल एक डोज खोप पाएका उनीहरुले बुस्टर डोज पाउने अनिश्चित अबस्था भोग्दैछन। सरकारको दुरदर्शिताको उदहारण ५० देखी ६४ बर्ष उमेर समूहका नेपाली परेका छन्। जसको गणना गर्न सरकार चुकेको छ।  

     

दोश्रो लहरबाट देशले यो क्षति ब्यहोर्नु पर्ने अपरिहार्य किमार्थ थिएन भन्न जनस्वास्थ्यविग्यको ज्ञान आवश्यक छैन। सरकार जबाफदेही भईदिएको भए कुनै हालतमा पनि राष्ट्रले यती बिघन खतीको भागीदार हुने थिएन। भारतमा दोश्रो लहर चमकिदै गर्दा ओली शिलान्यास तथा उद्घाटनको निमित्त भिड जम्मा गर्दैथिए। तिनकै मातहमा रहेको स्वास्थ मन्त्रालयले जारी गरेको २५ जना भन्दा बढी जमघटलाई निषेधाआज्ञा उलंघन गर्दै थिए। संक्रमण डढेलो लागेर फैलदै गर्दा सम्बन्धीत मन्त्रीहरु जस्तै स्वास्थ्यमन्त्री बिचौलियासंग सौदागरीमा नतमस्तक थिए।

 

परराष्ट्रमन्त्रीको भूमिका कथाको रफु मास्टरको जस्तो भयो । ओलीले पारेको भुवांगहरु टाल्न असफल प्रत्यनमा तल्लीन रहे। तिनले नेपाली राजदुतहरुलाई दातृ राष्ट्रहरुसंग सहयोग जुटाउन निर्देशन दिने पत्राचारका निमित्त दुई महिना बिताइदिए। बिपन्न नागरिकहरुको तिरो खाएर बिदेशमा प्रधानमन्त्रीको कृपामा राजदुत पद आसीन राजदुत महोदयहरुले आखाँमा पट्टी तथा कानमा एरपल्ग कोचेर बसे।  एकल अपबाद स्पेनको राजदुत भइन। अन्यथा कुनैपनि नेपाली राजदुतहरुले खोप त परै जाओस् अक्सीजन, भेन्टिलेटर तथा अन्य उपचार सामाग्री जुटाउने पहलकदमी समेत मात्र पनि गरेको समाचार प्रशारण भएको छैन। अन्तरराष्ट्रीय संचार माध्यमले नेपालमा हुदै गरेको मानव नसंहारका समाचार प्रशारण गरे। चीनिया परराष्ट्र मन्त्रालय,अमेरिकी सिनेट, ब्रिटिश पार्ललियामेन्ट आदीमा नेपालले भोग्दै गरेको मानवीय संकटका बिषयमा छलफल भयो। सदासय राख्ने दातृ राष्ट्रहरुले सहयोगका निमित्त सामग्री सहितका हवाईजहाज उढाए। तिनै राष्ट्रमा रहेका महामहीमहरु चिर निन्द्रामा रहे। माछा सढ्दा टाउको देखि सढ्ने अफ्रिकी उत्कृष्ट नमुना राष्ट्र तुल्याइयो यस राष्ट्रलाई।      

 

बर्तमान नियती मुलुकले भोग्नु परेकोमा ओली र तिनको भष्मासुर प्रवृती जिम्मेवार छ। शुरुमा उल्लेख गरिए जस्तो “जोग्राफी भ्रमण” को गफ चुटने व्यक्ति हुन ओली। तिनी जस्तो हिन मनोबिज्ञान पीडित सत्तालिप्त, नागरिक प्रतिको बेवास्ता गर्ने, अपारदर्शी, भ्रष्टचारी, द्रब्य पिचास दृष्टिकोण तथा अहंकारी शासकको बहिरगमन अपरिहार्य छ । अन्यथा मुलुकले भोग्दै गरेको दुश्चक्रबाट उन्मुक्ति पाउन सक्दैन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार