• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
पत्रपत्रिका

मुख्य नाकामै निर्बाध आउजाउ

काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ । मुलुकका अधिकांश जिल्लाबाट भारत आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर छ ।

 

यहाँका हेल्थडेस्क औपचारिकताका लागि मात्र राखिएको आभास हुन्छ । भारतबाट आउनेमध्ये केही यात्रुको ज्वरो मापन र विवरण लिने गरिए पनि अधिकांश यात्रु परीक्षण र विवरणबिनै आउने गरेका छन् । भारतबाट आउनेमध्ये ७० प्रतिशतभन्दा धेरै यात्रु परीक्षण नगरी भित्रिने गरेको स्थलगत निरीक्षणबाट देखिन्छ ।

 

आवागमन संख्याको तुलनामा स्वास्थ्यकर्मी र उपकरण अत्यन्त न्यून छन् । ‘नेपाल आउने सबै यात्रुको ज्वरो मापनसहित कोभिड–१९ लक्षणका बारेमा जाँच भइरहेको छ,’ रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले भने, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परिचालन गरिएको छ ।’ ज्वरो मापन गर्दा उच्च ज्वरो भेटिएका यात्रुलाई नाकामै कोभिड परीक्षण गर्ने र पोजिटिभ रिपोर्ट आएमा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाइएको उनले दाबी गरे ।

 

बेलहिया–सुनौली नाकाबाट यात्रुको आवागमन बिहानदेखि रातिसम्मै हुन्छ । भारतमा रोजगारीमा गएका, उपचार र अध्ययन गरेर फर्किने र सीमावर्ती बजारमा सामान किनमेल गरेर फर्किने नेपालीको ताँती लाग्छ भने दैनिक मजदुरीका लागि सयौंको संख्यामा भारतीय मजदुर नेपालतर्फ आउने गर्छन् । आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट आउने बिरामी, भन्सार प्रयोजनका लागि भित्रने एजेन्ट र तिनका प्रतिनिधिको चाप पनि उत्तिकै हुन्छ । मूल नाकाबाहेक खुला सिमानाबाट हुने आवागमनको त कुनै लेखाजोखा नै छैन ।

 

व्यापारिक दृष्टिले वीरगन्जपछिको दोस्रो ठूलो र भारतसँगको स्थलमार्गबाट हुने आवागमनमा पहिलो रहेको यस नाकाबाट मानिसको आवागमन अत्यधिक छ । भारतबाट व्यापारिक र औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तरकारीलगायत सामान लिएर भारतीय मालवाहक गाडी दैनिक ६र७ सयको संख्यामा यही नाका भएर आउने गर्छन् । तर बिहान ६ देखि राति १० बजेसम्म दुई अहेब र एक हेल्थ एसिस्टेन्ट पालो मिलाएर हेल्थ डेस्कमा खटिने गरेका छन् । ‘नाकामा खटिने जनशक्ति अति कम भएकाले भनेअनुरूप जिम्मेवारी निभाउन अति कठिन भएको छ,’ सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेलले भनिन् । यो नाका ७७ वटै जिल्लाका मानिसको आवागमन हुने भएकाले प्रदेश र केन्द्रले पनि जिम्मेवारी लिनुपर्ने उनले बताइन् । सिद्धार्थनगर नगरपालिकामा १४ जना स्वास्थ्यकर्मी रहेकामा चारवटा स्वास्थ्य संस्थामा दुईरदुई जनाका दरले ८ जना, एक जना ल्याबमा, दुई जना कार्यालयमा र बाँकी तीन जना नाकामा परिचालन गरिएको उनले सुनाइन् ।

 

एकजना यात्रुलाई थर्मलगनले तापक्रम लिँदा पाँचरसात जनाले सीमा पार गरिसकेका हुन्छन् । एक जनाको विवरण टिप्न थाल्दा १८र२० जना यात्रु छुटिसकेका हुन्छन् । ‘नाकामा खटिने यो जनशक्तिले आवतजावत गर्ने सबैको ज्वरो मापन र विवरण राख्न सम्भव नै छैन,’ स्वास्थ्यकर्मी विक्रम कुँवरले भने, ‘अहिले खटिएको संख्याको तेब्बर संख्यामा तत्कालै नाकामा जनशक्ति बढाउन जरुरी छ ।’ गत चैत १३ गते भैरहवामा सम्पन्न कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भारतबाट नेपाल आउने प्रत्येक यात्रुलाई ज्वरो मापन गर्नुपर्ने निर्णय गरेको थियो ।

 

सामान्य लक्षण भएरनभएको हेरेर सिमानामै स्वाब परीक्षण गरी पोजिटिभ रिपोर्ट आए अस्पताल वा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने भनिएको थियो । बेलहिया–सुनौली नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गराउन संघीय सरकारले खटाएका तीन जना स्वास्थ्यकर्मीको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । पछिल्लो पटक भारतका विभिन्न स्थानमा फैलिएको कोरोना संक्रमण नेपालमा हुन नदिन र जोखिम न्यूनीकरणका लागि सिमानामा प्रभावकारी रूपमा सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा। राजेन्द्रकुमार गिरीले बताए । ‘सम्बन्धित सबै निकायबीच समन्वय गरेर नाकामा अझ सतर्कता अपनाउन जरुरी छ,’ उनले भने, ‘स्वास्थ्य कार्यालयमा यसका लागि न बजेट छ न त जनशक्ति ।’

 

नाकामा आवश्यकताअनुरूपको स्वास्थ्य जनशक्ति उपलब्ध गराउन लुम्बिनी प्रदेश स्वास्थ्य विकास मन्त्रालयबाट समेत हुन सकेको छैन । रूपन्देहीका १६ वटा पालिकाबाट एकरएक जना स्वास्थ्यकर्मीको नाकामा परिचालन गर्ने प्रबन्ध मिलाउने हो भने पनि नाकामा स्वास्थ्य व्यवस्थापन गर्न सकिने जानकार बताउँछन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले सिमानाबाट नेपाल आउने सबै यात्रुको सुरक्षा मापदण्डअनुरूप स्क्यानिङ गरी व्यवस्थापन गरिँदै आएको बताए । नाकामा प्रारम्भिक जाँच भएर नभएको र अपनाउनुपर्ने अन्य स्वास्थ्य सुरक्षाबारे अनुगमनका लागि एकरएक दिन बिराएर चिकित्सिकसहितको टोली पठाउने गरिएको उनको भनाइ छ । माधव ढुंगाना, रूपा गहतराज/कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार