• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

अपार खुसीको खोजी

खुसीका लागि आम मान्छे अनेक यत्न गर्छन् । कसैलाई घरजग्गा जोड्दा औधी खुसी लाग्दो हो । कसैको खुसीको निर्धारण महंगा गाडी–घोडाले गर्दा हुन् । कसैका खुसी नाप्ने मापदण्डहरु अरु नै होलान्  । म चाँही खुसीको निर्धारण आफै गर्छु । अर्थात म नाटक गर्छु । नाटकबाटै आफूभित्र अपार खुसी खोज्छु । खुसी पाउने लालसामा अनेक दुःख झेल्न तयार बन्छु ।  


अहिले पनि धेरैले ‘नौटंकी’ ठान्ने नाटक अर्थात रंगकर्म नै मेरो अपार खुसीको स्रोत हो । जव म यो कर्ममा थिइनँ, सायद बेखुसी मात्रै थिएँ । जव नाटकसंग जोडिएँ अपार खुसी पाए । ‘नाटकवाट पनि कमाइहुन्छ ?’, धेरैले अचम्म मानेर सोध्ने प्रश्न हो यो ।  म पनि के कम । भनिदिन्छु‘, मज्जाले हुन्छ । म खुसी छु । खुसी भन्ने कुरा पैसासंग दाँज्न मिल्दैन ।’


मान्छे सोध्छ, ‘के काम गर्छौ ?’


म गर्वका साथ भन्छु,‘नाटक गर्छु ।’


अनि मान्छे मुख विगार्छ र फेरि सोध्छ,‘नाटक ? यो पनि कहिँ काम हो र !’ 


म फेरि गर्वसाथ बोल्छु,‘यो पैैसाका लागि कारिन्दाले मालिकको सेवा गर्ने काम हैन, मान्छेले मान्छे बन्न गर्ने महान कर्म हो ।’


मान्छे ट्वाँ.... पर्छ ।  


खुसीको मुख्य स्रोत नाटक गर्न कम चुनौती भने छैन । झट्ट हेर्दा सहजै जस्तो देखिन सक्छ । तर, यसको भित्री पाटो भने ज्यादै सकसपूर्ण छ । दुखजिलो छ । दुखका बीच खुसी खोज्नु झन् कति कष्टकर होला ? म यस्तै दुखमा खुसी खोजिरहेछु । म जस्ता धेरै रंगकर्मीहरु पनि सायद मेरै नियती भोग्दै होलान् । ठ्याक्कै मेरै जस्तो दुख नहोला, तर भोगाई मिल्दोजुल्दो हुन सक्छ ।  


पछिल्लो कालखण्डमा नाटकलाई हेर्ने ‘चश्मा’ बदलिएको छ । जतिवेला नाटकबारे आम मान्छे वेखवर थिए, त्यो वेला झन् कति दुख भोग्नु भयो होला अग्रज रंगकर्मीहरुले । यतिवेला म सुनिल पोख्रेल, अशेष मल्ल, अनुप वराल, घिमिरे युवराज, राजन खतिवडा, निशा शर्मा, सिर्जना सुब्बा, आकांक्षा कार्कीहरु झल्झली सम्झिरहेको छु ।  जसको निरन्तर कर्मले आज तिरस्कृत नौटंकी सम्मानित, प्रतिष्ठित रंगकर्म बन्न पुगेको छ । यसमा रमाउने रंगकर्मी, कलाकार, अभिनेता बनेका छन् । कसैले मनग्ये अर्थोजार्जन पनि गरेका छन् । 


काठमाडौंतिर नाटक स्थापित भइसक्यो । मोफसलमा अझै गाह्रो छ । काठमाडौमा जस्तो मनग्ये दर्शक पाउन गाह्रो छ यता । नाटकबाट केही हजार बटुल्नु अनि पानीका भरमा काम गर्नु मोफसलका रंककर्मीका लागि ठूलै कुरा हुन्छ । 


अवस्था पुरै निराशाजनक पनि थिएन । आशालाग्दो र उज्यालो पाटाहरु पनि थिए । मौफसलका धेरै जिल्लाहरुमा आफ्नै नाटकघर निर्माण हुदैथियो ।  नाटक प्रतिको आम वुझाइ फेरिदै थियो । टिकट काटेरै नाटक हेर्नेको जमात बढ्दै थियो  । नाटकबाटै धेरै कलाकारको गुजारा चल्दै थियो । 


तर, अचानक कोभिड नामक भाइरस आइदियो । सिंगो संसारलाई नै आक्रान्त पारेको यो भाइरसले नेपाल जस्तो ‘फुच्चे’ देशलाई अछुतो राख्ने कुरै थिएन । धेरै पेशा व्यवसाय, उद्योगधन्दा, कलकारखाना, स्कुल, कलेज आदिलाई लगभग ध्वस्त पार्ने कोभिडले मान्छेले पेशा नै नमानेको अ(पेशा) नाट्य क्षेत्रलाई झनै वढि समस्याग्रस्त पार्यो । 


मोफसलमा धेरै नाटक घर भाडाका घरमा छन् । कतिपय सरकारी भवनमा पनि थिए। कोभिड पछि नाटकघरहरु क्वारेन्टिनमा बदलिए । यो नियती हामीले पनि भोग्यौ । क्वारेन्टिनहरु भर्खरै नाटकघरमै फर्किदै थिए । तर, दोस्रो चरणको कोभिड संक्रमण सल्किसकेको हल्लाले नाटकघर पुनः क्वारेन्टिन मै परिणत हुने कुरामा शंका छैन । 


यसले फेरि एकपटक हामी नाट्यकर्मीको मन विचलित बनाएको छ । मन रुवाएको छ ।  कसो कसो तंग्रिन थालेको नाट्य क्षेत्र पुनः घाइते बन्ने कुरा पक्कै प्रिय हुन्न । 


.......


मौसफलमा नाटकका दुख अनगिन्ती छन् । कलाकार जुटाउनु नै ठूलो चुनौती छ । अरु कुराहरुमा जस्तो नाट्यकर्मी बन्ने कुरामा परिवारको उत्प्रेरणा विल्कुल छैन। ‘पागलहरुको जमात’ मा आफ्ना छोरा छोरी पठाउन अभिभावक हत्तपत्त तयार बन्दैन अपवाद वाहेक । 


शुरुवाती दिनमा कलाकार बन्ने हुटहुटीले तानेर आएका कतिपय कलाकार केही समयपछि निरास बन्छ ।  उसले यसभित्र न पैसा देख्छ । न त भविष्य नै । निरासा बाहेक अरु केही देख्दैन । त्यसमाथि अभिभावकको दवाव सहन गाह्रो हुन्छ । अन्ततः  भविष्यको खोजीमा भौतारिन्छ । केही समय पछि ऊ पलायन हुन्छ । 


अपवाद वाहेक धेरै कलाकारको कथा यस्तै नै छ । अहिले पनि कतिपय कलाकर्मी खाडीको गर्मीमा तरतरी पसिना चुहाइरहेका छन् । 


यस्तो किन भयो त ? मलाई लाग्छ, नाटक क्षेत्र अझै पूर्ण व्यवसायिक बन्न सकेन । नाटकबाटै परिवारको गर्जो टार्ने वातावरण अझै छैन । यदि सरकारले नाट्यकर्मीको जिविकाको ग्यारेन्टी गर्ने हो भने अवस्था अर्कै हुने थियो । यो क्षेत्रवाट पलायनको दर घट्ने थियो । यही भविष्य खोज्नेहरुको संख्या बढ्ने थियो । 


ब्यवस्थापकीय पक्ष झन् जटिल हुन्छ । कम्तिमा महिना दिनको कडा मिहेनतले बल्ल  एउटा ठिकै खालको नाटक तयार हुन्छ । नाटक तयार हुँदासम्म केही आर्थिक रकम खर्च भइसकेको हुन्छ । नाटक देखाएर असुल्ने योजना हुन्छ । तर, नाटक हेर्ने दर्शक नपाउँदाको यो सव योजना भताभुंग बन्छ । 


रंगकर्मी महिलाका लागि त झन् अक्करे भीर छिचोल्नु जस्तो कठिन छ नाटक क्षेत्र । हाम्रो टिममा अधिकांश महिला नै छौ । बालबच्चा स्याहारेर, घर व्यवहार सम्हालेर, चुलो चौको सकेर भाडाको थिएटरमा जम्मा हुन्छौ । अनि रंगकर्मभित्रै भविष्य देखेर खुसी बन्ने यत्नमा सामेल बन्छौ ।

 

(लेखक परिवर्तन थिएटर झापामा आबद्ध छिन् )
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार