• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

चार सयको बीउ, एक लाखको साग

धनकुटा । ६ रोपनी क्षेत्रफल भएको टाहार बारीमा रायोको साग भरिएको छ । छथर जोरपाटी गाउँपालिका–६ मझुवाकी नेत्रकुमारी विष्टलाई सागको मुठा बाँध्दै डोकोमा राखेर बिक्रीको तयारी गर्न भ्याइनभ्याइ छ । उनले महिना दिनमा १ लाख रुपैयाँको साग बेचिसकिन् । ४ सयको बीउबाट उनले यति आम्दानी हात पारेकी हुन् ।

 

माघ दोस्रो सातादेखि बेच्न थालेकी विष्टले सुरुमा मुठाको २ रुपैयाँका दरले नै १ हजार ८ सय मुठा साग बेचेको सुनाइन् । सोचेभन्दा उल्लेख्य उत्पादन भएकाले कम मूल्यमा बेच्नुपरेको उनको भनाइ छ ।

 

‘अन्य तरकारीको दाँजोमा रायोको सागबाट बर्सेनि राम्रै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘असिनाले क्षति नपुगेको भए आम्दानी अझ बढ्थ्यो ।’ सुरुमा २ रुपैयाँ मुठा बेचे पनि पछिल्लो महिनामा प्रतिमुठा ६ रुपैयाँमा बिक्री गरेको विष्ट बताउँछिन् । उनी जस्तै छिमेकी दुर्गाबहादुर थापाले पनि १ लाख रुपैयाँभन्दा बढीको साग बेचे ।

 

दुई सातापहिले असिनाले साग बालीमा सामान्य क्षति पुर्‍याए पनि अत्यधिक माग बढेकाले मनग्गे आम्दानी भएको उनको भनाइ छ । किसान दलबहादुर थापाले पनि ५० हजारभन्दा बढीको साग बेचेको बताए । मझुवा गाउँबाट यस वर्ष हालसम्म कम्तीमा १० लाखको रायोको साग बिक्री भइसकेको किसानले जानकारी दिए ।कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार