• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

प्रतिकुलतामा संघर्ष गर्नेहरुलाई – रंगमञ्च दिवसको शुभकामना

नर्स र्‍याचेटको निरंकुश निग्रानी र कठोर यान्त्रिक उपचारबाट गुज्रिरहेका ओरेगन साइकियाट्रिक हस्पिटलका मानसिक विरामीहरुको जीवन र्‍यान्डल मेक्मर्फीको आगमनसँगै एकाएक परिवर्तन हुन्छ। उपन्यासका मुख्य पात्र मेक्मर्फी साइकियाट्रिक हस्पिटलका हरेक अमानवीय र कठोर नियमहरुको विरुद्ध बाघी उभिन्छ । सबै मानसिक रोगी एकनासका हुँदैनन् भनी उनीहरुका लागि समभाव, मनोरन्जन र स्वतन्त्रताको वकालत गर्छ । उ असाइलमका अन्य “पागल”हरुलाई हाँस्न, खेल्न, नाच्न र गाउन उत्प्रेरित गर्छ । वार्डका चार कुनामा सीमित उनीहरुलाई स्वतन्त्रताको आभास महशुस गराउन उन्मुख हुन्छ। कथाको अन्त्यमा भलै आफूले सोचेजस्तो स्वतन्त्रता सबैलाई दिलाउन नसकेपनि मेक्मर्फीले एउटा विम्बात्मक प्रभाव छोडेर जान्छ । स्वतन्त्रताको आशा रोपेर जान्छ । 

 

अमेरिकी उपन्यासकार केन किजीको चर्चित कृति वान फ्लू ओभर द कुकुज नेष्टको यो परिवेश यहाँ जोड्दै म आफ्नो अनुभवसँगको एउटा समानान्तर कोर्न खोज्दै छु । गत फेब्रुअरी (२०२०) मा यो उपन्यासको नाट्य रुपान्तरण र निर्देशन गर्ने मौका मिल्यो । कुन्ज थिएटरमा यो नाटक दुई शोका लागि मञ्चन पनि भयो । तर मञ्चनको महिना दिन वित्न नपाउँदै सारा देश नै लकडाउनमा प्रवेश गर्‍यो । रंगकर्म हाइबरनेसनमा गयो। महिनौँ लामो लकडाउनमा निषेधित भइ बस्दै गर्दा किजीकै कथासार मनमा आइरह्यो । सायद गास, बास कपासको आधारभूत आवश्यकता पछि मानिसले खोज्ने भनेको स्वतन्त्रता नै रहेछ । त्यो जस्तो सुकै विधि वा परिस्थितिमा किन नहोस् । निस्फिक्री हिंड्ने स्वतन्त्रता, वेवाक बोल्ने स्वतन्त्रता र असीम सोचको स्वतन्त्रता । २०२० मा रगंमन्च सँगको सम्बन्धले मलाई फेरि यीनै कुराको स्मरण गरायो ।

 

बर्षदिन लामो विश्राममा रंगमञ्चमा उत्पादनभन्दा प्रक्रिया प्रभावकारी र महत्पूर्ण हुन्छ भन्ने मान्यता आफूभित्र झन् बलियो भएर आयो । यो अवधिभर मलाई नाटक मन्चन र ग्रहणभन्दा पनि त्यसको तयारी चरणहरुको अभाव खड्कियो । नाटक रचना गर्दा आउने पहिलो परिकल्पनाका दृश्य र त्यसले निम्त्याउने तरङ्गित भाव अनुभूति गर्न पाइएन । विद्यार्थी र सहकर्मीहरुसँग बसी गरिने रिडिङको कलेक्टिभ इनर्जी अनुभव गर्न सकिएन । रिहर्सलको पागलपनमा भिज्ने मौका मिलेन, मञ्च नजिकको तनावलाई महसुुस गर्न सकिएन । सम्रगमा भन्नुपर्दा रंगमञ्चको अस्त व्यस्थता भित्र बांच्न पाइएन । 

 

सायद नाट्यकलाको गुरुत्वाकर्षण पनि यसैमा लुकेको छ। बाहिरबाट हेर्दा सामान्य कथावाचनको विधा लागे पनि यो क्षेत्रमा आत्मसमर्पण गरी लागेकाहरुलाई यसको रसस्वादन पृथक हुन्छ । मानव भावना र अभिव्यक्ति सम्प्रेषणको यति शक्तिशाली माध्यमको लत लागेको हुन्छ । यसको माध्यमबाट आफूले पोख्न पाउने चारित्रिक कुण्ठा, उत्खनन् गर्न सक्ने सुसुप्त मनोविज्ञान, अनि खोज्न सकिने सोच, शरीर र भावनाको तादम्यताले स्वविकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले रंगमञ्चको प्रभाव नाटक मन्चनमा सीमित हुँदैन । बरु यसको झकझकाइ र झन्कारले स्वजागरण, आत्मालोचना र रचनात्मक विचार निमार्णगर्न हरेक सहभागिलाई प्रेरित गर्छ । 

 

तर कोभिड–१९ को परिदृश्यमा हेर्दा नेपाली रंगमञ्चको यो वर्षको यात्रा भने कष्ठकर देखियो । आम जीवनमा यसको अस्तित्व र महत्व अस्थायी समयका लागि भएपनि अत्यन्त गौण भइदियो । नाटकघरहरु एक वर्षभन्दा बढि ठप्प भए । निमार्णाधीन कति नाटकहरु अनिश्चितकालका लागि थन्किए । रंगकर्मीहरुमाथि आर्थिक भार चुलियो । निरन्तर अभ्यास नहुँदा कलाकारहरुमा सिर्जनात्मक चुनौतीहरु थपिँदै गए । यो सब देख्दादेख्दै र बुझ्दाबुझ्दै पनि सरकारले रंगमञ्चका लागि कुनै अभिभावकत्व देखाएन । नेपाली रंगमञ्चले फेरि एउटा बोध ग¥यो – नेपाली रंगमञ्चको आजसम्मको अस्तित्व र भोलिको भविष्य दुवै स्वतन्त्ररुपमा काम गर्दै आएका रंगसंस्थामा नै निहित रहेछ । यसमा सधैँझैँ सरकार मुकदर्शक बनेको छ । 


त्यसैले अब रंगसंस्थाहरुले आफ्नो निश्चत उद्यम संरचनानिर्माण गर्नुपर्छ । रंगमञ्चको व्यवस्थापकीय र बजार रणनीतिमा अध्ययन अनुसन्धान गर्न अत्यन्तै जरुरी भएको छ । साथसाथै, विविध क्षेत्रमा रंगमञ्चको उपयोगीतालाई अन्तर सम्बन्धित बनाउन पनि आवश्यक देखिन्छ । अभिनय र अभिव्यक्ती कला भन्दा बाहेक आमजीवनमा रंगकर्मले पार्न सक्ने सकारात्मक प्रभावलाई पनि आमजनमानसमा बुझाउन सक्नुपर्छ ।

 

अनेक अप्ठ्याराहरुको चेपमा परेको भएपनि नेपाली रंगमञ्चले यहाँ लामो बिट मार्दैन भन्ने कुरामा म विश्वस्त छु । यसको विशेषता नै यही हो । अमेरिकी निर्देशक क्यारा ग्रीन एप्स्टीनले भनेझैँ रंगमञ्चले जस्तो सुकै प्रतिकुलतामा पनि आफ्नो बाटो पहिल्याउँछ । उनी भन्छिन्, “इतिहास साक्षी छ कि रंगमञ्चले भीषण रणसंग्राम भोगेको छ, तानाशाहहरुको निरंकुशता सहेको छ र महामारीसँगै बाँचेको छ । ररंगमञ्च सदैव यसरी नै अघि बढि रहन्छ । ” निर्देशक एप्स्टीनको यो कथन नेपाली रंगमञ्चलाई पनि सान्दिर्भक भएको छ । कोरोनाले जन्माएको प्रतिकुलता बाबजुद पनि नेपाली रंगकर्मीहरुले आफ्नै गति र लयमा बाटो बनाउँदै गएका छन्। कहरबीच पनि उनीहरु चाँदीको घेरा खोज्न उत्प्रेरित छन् ।

 

यसका विविध उदाहरणहरु हामी माझ छन् । लकडाउन कालमा थिएटर मलले लिएको क्वारेन्टीन अभियान नाट्य उत्सवले रंगमञ्चका पारखीहरुलाई घरमै बसी नाटकहरुको भर्चुअल मन्चन अवलोकन गर्ने अवसर प्रदान गर्‍यो । नाटकको विशुद्ध र जीवन्त रसस्वादनको लागि त्यति उपयुक्त नभए पनि यो अभियानले आर्काइभिङ र डिस्कोर्सका लागि जे कदम चाल्यो त्यो आजको आवश्यकता मध्य एक हो। भर्चुअल प्रविधिकै भरपुर उपयोग गरेर कथाघेराले आफ्नो प्लेब्याक थिएटरलाई आजसम्म पनि निरन्तरता दिइरहेको छ । मानसिक स्वास्थ्य, लैंगिक विभेद, अन्तरद्धन्द्ध आदि विषयहरुमा यस संस्थाले निकै प्रभावकारी सिर्जनात्मक अभ्यासहरु गर्दै आएको छ । विषम परिवेशमा पनि विचार र अभिव्यक्तिको शून्यताबाट कलाकार र दर्शकलाई जोगाउन यस थिएटरले एउटा अब्बल क्याथार्टिक मन्चको निर्माण गरेको छ। त्यस्तै अर्कातिर सामाजिक–राजनीतिक चेतनालाई केन्द्रमा राखी शिल्पी थिएटरले जागरण र खबरदारीका लागि गरिरहेको रंगकर्म पनि सराहनीय छ । चाहे त्यो बलात्कारका घटनाहरु होउन् वा सरकारको जवाफहीनताका किस्सा वा संस्कृति संरक्षणका मुद्धाहरु, रंगमञ्चले बृह्त नागरिक आन्दोलनको आवाजलाई बुलन्द पार्न सशक्त भूमिका खेलिरहेकोे छ । 

 

यसरी प्रतिकुलतामा पनि नेपाली रंगमञ्चको स्पीरिट व्यूँत्याउन खोज्नेहरुकालागि अहिलेको समय निकै संवेदनशील बनेको छ । उनीहरुलाई पुनः मन्चमा फर्किनको लागि दर्शक, सहकर्मी र अन्य सरकोकारवालाहरुको सदाशयता, साथ र सहभागिता चाहिएको छ । पहिले भन्दा थप सिर्जनात्मक हुनका लागि प्रेरणाको खाँचो परेको छ । तसर्थ आशा गरौँ आउने दिनहरुमा हामी रगंमन्चका शुभ चिन्तकहरु आ–आफ्नै शैलीमा यी रंग योद्धाहरुलाई थप साहस र स्नेह दिन सकौँ । फेरि रंगमञ्चलाई उर्वर र चलायमान बनाउन सकौँ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार