• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

फ्रेसन्यूजको हिम्मतलाई साधुवाद

हामीले पत्रकारितालाई हतारको साहित्य भनेर पढेका हौं । तर पत्रकारिता अब हतारको साहित्य मात्र रहेन रफ्तारको साहित्य बनेर तपाइँ हाम्रो हातमा दौडिरहेको छ । वास्तवमा हामी भाग्यमानी पुस्ता हौं । किनकी सूचना प्रविधिमा हामीलाई जस्तो तीव्र विकास र परिवर्तन भोग्ने मौका मिलेको थिएन । सोही सूचना प्रविधि अर्थात इन्टरनेटको सहायतामा गरिने अनलाइन पत्रकारिताको उपभोग यतिबेला हामी गरिरहेका छौं । विश्वलाई एउटा हातमा दौडाइरहेको अनलाइन पत्रकारिता नेपालमा अब नौलो रहेन । अनलाइन अब मुलधारको पत्रकारिता बनेर उदाइसकेको छ । साँच्चै भन्नुपर्दा एकैदिन १६ वटासम्म अनलाइन संचारमाध्यम एकैदिन सार्वजनिक हुने देश हो नेपाल । स्वदेश र विदेशमा रहेका पाठक वा भिजिटरहरुलाई सेकेन्ड र मिनेटमै सूचना वाहक बनेर अनलाइन संचारमाध्यमहरु स्थापित भइसकेका छन् ।

 

करिब दुई दशकको इतिहास बोकेको नेपाली अनलाइन पत्रकारिता मुलधारमा आउन धेरै समय कुर्नु परेन। मिडिया उद्यमीहरु अनलाइनमा लगानी गर्न उत्पेरित छन् । यतिबेला कुल संचारकर्मीहरुको संख्यामध्ये ७० प्रतिशत अनलाइनमा अभ्यस्त छन्। आफ्नो ज्ञान, सीप र श्रम खर्चिएर धेरै संचारकर्मी अनलाइन संचारमाध्यमका जागिरे भएका छन् । नेपाली संचारकर्मीको रोजगारीको ठूलो हिस्सा अनलाइन संचारमाध्यमले धानिरहेको छ । तर गुणस्तरीय र विश्वसनियताका बारेमा कतिको सजक छन् त्यसको लेखाजोखा पछि गरौंला ।


अब चर्चा गरौं फ्रेसन्यूज नेपाल डटकमको । तीन बर्ष अघि गौशाला बत्तीपुतलीको साँघुरो कोठामा दुईथान टेबुल र दुई थान कम्प्युटरका सहायतामा फ्रेसन्यूजले जन्म लियो । पंक्तिकार फ्रेसन्यूजमा छोटो समय जोडिन पाएकोमा गर्व गर्न चाहन्छ । आधा दर्जन व्यवसायिक पत्रकारको फ्रेसन्यूजको टिम निकै हिम्मतिलो थियो । यद्यपी कायम छ । करिब डेढ दशक बढीको अनुभव र सिकाइ फ्रेसन्यूज थोरै समय दिन पाएपनि त्यो मेरा लागि निकै यादगार छ । नेपाली पत्रकारिताको एक पिलर किशोर नेपालको छत्रछाँया र गाइडलाइनमा आफूहरुलाई डोहोर्‍याउने त्यसबेलाको टिम निकै उत्साहित थियो । त्यो उत्साह र जाँगर तीन बर्ष पार गर्दा थप उचाइमा पुगेको अनुभुत गराउन चाहन्छु । अनलाइन संचारमाध्यमहरु विधागत रुपमा विस्तारै स्थापित हुँदै थिए । विधागतहरु एक क्षेत्रमा खुम्चिनुपर्ने अवस्थाबाट फ्रेसन्यूजले आफूलाई अलिक पृथक र पराकिलो बनेर अघि बढ्न चाहेको थियो त्यो क्रमशः पूरा गर्दै गएको पाउँदा खुबै हर्ष लाग्छ । त्यसमध्ये पनि नेपाली कला क्षेत्रमा दुनियाँको आकर्षण बन्दै गएको नाट्य क्षेत्र अर्थात रंगमन्चलाई आफ्नो प्रमुख स्तम्भ नै बनाएर शुरुवाता गर्ने संभवत नेपाली अनलाइन पत्रकारितामा फ्रेसन्यूज नै हो पहिलो हो भनेर ठोकुवा गर्दा खेर जाँदैन । 

 

नेपाली संचारमाध्यमहरुमा लैङ्गिक विभेद नभएको होइन। यद्यपी यो कायमै छ । महिला संचारकर्मीहरुको उपस्थिति न्यून छ। संचारकर्ममा आएका महिला दिदीबहिनीहरु घर गृहस्थी शुरु गरेसँगै विस्तापित हुनुपरेको प्रशस्त उदाहरण छन्। फ्रेसन्यूजले चाहिं महिला संचारकर्मीलाई विस्थापित होइन स्थापित गरायो र सम्मानका साथ नेतृत्वदायी भूमिका अर्थात सम्पादकका रुपमा लिएर अघि बढ्यो । महिला सम्पादकको नेतृत्वमा फ्रेसन्यूजले तेस्रो बर्ष पूरा गरेको पाउँदा सिंगो टिम र अध्यक्ष तथा ब्यवस्थापन पक्षलाई साधुवाद भन्नै पर्छ। अन्तरआत्माबाट शुभकामना र आर्शिवाद भन्नैपर्छ ।

 

नेपालमा खारिएका स्तभकार र बौद्धिक बर्गलाई आफ्नो मार्गदर्शकका रुपमा लिएर अघि बढेको फ्रेसन्यूज नेपाल डटकम शुरुवातका सहकर्मीहरु रोमन आचार्य, जमिन राई, ज्योति भट्टराईलाई यहाँ स्मरण गर्नैपर्छ। अध्यक्ष तथा सह सम्पादक सुकृत नेपाल, सम्पादक देवी सापकोटाको उत्साह र जाँगरलाई जीवनभर विर्सन सकिन्न । उहाँहरुको प्रयास र हिम्मतलाई साधुवाद भन्न चाहन्छु। यो अनलाइन मुलधारको मिडिया बनेर सूचनाका भोका नागरिकलाई पलपल सूचना प्रवाह गर्न सकोस । ‘फेक’लाई निरुत्साहित गरेर र डस्टविनमा हाल्दै ‘फ्याक्ट’ सूचना बोकेर दौडिरहोस । उचाइ लिइरहोस। शुभकामना ।

 

लेखक : फ्रेसन्यूज नेपाल डटकमका संस्थापक समाचार संयोजक हुन

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार