• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
विचार

'पत्रकारिता क्षेत्र प्रतिस्पर्दात्मक बन्दैछ'

चारबर्ष पुर्व सुकृत नेपालले ‘अंकल एउटा कुरा गर्नु थियो’ भने । दोस्रो दिन देवी सापकोटा तथा सुकृत नेपाल जोडीसँग भेट भयो। उनीहरु दुबैले बढो उत्साहित भएर अनलाइन पत्रिका प्रकाशन गर्ने जर्मको गरेको खुलासा गरे। मेरो लागि इतिहास दोहोरिएको थियो। चारदशक पुर्व बिश्वको सुप्रसिद्ध अध्यन गन्तब्य स्टैनफोर्ड बिश्वबिद्यालयबाट जर्नालिजम बिषयमा अध्ययन गरेर फर्केका मित्र किशोर नेपालले भेटमा ‘बिनोद जी मैले देशान्तरलाई नयाँ रुपमा प्रकाशन गर्दैछु तपाई आर्थिक स्तम्भ लेख्नु होस’ भनेको स्मरण गरे । त्यसबखत किशोर जी रोयटर्स न्युजको नेपाल स्थीत प्रतिनिधी हुनुहुन्थ्यो। किशोर जी कै मैले प्रत्येक हप्ता देशान्तर साप्ताहिकमा लेख्न थाले। म त्यतिबेला कृषी आयोजना सेवा केन्द्र (एप्रोक्स) को कर्मचारी थिए ।


सरकारको बिरुद्धमा लेख्यो नोकरी जाने छोराछोरीको मुखमा माड नालाग्ने । समर्थनमा लेख्ने नैतिक आधार थिएन। केही बर्षपछि अर्थ मन्त्रालयमा अर्थमन्त्री भारत बहादुर प्रधानको सौजन्यमा उहाँको सहयोगी भएर कार्य गर्न त्यस मन्त्रालय पुगे। देशान्तर प्रकाशन हुँदा पंचायती राजनीतिको जगजगी थियो । सरकारको बिरोधमा लेख लेख्दा त्यसलाई पंचायतको बिरोधमा लेखेको मानिने । पंचायतको बिरोधलाई राजाको बिरोधको रुपमा अर्थाइन् थियो। बिषय अनुसार कहिले आफ्नो नाममा त कहिले ‘दिन प्रियदर्शी’ को नाममा म लेख्ने गर्थे। अक्सर किशोर जी ले मैले लेखेको कोरा लेखलाई चित्रकारले रंग भरिदिएको जस्तो गरेर आकर्षक तुल्याई दिने। मेरो लेखको स्तर उच्च तुल्याउने उहाँको क्षमताको जति प्रशंसा गरे पनि अपुग हुन्छ। देवी सुकृत जोडीलाई मैले ‘ल शुरु गर तिमीहरु म नियमित लेख्छु’ भने। यो जोडीले पनि किशोर जी ले जस्तै गरेको आफ्नो लेखलाई सुधारी दिन्छन् भन्ने लोभ म भित्र हुने नै भयो। 

 

देवी सुकृतसंग बिदा भएपछि झल्याक सम्झिए प्रध्यापक फोल्की डोबभरीङ्ग को कथन ‘यदी सुखी दाम्पत्य जीवन बिताउनु छ भने श्रीमान श्रीमतीले कहिले पनि एउटै पेशा नगर्नु। प्राध्यापक डोबभरीङ्ग तथा श्रीमती क्यारिन डोबभरीङ्ग दुबै युनिभर्सिटी अफ इलिनोइस, अर्बानाको प्रसिद्ध कृषी अर्थशास्त्र बिषयको प्रध्यापक थिए । त्यसो त राष्ट्रपति जिमी कार्टर तथा रोजालीन कार्टर जिडीले पुस्तक लेख्दा लेख्दै झगडा चर्केर जाँदा पुस्तक तुहिएको वर्णन गरेका छन् आफ्नो एक पुस्तकमा। देवी सुकृतको जोडीबीच अनलाइन पत्रिकाले कतै झगडाको बीउ त हुँदैन भन्ने कता कता डर पनि लागेको थियो ।

 

म हुर्किए गोरखापत्र र पछि गएर राइजिङ नेपालको जमानामा। अन्य पत्रिकाहरु चारपन्ना भन्दा बढी बिरलै हुने गर्थे। निजी क्षेत्रका पत्रिका संचालकहरुको अवस्था दयनीय थियो। दुईचार साप्ताहिकले बिदेशी दुतावासको सहयोग पाउँछन् भन्ने हल्ला हुन्थ्यो । किनकी कुनै चीन, रुस, भारत तथा अमेरिकाको मुखपत्र जस्ता हुने गर्थे । तिनका कुरा अलग भयो। कार्यालयमा कुनै एक ब्यक्तिले अखबार किनेर लग्यो भने सबैले त्यो अखबार पढने गर्दथे । पाठकको संख्या धेरै भएपनि खरीद गरेर पढने औकातवाला पाठकको संख्या न्युन थियो। पत्रकार साथीहरुको आर्थिक अवस्था दयनीय हुने गर्दथ्यो ।

 

पंचायतको पतनपछिका दिनहरुमा पत्रपत्रिकाहरु थपिन थाले। अधिकांश पत्रिकाको प्रकाशन ‘मिडिया हाउस’ बाट हुने गर्दछ। पत्रकार मित्रहरुको आर्थिक हैसियत बिगतको पत्रकारहरुको भन्दा अत्यन्त सुध्रिएको छ । व्यवसायिक पत्रकारहरुको संख्या पनि बृद्धि भएको छ । प्रकाशन हुने अधिकांश लेख रचनाहरुको स्थर उच्च छ। पत्रकारिता क्षेत्रमा तिब्र प्रतिस्पर्दा छ । 

 

व्यापारिक तथा राजनीतिक ‘नेक्सस’ संग नजोडिएका अथवा ‘कनेक्सन’ बिमुख पत्रकारलाई आफ्नै बुताले पत्रिका संचालन गर्न कति कठिनाइ हुन्छ होला त्यसको अनुमान गर्न कठिन पर्दैन । नव–बिवाहित जोडीले पत्रिका प्रकाशन गर्ने भन्दा कतै यिनीहरु आर्थिक संकटको भुमरीमा त फस्दैनन भन्ने आशंका थियो मेरो मनमा । 

 

बिना बाहिरी सहयोग आफ्नै बुतामा पत्रिका संचालन आफैमा ठुलो चुनौती हो । देवी सुकृतले संघर्ष गरेर पत्रिका नियमित रुपमा प्रकाशन गरेको देख्दा अचम्म लाग्दछ। उनीहरुको सम्मान गर्दछु । आखिर संघर्ष बिना सफलता कसरी मिलोस नव–बिवाहित जोडीलाई ब्यवसायिक जीवनप्रति समर्पित हुनका निमित्त ? 

 

बिहान उठेपछि कम्प्युटर अन गर्नासाथै फ्रेसन्युज नेपाल आइहाल्छ। बेलुकी कम्प्युटर स्वीच अफ गर्नु पुर्व पनि सरसर्ती फ्रेसन्युज नेपाल पढने आदत नै बसिसकेको छ। देबी सुकृत जोडीको प्रयासले फ्रेसन्युजको स्थर निरन्तर उकालो लागेको पाउँदा हर्ष लाग्छ। स्थापित लेखकहरुको लेख पढ्न पाउँदा हर्षित हुन्छु। ब्रेकिङ्ग न्युजहरुको प्रस्तुती स्थर राम्रो छ। श्रीमान मोटरसाइकल चालक श्रीमती यात्रु भएर यो जोडीले पनि कुनैदिन हेनरी जेभीस रेमोंड तथा जर्ज जोनेसले मिलेर झन्डै दुई शताब्दी पुर्व न्युयोर्क टाइम्स संचालन गरेका थिए, त्यसैगरी फ्रेसन्युज नेपाल डट कमले पनि सफलता हासिल गरोस भन्ने शुभकामना छ ।   
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार