• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

ए  हिसाब !  

ए  हिसाब !

नमिलेको तेरो त्यो बेढ़ङ्गको अनुहार लिएर

त्यसलाई मैले मिलाइदिनु पर्ने गरेर

बेला कुबेला मेरो अगाडी आएर पसारो परेर

मलाई मिलाई दे भन्दै ढिपी कसेर 

किन मलाई नै आइलाग्छास ताकेर ?

 

ए हिसाब !

मिल्नु पर्ने तैले, मिलाउनु पर्ने मैले 

त नमिल्दिंदा गालि र सजाय भोग्नु पर्ने मैले 

कत्रो अन्याय म मथि 

तेरो कारणले  मलाई बाउले पिटे, मैले सहें 

तेरो कारणले आमाको पिटाइ खाएँ, त्यो पनि सहेँ 

तेरो कारणले स्कुलका मास्टरले मलाई गालि गरे, 

गाला चड्काये, कान निमोठे, बेञ्च माथि उभ्याए,

मलाइ कुखुरो बन्न लगाए , उठबस गर्न लागाए

कहिले मलाई नै आफ्नो कान समाउन लगाए,

माफी माग्न लगाए, कहिले हातमा छडी हाने 

कहिले गोरु कुटे झैँ जताततै पिटे पिटे 

तर कहिल्यै तलाई  दोष लगाइन 

चुइक्क नगरी सप्पै दोष मेरै हो भनेर सकारें र  सहेँ 

आशुँ झरे, कसैले पुछी दिएनन्, आफैले पुछेँ 

बुझिस हिसाब !

 तैले  गर्दा हो तैले गर्दा !!

मैले केटाकेटी उमेर देखिने धेरै दुख पाँए 

तेरो त्यो नमिलेको बेढ़ङ्गे अनुहार ले गर्दा मैले कम्ता दुख पाएँ ?

तर हो मेरै गल्ति हो भनेर सकारेँ र सहेँ  

 

तैँसँग भएको एउटा उत्तर पनि सँगै नल्याएर

रित्तो हात र समस्याका साथ लठारिएर  

किन सधैँ मेरै अगाडि आएर तेर्सिन्छस् ?

तँलाई मिलाउनु पर्ने जिम्माको भारी

सधैँ मेरै टाउकोमा कहिलेसम्म ठोकी रहन्छस् ?

 

ए हिसाब !

कुनै दिन त यसो आफैं मिलेर पनि आइज न है

तँलाई चाहिने जाबो एउटा उत्तर तँ आफैंंले लिएर आइज न है

फेरि, तँ मेरै अगाडि सधैँ आउनै पर्छ भन्ने नै पो के छ ?

नेपालमा मात्रै पनि करिब तिन करोड मानिस छन्,

ती सप्पैकोमा गएर

म एउटाकोमा कहिल्यै नआए पनि त हुन्छ

आउनै परे कहिले काँही मात्रै आए पनि त हुन्छ

अनि अलि सजिलो रुप लिएर आए पनि त हुन्छ

मेरो अगाडि आएर तेर्सिनु तेरो बाध्यता हो भने पनि

कुनै दिन त सर्लक्क आफैंं मिलेर आए पनि त हुन्छ ।

 

ए हिसाब !

जहिले पनि जत्तिका तत्ती

मेरो गोरुका बाह्रै टक्का गर्दै नै आइस्

सहमति, सम्झौता र लचकता कहिल्यै जानिनस्

मलाई सधैं हैरान पारिस् र पार्दैछस्

कहिलेसम्म लखेट्छस हिसाब तँ मलाई ?

कहिले लखेट्न छोड्छस् तँ मलाई ?

 

भए जत्ति सप्पै जोडीसक्छु अनि घटाईदे भन्छस 

घटाउनु सम्म घटाइदिन्छु अनि  जोड्न पुगेन भन्छस 

जोडन र घटाउन मिलाइदिन्छु अनि भाग पुगेन भन्छस 

बराबर भाग पुर्याउन खोज्छु अनि कहिले जोड्नै पुग्याथिएन 

कहिले घटाउनै पुग्या थिएन  भनेर अलपत्रमा पार्छस 

थुईया तेरो बुद्धि, किन मलाई यति दुख दिन्छस ? 

 

आफ्नो गोजा र ब्याङ्कको हिसाब मिलायो

उता परिवार भित्रको हिसाब मिलाउन बाँकी हुन्छ

बल्ल बल्ल परिवार भित्रको हिसाब मिलाउँछु

उता देशभित्रको हिसाब मिल्दैन

त्यो मिलाए, फेरि अन्तर्राष्ट्रिय माहोलको  हिसाब मिल्दैन

सप्पै नमिली तँलाई चाहिने एउटा उत्तर आउँदैन

दुईटा उत्तर आए तेरो चित्त बुझ्दैन

उत्तर नलिई त जान मिल्दैन

तँ नगई मलाई शान्ति हुँदैन ।

 

एउटा उत्तरको लागि किन यत्रो दुख दिन्छस् हिसाब ?

अब त म पनि बुढो भएँ

हामी सँगै हुर्किएको, तेरो पनि त उमेर पुग्यो

मैले आफ्ना आवश्यकता आफैंं पूर्ति गरे झैं

तैले पनि आफ्नो उत्तर आफैंं खोज्ने गर है हिसाब

मेरा अगाडि आएर तेर्सिनै परे पनि

आफैंँ मिलेर आउने गरेस् है हिसाब

मलाई मुक्ति दे हिसाब

नमस्कार हिसाब !

बाइ बाइ हिसाब !!

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार