• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

लड्डु खाने र घाँस नखानेहरू

जहाँ हुटिट्याउँ
आकाश थाम्न खोजिरहेको छ
जहाँ लाटोकोसेरो देवता बनेको छ
मुस्टेले वेग हानेको हान्यै छ
विकास र समृद्धिको मात्र होइन
प्रजातन्त्र र सुशासनको
कानुनसम्मत र संविधानसम्मतको

 

भ्रष्टाचारले हाँकेको राजनीति
राजनीतिले निल्दै गरेको कानुन
छेकाएको कपडा जस्तो
सूचिकारको काँटछाँट
व्यक्तिले निल्दै गरेको पद्धति
त्यसभित्र हलचलगर्नु पर्ने, 
त्यसैभित्र बाँच्नुपर्ने
ताराहरूको आकाश चम्किलो पार्न
सातौँ आसमानमा मलाई पुराएर
मेरो नाममा आयातित यो
जहाँ मेरो हैसियत 
भोटको हाल्ने यन्त्र सरह बनेको छ 

 

भुमरीमा परेको न्यायालय
कति स्वतन्त्र, कति परतन्त्र ?
पटरीबाट ढुनमुनाएको 
एउटा प्रवृत्तिबाट निस्केको तरङ्ग
सुर नलागेको स्वर 
नेताको बैठकमा गुन्जिए जस्तो
भित्रको, अनि बाहिरको
बैठक र इजलासको दूरी 
कति टाढा, कति नजिक ? 

 

आफ्नै घरमा आगो लगाएर
पराईको घास उमार्नेहरू
एउटै भान्छाबाट खादा पनि
भन्न थालेका छन्- 'घाँस खाँदैनौ हामी'
खाने र नखाने बिचको द्वन्द्व
द्वन्द्व भित्रको द्वन्द्व बनेर
टक्कर खाको भुरुङ जस्तो
यसरी घुमेको छ 
लाग्छ, त्यो टक्क अडेको छ 
त्यही बिन्दुमा मुलुक टक्क छ अहिले

 

रेसमा पछि परेकाहरू
ठिक समयको खोजीमा
ढुकीरहेका छन् 
अगेनाको दूधको लागि
बिरालोको चालमा

 

रेसमा नपरेकाहरू
गेसगर्न पछि परेका छैनन्
समय बहकियो भने
के हो ?  के हो ?
अपुताली पनि त आउन सक्छ !

 

मृत प्रसव वेदनाबाट जन्मेकाहरू
टनेलबाट निस्केकाहरू
साउने खोलामा सकिएको भेल
मेल-मेलको खेल जित्दा
लखनउ चङ्गा चेट गर्दाको खुसी
होइन, त्यो भन्दा बढी खुसीमा
हतारिँदै लड्डु खाँदाको परिणति
अहिले मुखमा चुक अमिलो परेको छ 
दुवै हातमा लड्डु उसको 
हेक्का नै भएन लड्डु खानेहरूलाई
शिर कता र कसरी बर्सिन्छ भनेर

 

चारैतिरको डढेलो
मरुभूमिको बालुवा
नदेखिने मेरो आकाशभित्र
मिचिएको मेरो जमिन
खोसिएको पानी
थिचिएको म
चुच्चे नक्सा वितरण गर्ने, नगर्ने
रिक्तताभित्रको राष्ट्रियता
पारीको सङ्ख्या निर्धारणको नागरिकता

 

यस्तो राष्ट्रियता र नागरिकताको
सौदा बाजीको राजनीतिमा
सपना र रोमान्स जति 
सबै मलाई नै बाँडिएको छ
यसरी विस्थापित पारिँदै लगिएको म
र, स्थापित हुँदै गएको ऊ

 

यो क्रम कहिल्यै रोकिएन
रोकिन लाग्यो भने फेरि सुरु हुन्छ
नेपालको राजनीति
त्रिभुजबाट बताउँथे बिपी 
त्रिभुजको एउटा भुजामा
अहिले दुवै हातमा लड्डु लिएका,
लड्डु खानेहरू र घाँस नखानेहरू
एउटा बिन्दुमा छन् लडिरहेका
अन्त्यहीन गन्तव्यको लागि
अर्को भुजामा छन् सरहदपारी र समुद्रपारिहरु
त्रिभुजको खाली भएको भुजामा
को छ, कोही छ ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार