• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
बिश्व

म्यान्मारको स्थिति 'नियन्त्रण बाहिर जान सक्ने खतरा'

काठमाडौं । म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र 'नियन्त्रण बाहिर' जान सक्ने खतरा औँल्याएका छन्।

 

सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बीबीसीलाई बताए। उनका अनुसार म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन्।

 

तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालन गरिएको कर्कवूडले बताएका छन्। शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा निन्दा गरेको छ।

 

एक दिनअघि परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो। सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए।

 

अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो। सेभ द चिल्ड्रेनका अनुसार सैन्य कूयता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएका छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार