• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

संसद्मा आजदेखि दोस्रो चरणको खोप

काठमाडौं । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई शुक्रबारदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

 

सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ ।


पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।


सचिवालयका अनुसार शुक्रबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको छ । यस्तै शुक्रबार नै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ ।


यस्तै शनिबार सङ्घीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र सङ्घीय संसद् भवन बानेश्वर (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)का कर्मचारीलाई खोप लगाइनेछ । यस्तै, आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्यव्यक्तिलाई खोप लगाइनेछ ।



सर्वोच्च अदालतको फैसलाले पुनस्र्थापित भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन प्रारम्भअघि सांसद तथा अन्य सरोकारवाला पक्षलाई पहिलो चरणमा खोप लगाइएको थियो । फागुन १९, २० र २१ गते कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइएको थियो । गोरखापत्र  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार