• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

कोभिड–१९ को कथा, व्यथा र रेमडिसिभर

हाल नेपाल कोरोना भाइरसको नयाँ भेरिएन्टले ग्रसित बनेको छ । जंगलमा डढेलो लागेको जस्तै सबैजना एकपछि अर्को संक्रमित हुँदैछन् । गत वर्षको रोगको लक्षण र प्रगती हेर्दा यसपाली अलि भिन्दै देखिन्छ। साधारण रुघाखोकी जस्तो देखिने, हाच्छिउँ आउने, शरिर दुख्ने, यसपाली धेरै बिरामीहरुलाई देखिएको लक्षण हो। रुघा हुन्जेल हल्का देखिने, जोरो पनि धेरै नहुने तर पाँचसात दिनमा धेरै जोरो आउने र अक्सिजन घट्ने धेरैलाई भईरहेको छ । शुरुको समय साधारण रुघाखोकी हो भनेर हेलचक्रयाई गर्ने र पछि साँस फेर्न गाह्रो भई छाती दुख्ने, जोरो नघट्ने भई अस्पताल आउनेहरु धेरै नै हुनुहुन्छ । जब अस्पताल आउनुहुन्छ तब अक्सिजन धेरै मात्रामा चाहिने भईसकेको अवस्था हुन्छ । त्यसरी अस्पताल पुग्दा बिरामी जटिल भन्दा पनि जटिल अवस्थामा पुगिसकेको हुन्छ । त्यसैले गर्दा अक्सिजनका लागि अस्पतालमा आउने बिरामीको चाप धेरै नै बढ्न गई अस्पताललाई अक्सिजन पुर्‍याउन हम्मे हम्मे परिरहेको अवस्था छ। बिरामीहरु अस्पतालमा लाइन लागेर आउँदा अस्पतालमा  अक्सिजन कसरी पुर्‍याउने भनेर ठुलो तनाव भईरहेको छ। बिरामीको भर्ना गर्नु ठुलो चिन्ता भईरहेको छ । बिरामी भर्ना गर्नु, उपचार गर्नु अस्पतालको दायित्व हो । तर अहिलेको माग खेपिसक्नु नै छैन । हरेक अस्पतालहरुलाई भर्ना गर्न नचाहेको भनी आरोप लगाउनु त एउटा आफनो जिम्मेवारी पन्छाउने मानसिकता हो । आफुलाई राम्रो देखाएर अरुलाई तल देखाउनु रोगी प्रवृती हो । 

 

काठमाडौं उपत्यका जहाँ ठुलाठुला सरकारी अस्पतालहरु छन् तीनमा पनि अक्सिजन नपुगेको देख्दा हामी सबै आश्चर्यमा परेका छौं। हाम्रो मेडिकल कलेजहरुमा अरुबेला बिरामीहरुको चाप धेरै कम हुन्थ्यो तर अहिले कोभिड बिरामीहरु राख्न थालेपछि बिरामीहरुको चाप  बढेको छ। त्यसैले पहिला भन्दा अहिले अक्सिजनको उपभोग तीन पटकले बढेको छ भन्दा पनि हुन्छ। तर हजारौं बिरामीहरुलाई सेवा दिईरहेको सरकारी अस्पतालमा पनि नपुगेको देख्दा हामी मर्माहित भएका छौं। अहिले हामीलाई चाहिएको बेलामा हामी फेरी तेस्रो दर्जामा नै त परेका छौं। पहिला सरकारी अस्पताल, दोस्रो सामुदायिक अस्पताल र तेस्रो मेडिकल कलेज। हामीले त्यति थोरै अक्सिजनले कसरी पुर्‍याउने होला। बिरामीहरु घटाउने बाहेकको बिकल्प हामीसँग पनि रहेन।

 

बिस्तारै यो अक्सिजनको आपुर्तीको जिम्मा कसैले नलिए हामी कोभिड बिरामी लिन पनि छोडने अस्वथामा पुग्छौं। हामीसँग अक्सिजन प्लाण्ट छ । हतार हतार गरी बीस दिन अगाडी जोडेको। तिनै कोभिडका बिरामी आए अक्सिजनमा आत्मनिर्भर हुनेछ भनेर। तर जोडिदिने कम्पनीले यो सामान आएन त्यो सामान आएन भनेर उत्पादनमा समस्या देखाउँदा हामी  लाचार भएर हेर्ने बाहेक केही गर्न सकेका छैनौं। हाम्रो लाचारता, हाम्रो बिरामीको व्याकुलता कसले बुझिदिने। सबैलाई दोष दिँदा नै ठिक्क छ, काम कसले गर्ने ? अहिलेको अर्को ठुलो समस्या भनेको कोरोनाको उपचाररार्थ प्रयोग हुने रेमडिसिभर भन्ने औषधी हो। सबै बिरामीहरुलाई अस्पताल भर्ना भएपछि रेमडिसिभर चाहिने । 

 

रेमडिसिभरले मृत्युदर घटाउँछ भनेर सानोतीना अनुसन्धान भए। तर राम्रोसंग गरेको ठुला अनुसन्धानहरुले (randomized contrlloed trial) त्यति भुमिका छैन भन्ने देखिएको छ । रेमडिसिभर एउटा एन्टी भाइरल ड्रग हो । यसले भाइरसलाई त मार्छ तर कहिले दिँदा भन्ने बुझेर दिए मात्र । कोरोना भाइरस हाम्रो शरिरमा सातआठ दिनसम्म आनन्दले बस्छ, संख्या थप्ने काम गर्छ । त्यस समयमा दिए राम्रो । तर हाम्रो रोग प्रतिरोधात्मक क्षमताले त्यसलाई मार्न थालेपछि रेमसिडिभर किन चाहियो । त्यस अवस्थामा रेमसिडिभर दिएर काम छैन । जब शरिरले भाइरस मार्न थाल्छ तब इनफ्ल्याम्याटोरी साइटोकाइन्सहरुको मात्र बढ्न थाल्छ । जति धेरै भाइरल अवशेष छ त्यति धेरै इनफ्ल्याम्याटोरी रियाक्सन हुन्छ र साइटोकाइन भनिने जुशहरु बढ्न थाल्छन । तीनले हाम्रो शरिरलाई हानी पुर्‍याउँदै निमोनिया बढाउने,  धमनीहरुमा रगतका ढिक्का जमाईदिने गर्दछन् । यस्तोबेला शरिरमा जीवित भइरस भन्दा मृत भाइरस बढि हुन्छन् । साइटोकाइन स्टर्म भन्ने नाम दिएको यस अवस्थामा रेमडिसिभर दिएर काम छैन। जब यस्तो अवस्थामा छातीमा मध्यम देखि जटिल निमोनिया भइसकेको हुन्छ र  सीआरपी (CRP),  आइएल ६ (IL-6), डी डिमर (D-Dimer) जस्ता रसायनहरु बढन थालीसकेपछि त्यसबेला रेमडिसिभर दिएर हुन्न। यो इन्जेक्सनलाई शुरुको पाँचसात दिनभित्र दिँदामात्र उपचारमा मद्धत गर्दछ  तर पनि यसले अस्पतालमा रहने समय घटाउँछ, मृत्युदर होइन ।

 

हालै टोसिलिजुमाब (Tocliizumab) भन्ने औषधी खोजी गरेर हिड्ने मान्छेहरुको जमात नै छ । यो औषधी बढ्न गई त्यसबाट हुने आक्रामक हानी हुन नदिन प्रयोग गरिन्छ । तर यसको प्रयोगमा धेरै जटिलता आउन सक्छ । यसको प्रयोग पनि कोभिड भएर गम्भिर भएका सबैको लागि भने होइन । भारत, नेपाल जस्ता देशहरुमा जहाँ डाक्टर भन्दा जन-साधारण धेरै जान्ने हुने भएकाले यस्तो अवस्था आएको छ। भारतमा अव्यवस्थीत तरिकाले टोसिलिजुमाब प्रयोग गर्नाले अहिले राहिनोसेरेबल (rhinocerebral mucormycosis) मुयकोरमाइकोसिस ढुशीले गर्दा धेरै मानिसहरु दृष्टिविहीन, पक्षघात भई पिडीत छन् । यस ढुसीको उपचारको औषधी नपाएर अहिले हाहाकार छ ।

 

कोभिड–१९ को जटिल र अति जटिल बिरामीलाई दिनुपर्ने स्टोरियड (steroid) को अनुचित प्रयोगले पनि उपचारमा थप जटिलता ल्याएको छ। घरमा नै अक्सिजन र स्टोरियड (steroid) दुबै शुरु गर्दिने गर्नाले पनि अस्पताल पुग्दा ढिलो भइसकेको हुन्छ। घरमा आइसोलेशनमा बस्दा जोरो नाप्ने, अक्सिजनको मात्रा हेर्ने, प्रोटिन धेरै भएको खाना खाने र धेरै झोल पर्दाथ खाने । अक्सिजनको मात्रा ९४ प्रतिशत कम भए साँस प्रश्वासको शारिरिक व्यायाम गर्ने। र्पोन (Prone) अवस्थामा सुत्ने गर्दा अक्सिजन बढ्न थाल्छ । र्पोन (Prone) भनेको पेटमा सुत्ने हो । हरेक दिन १६ घण्टा जति र्पोन (Prone) मा बस्नुपर्छ । एकचोटी खाली पेट भएको बेलापारी दुई घण्टा बस्ने गर्नुहोस। मेचमा बसेर ट्राइपोड (Tripod) पोजिसनमा लामो सास लिने छोड्ने गर्नुहोस् । ट्राइपोड पोजिसन भनेको दुई कुहिनालाई थाईमा राखेर घोप्टो परी लामो लामो सास लिने हो । यस्तो कसरतले कोभिडलाई धेरै सुधार गर्ने प्रमाण भईसकेको छ । गुगलमा औषधी बारे होइन यस्तो शारिरिक व्यायामका बारे हेर्नुहोस् र अभ्यास गर्नुहोस् । 

 

यती गर्दा पनि जोरो बढ्यो र घटेन भने, अक्सिजन ९० प्रतिशतमा कायम भएन भने डाक्टरको सेवा लिनुहोस् । धेरै नै अक्सिजन घटेर कमजोर बनी पसिना पसिना भएपछि मात्र डाक्टरको सल्लाह लिँदा अफ्ठ्यारो हुन्छ । त्यसैले बेला अनुसारको काम गरिदिनुहोस् । सास बढ्दै गयो र अक्सिजन ठिक ठाउँमा भएन भने अस्पताल नै ठिक हुन्छ । अस्पतालमा डाक्टरहरुले प्रोटोकल अपनाएर उपचार गर्ने हो । प्रोटोकल अनुसार रेमडिसिभर दिनुपर्छ कि टोसिलिजुमाब या कन्भालेसेन्ट प्लाज्मा उहाँहरुलाई भन्न दिनुहोस् । मेरो बिरामीलाई किन नदिएको भनेर प्रश्न नगरिदिनुहोस् । प्रेशक्रिप्सन लिएर ठाउँ ठाउँमा न भौतारिनुहोस् । यदी त्यो प्रोटोकलमा छ भने डाक्टरले मगाउनु हुन्छ भनेर धैर्यधारण गर्नुहोस्।

 

कोरोना रोक्ने प्रयासमा सबैले सहयोग गर्नुपर्ला । कसरी गर्न सकिन्छ मनन् गर्नुहोस् ?

 

१.ज्वरो आएमा आफुलाई अलग्गै राखी आइसोलेट गर्ने । रुघा, खोकी, पेट दुख्ने, घाँटी दुख्ने सबै कोरोनाका लक्षण हुन । अहिले कुनैपनि ज्वरोलाई टाइफाइड नभन्नु होला । त्यो कोरोना नै मान्नुहोला र हल्का बिरामी भएमा घरमा नै बस्नुहोला । हल्का बिरामीका लागि इभरमेसिटिन (IVERMECTIn\ 6mg tablets) 12 एमजीको औषधी पाँचदिनसम्म दिनमा एकपटकसम्म खाँदा रोग नियन्त्रण भएको मेरो प्रत्यक्ष देखाई छ । एम्स दिल्लीले पनि होम आइसोलेसनको साधारण बिरामीलाई दिने प्रोटोकल नै अनुसरण गरेको छ । त्यसले रोगलाई झन जटिल हुन दिँदैन ।

 

.कोरोना परिक्षण गरी ढुक्क भएर अरुलाई नसर्ने गरी आइसोलेसनमा नै रहनुहोला । ज्वरो आएपनि मलाई होइन भन्दै भोज भतेर, बजारमा गई सबैलाई सार्ने काम भईरहेको छ । त्यसो नर्गनुहोला । सामाजिक दायित्व पुरा गर्नुहोला । कति परिवारमा धेरैजना संक्रमित भई बाहिर भन्दै नभनी मृत्यु हुँदा पनि अन्य तरिकाबाट पशुपति पुगेर दाहसंस्कार गरेको भेटिएको छ । कृपया त्यस्तो नर्गनुहोला ।

 

३.अहिलेको भेरिएन्ट भाइरस अति नै सर्ने खालको छ । पहिला एकजनाले दुईजनालाई सार्थे भने अहिलेकोले पाँच/छ जनासम्मलाई सर्छ । आफनो मात्र होइन अरुको पनि ख्याल गरौं ।

 

४.बाफ लिँदा भर्खर शरिरमा हावाबाट भित्रिएर घाँटी र सिनस (sinus) मा बस्न लागेको भाइरसलाई कमजोर गर्न सकिन्छ भन्ने छ । बाफ लिनु होला । बिशेष त बाहिर गएर आएपछि।

 

५.जब सास फेर्न गाह्रो हुन्छ तब स्थीतीलाई नियन्त्रण गर्न गाह्रो नै हुन्छ। हेलचक्रयाई गरी त्यो अवस्थामा नपुग्नुहोला । साँस प्रश्वासको शारिरिक अभ्यास एकदमै जरुरी छ गर्नुहोला। त्यस्तै आराम र प्रशस्त मात्रामा झोल प्रदार्थ खान पनि उत्तिकै जरुरी छ । 

 

अहिलेको कोरोना भाइरसको प्रजाती अत्यन्त कडा छ। धेरै मानिसमा सर्ने खालको छिट्टै कडा हुने खालको । यो जति धेरै मानिसमा सर्‍यो उती धेरै भेरिएन्ट बनाउन सक्षम हुन्छ । इण्डियन  भेरिएन्ट, युके भेरिएन्ट, ब्राजिल भेरिएन्ट भनेको जस्तै कडा खालको नेपाली भाइरेन्ट नबनोस् हामी सावधानी पुर्वक रहनुपर्छ । अन्त्यमा बिरामी भएर अस्पताल भर्ना हुनु भएकाहरुको शिर्घ स्वास्थ्यलाभको कामना गर्दै, यस रोगले ज्यान गुमाउनु भएका सबैमा हार्दिक श्रदाञ्जली अपर्ण गर्दछु । 

 

(Prof. Arpana Neopane is  HOD Department of Pulmonary, Critical care and Sleep Medicine at Kathmandu medical College)

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार