• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

किन ?

जसले जिन्दगीमा कहिल्यै आफ्नै कमाइको गाँस खाएन
र आफ्नै बास बनाएन
उसैले 'म देशलाई समृद्ध बनाउँछु' भन्दा 
पत्याएर त्यसका पछि लागेका किन ?


जसले देशलाई समृद्ध बनाउन थालेदेखि
देशको ढुकुटी रित्त्याएर आफु मोज गर्न थाल्योे
त्यसैले  चाँही देशमा भ्रष्टाचार निर्मुल पार्छु भन्दा पत्याएको किन ?


आफ्नै श्रीमतीबाट वाक्क भएर घुम्न हिँड्दा हिँड्दै देखिएकी 
अर्काकी श्रीमतीसँग आँखा लडाएको किन ?
तातो तेलको कराहीबाट उम्किएर 
आगोको भुङ्ग्रोमा हाम्फाल्न आँटेको किन ?


साउनमा खोलामा बाढी आउँछ भन्ने जान्दा जान्दै
जेठमा खोला किनारमा घर बनाएको किन ?


उसले सबैका बदख्वाइ गर्दै हिँड्छ भन्ने जान्दा जान्दै
त्यसैलाई कर गरिगरि घरमा बोलाएर मिठो खाना खुवाएको किन ?


ऊ आफूलाई तपाई भन्दा ठूलो विशेष मान्छे हुँ ठान्छ भन्ने जान्दा जान्दै
उसैको चाकडी गरेर बाँदरलाई भर्‍याङ चढाएको किन ?


आफन्तलाई सकिनसकि सहयोग गरेर सर्पलाई दुध खुवाएको किन
बाँदरबाट केरा जोगाउन केराको काँइयो आफ्नो टाउकोमाथि राखेको किन ?


हावामा उडेको धुलो हातले छेकेर छेकिँदैन भन्ने जान्दा जान्दै
धुलो उडेको देख्ने बित्तिकै हातले नाक मुख छोपेको किन ?


किन्नुहुन्छ तपाईंं पनि आलु चिप्सको प्याकेट
हावा सित्तै पाइन्छ भन्नुहुन्छ किन ?


चौध रुपैयाँ बस भाडा तीर्न दश र पाँचको नोट दिएपछि
कन्डक्टरले 'एक रुपैयाँ खुद्रा छैन' भन्छ भन्ने जान्दा जान्दै
जाबो एक रुपैयाँको लागि त्यो कन्डक्टरको अगाडि हात पसारेको किन ?


तपाईलाई नेता बन्नु छैन, राजनीति गर्नु पनि छैन, 
सत्तामा जाने  न सम्भावना छ, इच्छा त झन् छदैछैन 
अनि जुन बेला पनि राजनीति कै समाचार पढेर, 
राजनीति कै गफ गरेर र गफ सुनेर बिताएको किन ?


नेताले देश बिगारे तपाई नै सधैं भन्नुहुन्छ
त्यस्तालाई भोट दिएर तपाईंंले नेता बनाएको किन ?


भोलिदेखि हाकिम घर बिदा बस्दैछ भन्ने थाहा पाइपाई
'पर्सी म अफिस अलि ढिलो आउँछु' भनेर सुनाउनु परेको किन ?


जीवन बिमा गरायो भने बाँचुन्जेल पैसा तिर्नु पर्छ र 
मरेपछि एकै चोटी धेरै पैसा आउँछ,
मरेपछि पैसा के काम ? आफ्नै मृत्युसँग बाजी थापेको किन ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार