• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

‘समानता कि अन्तर’

धनी होस या गरिब जीविकोपार्जन निमित्त खट्छन उत्तिकै
गक्षानुसारको आ-आफ्नो, पसिना काढ्छन बराबरै
आ-आफ्ना परिवारका पेट पाल्छन, सुख दुख जेनतेन बाँड्छन
तर पनि फेरि यहाँ धनी मात्र किन सम्मानित हुन्छन ?

 

धनी त प्रेरणाको श्रोत रे, गरिबको मेहिनतको कदरै छैन
धनीका सफलताका कथा धेरै, गरिबको त ब्यथै होइन
पैत्रिक सम्पत्तिको भर्‍याङ चढ्ने उ, धनी, ठुलो मान्छे
दुई छाक टार्न मजदुरी गर्ने गरिबलाई कसले गन्ने ?

 

लस्कर ताँती धनीकै पछि, चर्चा उसकै सम्पत्तिको
पत्तो कहाँ हुनु र, देख्ने अन्धाहरुलाई उसको मतिको
तिनै देख्ने अन्धाहरुले गरिबको गरिबी देख्दैनन
पैसाले स्तर चिन्नेहरु, गरिबको त जिन्दगी भन्दैनन

 

चिल्ला गाडीमा सरर धनी आउँदा यहाँ बाटो खाली गरिन्छन
त्यही बाटोमै गरिब पसिना बगाइरहेका हुन्छन, बिचरा, ठेल्लिईन्छन
छलकपटको आर्जन, झुठो खेती, वाह ! रे धनी, क्या गज्जब छ
सत्यनिष्ठ-कर्मनिष्ठ, बिचरा गरिब दरिद्रमै बाँच्न मजबुर छ

 

धनी-गरिब बिचको अन्तर, अन्त्य कहिले होला
जिन्दगी सबैको उस्तै त हो, उकाली-ओराली फरक होला
अहंकारी धनी, दुखी गरिब, जिन्दगी बगिरहने खोला
सास रहुन्जेल अन्तर धनी गरिबको, मृत्यु त समानै होला
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार