• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
रंगमञ्च

म र मेरो ३६५

समयको दौडमा घडीको सुई टिक–टिक गरिरहेको थियो। रात बितेपछि बिहानीमा उदाउने घाम हेर्दा अर्को दिनको संकेत देखाईरहन्थ्यो । ती रमाइला दिनहरु आफ्नै चालमा बितिरहेका थिए। हिमाललाई बिहानीमा उदाउने घामको झुल्कोले सधैँ पोतिरहेको हुन्थ्यो ।

 

हामी पनि हिमालकै काखमा बसेर ‘प्रेमगीत ३’ को सुटिङमा थियौं । सुटिङ सकेर काठमाडौं फर्केको ७ दिनमै कोभिडको लहर आयो । मलाई लाग्यो अब फेरि घरलाई दुलो बनाएर त्यहीँ लुक्ने बेला आयो । कोभिड शुरुशुरुमा एक प्रकारको सरुवा रोग त होला जस्तो लाग्थ्यो तर पछि बिस्तारै थाहा हुँदै गयो यसले ठूलो सानो केही भन्दैन, आउँछ सरक्क लिएर जान्छ । यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको जथाभावी भीडभाडमा नहिँड्ने, भौतिक दुरी कायम गरेर चुपचाप घरभित्र बस्ने नै हो ।

 

लकडाउनमा मेरो समय यसरी नै बितिरहेको थियो। म धेरै समय त फिल्म हेरेर र किताब पढेर नै बिताइरहेको थिएँ। यसैबीच एकदिन बिहान एक्कासी एउटा यस्तो समाचार सुने जसले मलाई  छाँगाबाट खसे झैँ बनायो। हाम्रो सारै मिलनसार र आत्मीय निर्देशक दाई छेतेन गुरुङको निधन। यो खबर सुन्दा म एकछिन् त थर्थर काँपि रहेँ । मलाई नै थाहा थिएन मलाई के भईरहेको छ । भनौं के भनौं, सुनाउँ कसलाई सुनाउँ। दाईको अनुहार झलझली याद आउन थाल्यो। भोलिपल्ट अन्त्येष्टि थियो । दाईको अनुहार अन्तिम पटक हेर्ने दिन । म उहाँको अनुहार हेर्न सकिरहेको थिइनँ। श्रद्धाञ्जली दिने बेला बल्लतल्ल अनुहार हेर्ने आँट गरेँ। ठाडो केश, हँसिलो मुहार। मलाई हल्का हात अगाडि बढाउन मन लाग्यो र उहाँको कपाल सुम्सुम्याएँ, लाग्यो उहाँ एकछिनको लागि मात्र सुत्नु भएको हो। त्यसदिन पछि सबै कुराहरु सम्झनामा मात्र सीमित भए। मनमा बसेको मान्छेलाई भुलाउन साह्रै गाह्रो हुँदोरहेछ ।


समयसँगै सुतेको एउटा सपना, वियोगान्तमा डुबेको घाम जस्तै फर्केर हेर्दा आफ्नै चालमा चलेको मोटरको एक्कासी चक्काको हावा खुस्कँदा मोटर नै ढुन्मुनाएर पल्टे जस्तै कसरी बयान गरौं यो समयलाई। हिउँद बर्खा कहिले गयो पत्तै भएन। पिच रोडको यात्रा तय गर्दागर्दै कतिबेला कच्ची बाटोमा छिरे खल्ड्याङखुल्डुङ गर्ने हो भनेर पर्खे जस्तै थियो समय । गडयाङगुडुङ, हावाहुरीबाट तर्सेको मन जस्तै समय । घरको कोठामै बसिरहेको बेला भोटे कुकुरले लखेट्दाको जस्तै ढुकढुक मुटु । यो पनि एउटा समयको माग नै हो कि जस्तो लाग्छ । मनका घण्टिहरु बज्नु थियो होला सायद ।

 

पहिलो चरणको लकडाउनले धेरै कुरा सिकायो । सबै कुरा कोभिडले भन्दा पनि समयले सचेत सिकायो । कलाकार भएको हिसाबले घरमै बसेर अलिअलि सिर्जनात्मक कामहरु गर्ने मौका मिल्यो सिकाइको रुपमा दुई तीनवटा स्क्रिप्ट पनि लेखियो तर समय आफ्नै गतिमा हिँडिरहेको थियो। कतिलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्‍यायो । कसैको घरबार नै उजाड्यो । म पनि समयसँगै आफ्नै परिवेशबाट गुज्रिरहेको थिएँ। विचलित भएको थिएँ । आफूले गरेका काम रोकिएका थिए । अब सबै जनजीवन सामान्य भए हुन्थ्यो भन्ने एउटा झिनो आशा मनमा पलाउँदै थियो ।

 

रंगमञ्चमा पहिलाकै जस्तै जीवन बिताउन पाए हुन्थ्यो भन्ने लाग्न थालिसकेको थियो। ठीक सवा ५ बजे बज्ने बित्तिकै मण्डला थिएटरको घण्टीको सम्झना आउँथ्यो। त्यसको छुट्टै मजा थियो। मनमा धेरै कुराहरु खेल्थे तर सम्हालिनु त आफैंले पर्छ । आफूलाई एकदम नजिकबाट नियाल्ने मौका मिल्यो । मलाई लाग्छ सायद बिरलै मिल्छ यस्तो मौका जुन कुनै मञ्चमा देखाएको दृश्यभन्दा कम थिएन, म जे महसुस गरिरहेको थिएँ ।  अनि लेख्न थालेँ– आफ्ना भावनाहरु । धेरैजसो आफ्नै भोगाइका कथा लेख्न थालेँ । कति अझै अधुरै छन् कति पूरा भए। आफैंमा मस्त हुनु, रमाउनु र आनन्दित हुनु जति मजा केही पनि रहेनछ ।

 

बिस्तारै जनजीवन सामान्य हुँदै गएको थियो । त्यसपछि काम गर्ने जोशले मलाई उत्साहित बनाइरहेको थियो। रुखले पालुवा फेरेको जस्तै समय आयो जस्तो लाग्थ्यो । आफूलाई पहिलाभन्दा धेरै नै फरक महसुस गरिरहेको थिएँ। सधैँ चार भित्तामा मात्र चहार्ने नजरले बाहिरको माहोल देख्न थालेको थियो। आफूले रोजेको क्षेत्रका साथीभाइसँग काम शुरु गर्न थालियो। रोकिएका कामहरु फेरि गर्न थालिएको थियो। कुनै फिल्मको कथाले मोड लिए जस्तै नयाँ कथाका पाना शुरु हुँदै थियो । पाना बिस्तारै पल्टाउने कोशिश गर्न थालेको थिएँ तर पनि समयको चालले अर्कै संसारको आभास गराइरहेको थियो। बिस्तारै मण्डलामा कामको चहलपहल शुरु हुन थाल्यो ।

 

अब चाहिँ पक्कै कोभिड आउँदैन होला जस्तो लागेको थियो । तर पनि अनुहारमा मास्क त सधैँ हुन्थ्यो, नाटक मञ्चन हुन थाल्यो। सुनील पोखरेलको नाटक ‘अर्को अर्थ नलागेमा’ मञ्चन भयो । यसपछि आशाका किरण पलाउन थाले । किनकी मञ्चको अनुहार धेरैपछि देख्न पाइएको थियो । शरीरमा बिस्तारै ऊर्जा भरिँदै थियो। म लकडाउनमा सिकेका कुरालाई मूर्त रुप दिन पालो कुरेर बसेको थिएँ । केही विज्ञापनमा पनि काम गर्न थालेको थिएँ । अन्तिममा पठाओको विज्ञापन गरियो ।  धेरैपछिको नयाँ काम सारै नै खुशी लाग्यो । पुराना दिनहरु सम्झिँदै तिता–मिठा गफगाफसँगै नयाँ काम थालनी गर्ने सुरसार गर्दै थिएँ ।

 

यो मैले मात्र भोगेको समय थिएन । कोभिडले विश्वलाई त्रसित बनाएको थियो । यो समय त एकदिन फेरिन्छ मात्र कर्म गर्न छाड्नु हुँदैन। सबैलाई यसरी बस्ने मन त कसको हुन्छ र तर कोभिडको तरबारबाट जोगिनै पर्छ । फेरि केही समयपछि समयले कोल्टे फेरेर पुरानै लकडाउनको स्थितिमा फर्काएको छ ।

 

सिकाइबुझाइ र भोगाइ त पहिलाको नै छ । खाली हामीले यसलाई पार गर्दै जानुपर्छ । फेरि छिट्टै शरीरलाई नेगेटिभ बनाएर मस्तिष्कलाई पजेटिभ बनाउने बेला हो यो । म र मेरो ३६५ लाई म यसरी नै कोर्दैछु ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार