• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

कोरोनाको नयाँ लहर र वायु प्रदूषण

सन् १९१८ को स्पेनीस फ्लुको महामारीले २६ महिनाको अवधिमा झण्डै चारपटकसम्म नयाँ नयाँ रूपमा देखा परेर झण्डै ५० करोड यानी विश्वको त्यतिबेलाको जनसंख्याको एक तिहाई व्यक्तिहरुलाई संक्रमण गराएर करिव ५ करोड जतिको ज्यान लिएपछि मात्र बिदा भएको थियो । हालको कोरोना भाइरसको महामारी शुरु भएको पनि करिव १५ महिना भइसक्यो र यसले आजसम्म १२ करोड ८८ लाख व्यक्तिहरुलाई संक्रमित तुल्याइसक्यो भने २८ लाख १५ हजार जनाले ज्यान गुमाइसकेका छन् । यी मध्य संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतमा मात्र ५ करोड ५९ लाख जना संक्रमित भएका र ती मध्य १० लाख ४५ हजारको मृत्यु समेत भइसकेको छ । नेपालको कुरा गर्दा यहाँ २ लाख ७७ हजार व्यक्ति संक्रमित भएका र ती मध्य ३,०३० को मृत्यु भएको थियो ।

 

हाल आएर कोरोना भाइरस विरुद्धका कैयन् भ्याक्सीनहरुको समेत विकास, परिक्षण र उपयोग नै गर्न थालिसकिएको तथा कोरोना विरुद्ध लकडाउन, सामाजिक दुरी, सरसफाई र मास्क जस्ता सबै खाले उपायहरुको अवलम्बन पश्चात यसको संक्रमणमा पहिले भन्दा निकै कमी आइरहेको छ। मानवजाती धेरै समयसम्म प्रतिबन्ध र नियन्त्रण तथा अनुशासनमा बसिरहन नसक्ने अति चञ्चल र सम्वेदनशील प्राणी भएकोले आफ्नै हितमा गरिएका रोकटोकलाई पनि नटेरी खुला हिँड्न खोज्छन् । यस्तो अनुशासनहिनता अल्पविकसित मुलुकका मात्र नभई विकसित राष्ट्रका नागरिकहरुले पनि देखाए यसपटक। यसैको फलस्वरुप अमेरिका र युरोप जस्ता सभ्य ठाउँहरुमा पनि कोरोनाको संक्रमणमा अझै कमी आउन सकेको छैन ।अति नै बाक्लो जनघनत्व भएको मुलुक भारतको त्यस्तै हालत छ । त्यहाँ पनि पुनः कोरोनाको संक्रमणमा बृद्धि हुँदै गइरहेको छ भने अब हाम्रो दक्षिण एशियाली क्षेत्रमा यसको प्रभाव कम हुँदै जाला भन्ने आशा फेरी निराशामा बदलिँदै गइरहेको छ । यसरी भारतमा नयाँ रूपमा संक्रमण बढ्न थाले पछि भारतसँग खुला र निकै लामो सिमा भएको नेपालमा पनि यसको पुनरागमनको खतरा बढ्दै गएको छ । भारतका विभिन्न ठाउँमा लकडाउन गर्न शुरु भएसँगै त्यहाँ काम गर्ने नेपाली कामदारहरु पनि नेपाल फर्कन थालेका छन् । भारतबाट नेपाल आएका केही व्यक्तिमा संक्रमण रहेको पनि पुष्टि भइसकेको छ । गत चैतको पहिलो हप्तादेखि संक्रमणको दर विस्तारै बढ्दै गएको छ । केही हप्ता अधिसम्म दिनमा ५०–६० जना मात्र संक्रमित भेटिएकोमा यो विस्तारै बढेर दिनमा १५०–६० मा पुगेको छ भने भेन्टिलेटरमा राखिने र मृत्यु हुने विरामीहरुको संख्या पनि बढ्दै गएको छ । तर हामी कहाँ समस्याले विकराल रूप नलिउन्जेलसम्म हामी निस्फीक्री नै रहने गर्दछौँ । 

 

झण्डै एक वर्षदेखि ठप्प भएका पर्यटन, विकास–निर्माणका कार्य, उद्योगधन्दा र शैक्षिक संस्थाहरु बल्ल बिस्तारै सुचारु हुने क्रममा भएका बेला फेरी नयाँ संक्रमणको खतरा हामी सामु देखिन थालेकोले मुलुकको सबै क्षेत्र त्रसित हुनुका साथै फेरी अन्योल छाउन थालेको छ । अर्कोतर्फ मुलुकलाई सही दिशामा हाँक्नु पर्ने नेता, कार्यकर्ता र सरकार भने महामारीको कुनै ख्यालै नगरी मानिस भेला गर्ने र मुलुकको सत्तालाई आ–आफ्ना पोल्टोमा पार्ने खेलामा नै अफिम्ची पारामा व्यस्त देखिन्छन् । उता सार्वजनिक खरिद गर्ने निकायका अधिकारीहरु भने यस्तै मौकामा स्वास्थ्य सामग्रीको खरिदको नाममा अरवौँ कमाउने दाउमा बसेका हुन्छन् । यस्तो अवस्थामा एकाध सरोकारवाला निकाय र जनताले मात्र कराएर वा सुर्ता गरेर महामारी कसरी रोक्न सकिन्छ र ?

 

महामारी कै यस्तो विकराल अवस्थामा पछिल्लो एक हप्तादेखि मुलुकका धेरैजसा ठाउँका वनजंगलहरुमा डढेलो लाग्नुका साथै टाढा टाढादेखि धुवाँ र धुलो समेत उढेर नेपाल आएकाले पुरै वातावरण धुमिल हुनुका साथै कुहिरीमण्डल भएको छ । नेपालको तराई र पहाडमा मात्र नभई हिमाली क्षेत्रमा पनि यसको असर पर्न थालेको छ र विज्ञहरुको भनाई अनुसार वायु प्रदूषणको असर केही समयसम्म लम्बिने देखिन्छ । धुलो र विषालु धुवाँको मिश्रण भएकोले यस्तो वातावरणमा स्वास लिँदा पनि विषालु धुवाँ धुलो निलेर स्वास्थ्यमा गडबडी आउने र आखाँ, नाक र घाँटीमा समेत बिझाउने र पिरो हुने र पोल्ने भएको छ । वातावरणमा आएको यस्तो नकारात्मक परिवर्तनले गर्दा हवाई सेवामा पनि निकै कुप्रभाव पार्नुका साथै दिनहुँ जसो विभिन्न प्रकारका उद्धारकार्यमा जुट्नु पर्ने हेलिकप्टर सेवा पुरै बन्द भएको छ । खासगरी बच्चा, बृद्धबृद्धा र दिर्घरोगी तथा बिरामीहरुलाई यस्तो धुलो र धुवाँ मिश्रित दुषित हावाले श्वासप्रश्वास प्रणालीमा निकै नराम्रो असर पार्ने भएकोले उनिहरुको विशेष ख्याल राख्नुपर्ने अवस्था आएको छ भने स्वस्थ मानिसहरुले पनि आवश्यक कामको बेलामा मात्र नाक–मुखमा मास्क र आँखा राम्ररी छोप्ने चश्मा लगाएर मात्र खुला ठाउँमा हिँड्नु पर्ने हुन्छ । यसै सिलसिलामा सरकारले विभिन्न सञ्चार माध्यमबाट यस्तो प्रदूषणबाट बच्न लिनुपर्ने सावधानीको वारेमा सार्वजनिक सूचना प्रसारित गरिरहेको छ भने चार दिनसम्म सबै शैक्षिक संस्थाहरु पनि बन्द गरिदिएको छ ।

 

वनमा डढेलोका घटनाहरु वारे प्रत्येक वर्ष वनजंगल भएका सबैजसा देशहरुका दुखहरु सुन्न पाइन्छ। ती वाहेक तेलका खानी र भण्डारहरुमा आगलागीका खवर, ज्वालामुखीका खवर तथा गाउँशहरमा हुने आकस्मिक आगलागीका खवरहरु र मरुभूमिमा आँधी आएर धुलो उडेर निकै पर परका मुलुकहरुसम्म पुगेका खवरहरु पनि बेला बेलामा सुन्नमा आउँछन् । तर अक्सर वनमा डढेलो लाग्ने अमेरिकी मुलुकहरु र अष्ट्रेलियामा यस्ता घटनाहरुलाई न्यून विन्दुमा राख्न निकै प्रयत्नहरु गरिन्छन् र आगो निभाउने नयाँ नयाँ प्रविधि तथा डढेलोका मानव सिर्जित कारणहरुमा कडा कानुनी उपचारको व्यवस्था पनि गरिएको छ। तर नेपाल जस्ता अल्पविकसित मुलुकहरुमा चुरोट पिएर जताततै फ्याँकिदिने, विजुलीका नांगा तारहरु खतरनाक अवस्थामा यत्रतत्र छाडिदिने, इन्धन डिपो तथा पम्पहरुमा सुरक्षाको राम्रो वन्दोवस्त नगर्ने, खेतहरुमा आगो लगाउने जस्ता कार्यहरुले गर्दा पनि आगलागी र डढेलो लाग्ने गरेको छ । त्यस्तै जंगली जनावर, जडिवुटी, काठ–दाउराको तस्करी गर्ने र अझ जमीन नै हडप्ने जस्ता योजनाका साथ नियोजित तवरले वनमा डढेलो लगाउने गिरोहहरु पनिप्रसस्तै हुन सक्दछन् यस्ता मुलुकहरुमा । त्यस्तै वातावरणीय ह्रास हुने कार्यहरुमा बढोत्तरी र पानीका मूलहरु सुक्दै गएकाले पनि गर्मी, उजाडपना र डढेलो जस्ता अवस्थाहरुको सिर्जना हुने गरेको छ ।

 

वन बिनास, डढेलो तथा दैवी प्रकोपका नाममा विभिन्न किसिमका करहरु प्रत्येक वर्ष उठाइए पनि यस्ता प्रकोपबाट बच्ने तथा यीनलाई नियन्त्रण गर्ने उपायहरुको वारे कुनै अध्ययन गरेको वा कदम चालिएको पनि खासै सुन्नमा आउँदैन । नेपालमा विभिन्न प्रयोजनका लागि उठाइने करहरु तीसँग सम्बन्धित छुट्टा छुट्टै शिर्षकका कोषहरु बनाएर नराखिकन एउटै सर्वसंचिती कोषमा जम्मा गरिन्छ र जुनसुकै प्रयोजनमा पनि खर्च गरेर सक्काइन्छ। यसो हुँदा विशेष उद्देश्यको लागि उठाइएका त्यस्ता रकमहरु चाहिएको बेला उपलब्ध हुँदैनन् ।

 

त्यसै नै वातावरणीय प्रदूषण बढी भएको शहरको रूपमा काठमाडौँको नाम आउने गरेकोमा केही दिन अघि त हाम्रो राजधानी शहर र अन्य केही शहरहरुले पनि विश्व कै सबैभन्दा प्रदुषित शहरहरुको पंक्तिमा नाम लेखाए । आकस्मिक धुवाँर धुलो कै कारण काठमाडौँ थोरै समयको लागि भएपनि वेइजिङभन्दा पनि प्रदूषित बन्न गयो। मुलुकभरि नै अत्यधिक प्रदूषणले वायुमण्डल ढाकिएर सूर्यको किरण धरतीमा पुग्न नसकेकोले नेपालमा अकस्मात तापमान पनि घट्न गएको छ भने दिउँसै अन्य वखतमा भन्दा कम उज्यालो हुने गरेको छ । यस्तो अवस्थामा पानी पर्न सकेको भए प्रदूषण पनि केही हदसम्म आकाशबाट जमीनमा थिग्रिने थियो तर छोटो समयको लागि केही वर्षा भएको भए पनि भारतको राजस्थानदेखि उडेर आएको बालुवाको धुलो र डढेलोको धुवाँले फेरी आकाश ढाक्दै आइरहेको छ । त्यस्तै हावा राम्ररी चलिदिँदा पनि वायुमण्डल केही स्वच्छहुन मद्दत पुग्दछ भने हावा चलेकै कारण पनि वनजंगलको डढेलो पनि केही बढ्न पुग्यो ।

 

नेपालमा पनि छिमेकी राष्ट्र भारत, चीन र विश्व स्वास्थ्य संगठनको सहयोग र आपैmले खरिद गरेका भ्याक्सिन पनि धमाधम आउने र उपभोग गर्ने क्रममा छन् । तर सबै नागरिकले भ्याक्सिनको पुरै मात्रा लगाउन र त्यसको प्रभावकारीताबाट ढुक्क हुन अभैm केही समय लाग्नेछ । आजको यस्तो निर्णायक समयमा हामीले महामारीबाट बच्ने मुख्य तिन उपायहरु जस्तै मास्क लगाउने, हात धुने र सामाजिक दुरीमा रहने वानीलाई पनि कायमै राख्नु पर्ने हुन्छ । छिमेकी राष्ट्र भारतमा हाल आएर बढ्न शुरु भएको संक्रमणलाई नियन्त्रणमा ल्याउन भारत सरकार पनि उत्तिनै लागिपरिरहेको भएता पनि खुला सिमानाको कारण हामीले भारत आवत जावत गर्ने मानिसहरुलाई पनि केही हदसम्म नियन्त्रित गरेर खासगरी उताबाट नेपाल आउनेहरुको स्वास्थ्य जाँच तथा केही दिनको क्वारेन्टाइनको पनि व्यवस्था मिलाउनु जरुरी भएको छ भने नेपालमा संक्रमण घटेकाले सुस्ताएका स्वास्थ्य संस्थाहरुलाई पुनः तयारी अवस्थामा राख्नु पर्ने भएको छ ।

 

हालको कोरोनाको महामारी र वायु प्रदूषणको बिच एउटा निकै साझा समानता पाइएको छ। त्यो हो, यी दुवै अवस्थाले मानवजातीको छाती र श्वास–प्रश्वासमा जटिल समस्या ल्याई ज्यानसम्म लिन सक्ने। कोरोनाको भाइरसले पनि मानिसको फोक्सोमा पुगेपछि त्यहाँ नराम्ररी संक्रमण गराएर श्वास प्रणालीलाई नै खतम गरिदिन्छ भने हालको वायु प्रदुषणलाई पनि हेल्चक्¥याईँ गरेमा त्यसले पनि छातीमा नराम्ररी संक्रमण गरिदिन्छ । वायु प्रदूषणले संक्रमित तुल्याएको छातीमा कोरोनाको भाइरसको पहुँच भएमा त झन् कति छिटो मानिसलाई थला पारिदिन्छ होला हामी आपैmले कल्पना गर्न सक्ने कुरा हो । त्यसैले आज हामी निकै असहज परिस्थितिबाट गुज्रिरहेका छौँ र यो परिस्थितिलाई त्यति हलुकासँग लिन नहुने कुरा सबैले विचार गर्नु जरुरी छ । मानिस हावा विना बाँच्न नै सक्दैन र दुषित हावा खाएर पनि उ बाँच्दैन। त्यसैले हालको यस्तो परिस्थितिमा कोरोनाबाट बच्ने साधारण उपायहरुलाई पनि हामीले अवलम्बन गरि नै रहनु पर्दछ भने वायु प्रदुषणबाट बच्ने उपायहरुलाई पनि साथ साथै अवलम्बन गर्नुको विकल्प छैन ।

 

-लेखक विकास अर्थशास्त्री र पुर्व बैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार