• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सम्झनामा चेतन कार्की

काठमाडौं । वि.सं. १९९५ साल कार्तिक २२ गते स्याङ्गजामा जन्मनुभएका चेतन कार्कीको वाल्यकाल गाउँघरमा नै वितेको भएपनि उनी धेरै वर्षसम्म भारतीय सेनामा काम गर्ने आफ्ना बुवासँग भारतमा नै बसेर आफ्नो विद्यालय र विश्वविद्यालयको अध्ययन पनि उतै पुरा गरे । नेपाली गाउँले परिवेशदेखि भारतका कैयन ठाउँहरुको सामाजिक र सांस्कृतिक परिवेशसँग परिचित चेतन कार्की सानैदेखी खासगरी रमाइला लोक शैलीका गीत र नाचहरुबाट प्रभावित भएका थिए ।

 

भारतमा अङ्ग्रेजहरुको शासनकाल देखी नै नेपालका गाउँघरहरुबाट लोग्ने मान्छेहरु भारतमा सेनामा भर्ती हुन र अन्य विभिन्न काम गर्न जान थालेका हुन् । खासगरी प्रथम र दोश्रो विश्वयुद्धमा लाखौँ नेपाली युवाहरु लडाईँमा मारिएकाले धेरै समयसम्म नेपालको जनसंख्यामा पुरुषको संख्या महिलाको अनुपातमा निकै कम रहेको थियो । यसरी मुग्लानमा जानु पर्ने वाध्यता र त्यहाँ गएर आफन्त घर नफर्कने विवशताहरुले गर्दा त्यतिबेला नेपाली गाउँ घरमा विरहका गीत संगीतहरुले नै प्रधानता पाएका थिए । तर चेतन कार्की जस्ता नेपाल र भारतका विभिन्न ठाउँका संस्कृतिसँग परिचित युवाले भने आफ्ना कृति मार्पmत नेपाली गीत संगीतमा पुन : नयाँ रौनक थप्न सफल भएका थिए त्यतिबेला ।

 

उनले भारतीय विश्व विद्यालयबाट देहरादुनमा अरु नै विषयमा स्नातकोत्तर गरेको भएपनि उनी कालान्तरमा नेपालका एक स्थापीत गीतकार, कवि, पटकथाकार र फिल्म निर्देशक बन्न पुगे । नेपालका र भारतका प्रवासी नेपालीका जीवनशैली र संस्कृतिको मिश्रण उनका कृतिमा पाइन्छ ।

 

२०२५ सालतिर बनेको नेपाली चलचित्र परिवर्तनका गीतहरुको लेखन देखि लिएर पटकथा समेत उनैले तयार गरे । “बैनीको दया छ भने, रोदी घर मै नाचेँ नभन”, “बुझ्नै सकेनौ तिमीले, आँखाको भाका मेरो” जस्ता कालजयी गीतहरु उनले त्यही चलचित्रको लागि लेखेका हुन् । त्यस्तै पछि उनले विश्वास, भूमरी तथा पहिलो प्रेम जस्ता नेपाली चलचित्रहरुको निर्देशन समेत गरे । फिल्म विश्वासले त निकै चर्चा कमाएको थियो ।

 

नेपाली सिनेमाका पछिल्ला एपिसोडहरुमा तिनलाई सफलताको चुलीमा पु¥याउन राम्रा गीत रचना र संगीतले निकै मद्दत गरेका छन् । जस्तै उनैले लेखेका “तीजको रहर आयो बरी लै”, “छोरीको जन्म हारेको कर्म”, “कान्छी हे कान्छी” जस्ता गीतहरुकै कारण पनि चलचित्रहरु निकै चलेका थिए भने ती गीतहरु जुनसुकै उमेरका व्यक्तिहरुका जिब्रामा अझैपनि झुण्डीएकै छन् । तारादेवी, अरुणा लामा, नारायण गोपाल, किरण प्रधान, प्रकाश श्रेष्ठ आदिले उनका रचनाका गीतहरु निकै मुग्धकण्डले गाएका छन् ।

 

उनले लेखेका कविता तथा गीतका संग्रह र लेख, निवन्ध तथा उपन्यास बजारमा धेरै पाइन्छन् । नेपाली भाषामा मात्र होइन, उनी हिन्दी र उर्दूमा पनि गीत, गजल र कविता–नज्महरु लेख्न माहिर थिए । व्यक्तिगत हिसाबले पनि उनी निकै हँसिला र सँधै मुस्कुराइरहने तथा ठट्टा गरिरहनुपर्ने मानिस थिए । कपाल निक्खर सेता भएका भएता पनि उनी ८० काटी सकेका व्यक्ति भनेर झट्ट भनिहाल्न सकिँदैन थियो। यो सब उनको मिजासिलो व्यवहार र युवाको जस्तो स्फुर्तीले गरेर नै भएको थियो ।

 

केहीवर्ष अघिसम्म ललितपुरको दमकल कार्यालयको पल्लोपट्टी मेरो पनि नाताले ससुरा पर्ने शिवु गुरुङको एउटा किराना पसल थियो । सो पसल वास्तवमा आम्दानी गर्ने हेतुले भन्दा पनि पुराना साथी भाईहरुले बात मारेर दिन बिताउने स्थल भएको थियो । सो पसलमा आउने नियमित व्यक्तिहरु मध्ये चेतन कार्की पनि थिए । उनीहरु त्यहाँ बसेर देश विदेशको खवर, साहित्य, चलचित्र, गीत, संगीत, खेलकुद, धर्म, संस्कृति, साईबावाको स्मृती लगायत ज्ञानगुनयावतका कुराहरु गर्दथे भने आफ्ना कविता र गजलहरु पनि सुनाइरहन्थे । बेलाबेलामा निकै हाँसो उठ्ने घटनाहरु पनि सुनाउँथे । म पनि केही पटक यस्ता गफहरु हुने बेलामा त्यहाँ पुगेको छु । एकचोटी त्यस्तै गफ भइरहेको बेलामा म मुस्कुराएको देखेर उनले “कपिलबाबु बसिबियाँलो !” भनेर मलाई ढाप मारेको मधुर सम्झना मलाई आजसम्म पनि आइरहन्छ । मेरो पुस्तक 'बिचार र अनुभुती' को २०७६ साल बैशाख १ गते बिमोचन हुँदा उनी पनि सरिक भएर समारोहको गरिमा बढाइदिएका थिए । 

 

सो बसिबिँयालोको अखडा करिव एकदशक अघि बन्द भएपछि भने केही समय अघिसम्म उनी खासगरी ललितपुरको सेन्ट मेरिज स्कूल अगाडिको सानो पुस्तक पसलमा बसेर पढ्न तथा विभिन्न विधाका श्रष्टा साथीहरुसँग गफिन रुचाउँथे । युवावस्थामा आफुले शिक्षा हासिल गरेको ठाउँ देहरादुन उनका प्रिय ठाउँहरु मध्येको एक थियो । उनको निधन हुनु भन्दा केही दिन अघि पनि उनी त्यतै गएर फर्के पछि ज्वरो आएर गालेकोले स्वास्थ्य परिक्षण गर्दा कोरोनाको संक्रमण देखिएको थियो । केही हप्ता नै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार गर्दा पनि केही नलागेर नेपालका प्रख्यात गीतकार, साहित्यकार, फिल्म निर्देशक तथा पटकथाकार चेतन कार्कीको २०७८ साल जेठ २ गते ८३ वर्षको उमेरमा देहावसान हुन गयो । उनका श्रीमती र दुई उनी जस्तै निकै हँसिला स्वभावका सुपुत्रहरु पारस र पंकज छन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार