• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

नेपाललाई आपत्कालीन सहयोग आवश्यक : डब्ल्यूएचओ

REUTERS

काठमाडौं । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्।

 

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन्।

 

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए।

 

डा.गेहब्रेयससले भने, 'डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।' 

 

भारतसँगको तुलनामा नेपाल कहाँ?
भारतमा शुक्रवार तीन लाख ४३ हजार जनामा सङ्क्रमण र ४,००० जनाको मृत्यु पुष्टि गरिएको थियो। नेपालमा भने ८,५२० जनामा सङ्क्रमण र २०३ जनाको मृत्यु पुष्टि भएको थियो।

 

सङ्ख्यात्मक हिसाबले भिन्नता देखिए पनि जनसङ्ख्याको अनुपातमा दुई देशको तथ्याङ्क हेर्दा नेपालको स्थिति चिन्ताजनक देखिन्छ।

 

बिहीवारसम्मको अवस्थामा नेपालमा प्रति एक लाख जनसङ्ख्यामा ३१ जनामा सङ्क्रमण भएको देखिन्छ भने भारतमा सो सङ्ख्या २६ छ । भारतमा गत सातादेखि यो सङ्ख्या कम हुन थालेको छ भने नेपालमा अझै बढ्दो क्रममा रहेको देखिन्छ।

 

एक जनाबाट कति जनाको सङ्क्रमण सरिरहेछ भने देखाउने आर सङ्ख्या हेर्दा पनि नेपालको अवस्था खराब देखिन्छ। भारतमा हाल सो सङ्ख्या १.१ रहेको छ भने नेपालको १.४६ रहेको छ।

 

नेपालमा यो दर एप्रिल १० मा विश्वकै उच्च २.१ रहेकोमा बिस्तारै घट्न थालेको हो। मृत्युदर हेर्दा पनि भारतमा प्रति १० लाखमा तीन जनाको मृत्यु भएको छ भने नेपालमा सो दर ४.६ रहेको छ।

 

परीक्षण र सङ्क्रमण पुष्टिको औसत नेपालमा ४६.७ प्रतिशत रहेको छ भने भारतमा २०.२ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाउँछ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार