• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

‘पदमुक्त गरिदिनु भएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ’(प्रेस वक्तव्य सहित)

पोखरा । गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । आज बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा खुसी लागेको बताएक हुन ।

 

उनले आफूले पहिले नै राजीनामा दिन चाहेको कुरा पनि खुलाए। ‘मैले पहिला नै राजीनामा दिन चाहेको थिए । तर पछि पार्टीको आग्रह र अनुशासित कार्यकर्ताको नाताले बाध्य भए,’ शेरचनले भने, ‘पदमुक्त गरिदिनु भएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

 

आफू पद जोगाउन अनेक खेल खेल्ने लालची व्यक्ति नभएको भन्दै उनले आफू सधैं मार्क्सवाद र श्रमजीवी वर्गको इमान्दार योद्धाको रूपमा लागिपर्ने बताए ।

 

शेरचन नेकपा माओवादी केन्द्रका नेता हुन् । सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो। सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

 

प्रेस वक्तव्य


आदरणीय पत्रकार साथीहरु :


प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यसबीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ । यहाँहरुप्रति आभार व्यक्त गर्दछौँ ।


पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो। पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यबाद।


म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल आले र क.मोहन विक्रम सिंहजस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरेँ । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिन ।


सन्त नेता क.मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिन । पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपाच्य दृष्यहरु थोपार्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ती हुँ । म माक्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवी सर्वहाराजीवीको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्वा कार्यकर्ता पनि हुँ ।


राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिकरण गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादविरुद्वको संघर्षहरु पञ्चायत कालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौताविरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षडयन्त्र र गद्धारी गरेको छैन । न त अर्बौं कमिशन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति पनि होइन म बरु वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयातना र हजारौंपटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ । संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा हात करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस् कमरेड मदन भण्डारीको सुनियोजित हत्याकोविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ । 


आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम् बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ। 


एकपटक सबैले निधार खुम्च्याएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालीन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो । 


यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिए । कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिन । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयतार्थ सम्पादन गरेको थिएँ । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु । अन्तमा ः लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकतामा अघि बढौँ मेरो हार्दिक अपिल छ । 


अमिक शेरचन 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार