• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा, जनमोर्चा लियो समर्थन फिर्ता

काठमाडौं । गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका छन । अल्पमतमा परेपछि उनी नयाँ सरकार बनाउन एमालेबाहेकका दलसँग छलफलमा जुटेका छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार धर्मराएको छ ।

 

तत्कालीन नेकपा विघटनपछि एमाले नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी र राष्ट्रिय जनमोर्चाको साथ थियो । माओवादीले आफ्ना दुई मन्त्री सरकारबाट फिर्ता बोलाइसकेको छ । माओवादीले अब सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव लैजाने बताएको छ ।

 

मुख्यमन्त्री गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका छन् । केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन यसअघि नै जनमोर्चाले फिर्ता लिइसकेको छ । 

 

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् । जनमोर्चाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङको सरकारलाई दिइएको सांसदको समर्थन पुग्दैन । ओली असंवैधानिक तरिकाले संसदको विघटन गरेपछि जनमोर्चाले उनको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको हो ।

 

अध्यक्ष केसीले वक्तव्यमा भनेका छन् ‘उनका त्यसप्रकारका क्रियाकलापहरूबाट २०६२/६३ को महान जनआन्दोलनका उपलब्धीहरु गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा उत्पन्न भएको छ। देशमा प्रतिगमनको खतरा बढेको छ । देशी–विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको छ ।’ राजनीतिक अन्योलको स्थितिको अन्त्यका लागि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नै उपयुक्त रहेको केसीले बताए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार