• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
विचार

होली ! सद्भाव कि विकृति

प्रत्येक वर्ष नेपालको पहाडी भेगमा फागुन शुक्ल पुर्णिमाको दिन र तराई तथा भारतमा त्यसको भोलिपल्ट चैत्र कृष्ण प्रतिपदाका दिन होलीको नाममा फागु मनाइन्छ। नेपालका पहाडी भेगमा पुर्णिमाको दिन मनाइने भएकाले फागु पुर्णिमा पनि भनिन्छ । जहाँ जुन दिन र जसरी मनाईने गरिएको भए पनि होली हिन्दुहरुको एक निकै पुरानो चाड हो र यो त्रेता युगदेखि मनाईँदै आएको भन्ने कथन छ । परापुर्वकालदेखि नै हिन्दुहरुले होलीलाई भाइचारा, पे्रम र वसन्त ऋतुको आगमनको खुशीयालीमा मनाउने गरेका छन् । आज आएर होली एक रमाइलो अन्तर्राष्ट्रिय चाड नै बनिसकेको छ। अन्तर्राष्ट्रिय चाडको रुपमा होलीले प्रसिद्धी कमाउनुको मुख्य कारण विश्वका विभिन्न भागमा बसोवास गर्ने भारतीय तथा नेपालीहरुले त्यहाँ पनि यो चाड उत्तिकै उल्लासका साथ मनाउने गरेकाले नै हो । उनीहरुले यसरी मनाएको देखे पछि अन्य विदेशी आफन्तहरुले समेत यो चाडमा रमाउन थालेका हुन्। नेपाल र भारतका हिन्दुहरुले मात्र नभइकन दक्षिण एशियाका कैयन् मुलुकका गैह्र हिन्दु धर्मावलम्वीहरुले पनि होली पर्व मनाउने गर्दछन्। नेपाल आउने पर्यटकहरु समेत फागुपर्वको दिन राजधानी र अन्य ठाउँका सडकहरुमा नेपालीहरु सँगै रंगीविरंगी कपडा तथा रंगहरुका साथ होली खेलेर निकै रमाउने गर्दछन् ।

 

स्पेनको वुनोल शहरबाट शुरु भएको तथा प्रत्येक वर्ष अगस्ट महिनामा मनाइने ‘ला टोमेटिना’ यानी गोलभेँडा हानेर मनाइने पर्व तथा जर्मनीको म्युनिख शहरबाट शुरु भएको प्रत्येक वर्ष सेप्टेम्बरको मध्यदेखि अक्टोवरको मध्यसम्म विभिन्न थरीका वियर पिएर मनाइने पर्व ‘अक्टोवरफेस्ट’ ले व्यापकता पाएर आज विश्वका कैयन् शहरहरुमा पनि मनाउन शुरु गरिए जस्तै होली पनि अन्तर्राष्ट्रिय पर्व बन्दै गईरहेको छ ।सामुहिक रुपमा मनाइने यस्ता रमाइला चाड पर्वहरुले आजको साइवर युगमा एकैचोटी विश्वव्यापी रुपमा मनाउन पाउनाले विश्व विस्तारै कति खुम्चिँदै र समाहित हुँदै गएको छ भन्ने कुराको पनि पुष्टि गर्दछ ।

 

समुहमा मनाइने यस्ता पर्वहरुको सबैभन्दा ठुलो विशेषता के हो भने, यीनले सामुदायिक भाइचाराको विकासका साथै समाजमा माया तथा पे्रमको भावना जगाउन मद्दत पुर्‍याउँछन् भने अर्कोतर्फ यदी यस्ता पर्वहरुमा झगडा तथा उच्छृङ्खलता मच्चाउने असामाजिक तत्वहरुले प्रवेश र महत्व पाए भने रमाइलो वातावरण जति सबै बिथोलिए र नराम्रो तथा हिंस्रक घटनामा परिवर्तन भईदिन्छ ।

 

फागु यानी होलीलाई अन्याय र अत्याचार माथी सत्यको जितको रुपमा पनि मनाउनेगरिन्छ । हिरण्यकश्यपु जस्तो दानवीय प्रवृत्तिका राजा जो भगवान विष्णुकाघोर विरोधी थिए, उनकै छोरा राजकुमार प्रह्लाद विष्णुका अनन्य भक्त भएकाले हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकाको काखमा राखेर प्रह्लादलाई आगोमा जलाउन खोज्दाअग्नि देवको नजल्ने बरदान पाएकी होलिका मात्र जलेर मरेकी तर प्रह्लाद विष्णुको शक्तिले गर्दा बाँच्न सफल भएका थिए। त्यसैले पनि सत्यवादी प्रह्लादको विजय र होलिकाको मृत्युको हर्षमा विजयको प्रतिक रातो अविर लगाएर यो पर्व मनाउन थालिएको पनि हिन्दु शास्त्र तथा दर्शनमा उल्लेख छ । भारत र नेपालको तराईका बासिन्दाहरुले होलीकालाई आगोले निलेको खुशीयालीमा त्यसको भोलिपल्ट होली मनाउँछन् भने नेपालका पहाडी क्षेत्रमा भने होलिकाको अग्नि दहन भएकै दिन यानी पुर्णिमाको दिन फागुपर्व मनाउँछन् । किरातकाल देखि नै नेपालमा यो पर्वलाई फागु भन्ने गरिन्थ्यो । त्यस्तै त्रेतायुगमा भगवान रामले रावणको वध गरेपछि उनका प्रजाहरुले धुलो रंग उडाउँदै विजय उत्सव मनाएकोले पनि त्यतिबेला देखि नै यो पर्व शुरु भएको मानिन्छ । 

 

काठमाडौँ उपत्यकामा पनि फागु पर्व पुर्णिमाको दिन मनाइन्छ । काठमार्डाँको हनुमानढोका दरवारस्थित वसन्तपुर गद्दी बैठकको दक्षिणतर्फ फागुन शुक्ल अष्टमीका दिन रङ्गीबिरङ्गी ध्वजा र छाताका साथ फागु पर्वको चीर गाडिन्छ । सो चीर ठडाउनको निम्ति गुह्येश्वरी मन्दिरमा अवस्थित वनबाट मयलको वोटको लामो हाँगा हनुमानढोकामा ल्याएर बाँसमा बाँधेर चीर बनाइन्छ । हनुमानढोकामा नै नासल चोक, मोहनकाली चोक र दाख चोकमा पनि यस्ता चीर गाडिने चलन मल्लकाल देखि नै छ । चीर गाडेर दैवी छातासहित ध्वजापताका फहराए पश्चात अविर लगाएर फागु पर्वको सप्ताह शुरु हुन्छ । गुरुज्युको पल्टन र  मानन्धरहरुले स्थानीय वासिन्दाको मद्दतमा यो कार्य गर्दछन् । चीर ठड्याउँदा गुरुज्युको पल्टनलेबन्दुकको बडाईँ पनि गर्दछन् । 

 

भक्तपुरमा पनि फागुन शुक्ल अष्टमीका दिन नै दत्तात्रेय मन्दिरको बगलमा रहेको भैरव मन्दिरको काठको लिङ्ग र रातो कपडाको योनीलाई पुजा गरेर दर्शनका निम्ति टोल–शहरमा घुमाए पछि मन्दिरको पाटीमा राखेर फागु र भोजको शुरुवात गरिन्छ । भक्तपुरमा फागुलाई यौनसँग दाँजेर भीमसेनको पुजा गरिन्छ भने भारतमा पनि कृष्ण र प्रह्लादको लीलासँग सम्बन्ध गाँसेर मनाउने प्रचलन पनि छ । चीर गाढेको एक हप्ता पछि यसलाई ढालेर फागुपर्व सकिएको मानिन्छ ।

 

तराईमा होलीको बेला ढोलक बजाएर विभिन्न रंगहरुको प्रयोग र विशेष पहिरनका साथ नाटकीय शैलीमानटुव नाच र विभिन्न लोकभाकाका गितहरुको माध्यमबाट धार्मिक कथाहरु प्रस्तुत गर्ने पनि चलन छ भने पश्चिमी तराईमा गिलो माटो छ्यापेर पनि होली मनाइन्छ । भाङ र रक्सीको नशामा नाच्दै गाउँ गाउँ डुलेर भाइचारा प्रस्तुत गर्ने अवसरको रुपमा पनि यो चाडलाई लिइन्छ ।

 

होली कै पृष्ठभूमिमा नेपाली तथा हिन्दी फिल्मी गीतहरु पनि बनेका र निकै आकर्षक तवरले छायाँङ्कन गरिएकाले त्यस्ता गितहरु सबै खाले उमेर समूहका मानिसहरुले निकै रुचाउने गर्दछन् । भारतका कैयन् प्रदेश तथा गाउँ–शहरमा त होलीको दिन हाँस्य व्यङ्ग्य कार्यक्रम तथा कवि सम्मेलनहरुको पनि आयोजना गरिन्छ । त्यस्तै नेपालको “जनकपुरमा मिथिला होली महामुर्ख सम्मेलन” को पनि आयोजना गरिन्छ । मिथिलामा पनि रावण माथि रामको जित कै विषयवस्तुमा गितहरु गाएर होली मनाइन्छ ।

 

तर केही दशक अघिसम्म पनि प्रचलित होलीको अवसरमा गाइने लोकभाकाका विशेष गितहरु भने लोपोन्मुख अवस्थामा छन् । काठमाडौँमा नै पनि फागुको चीर ठड्याएपछि एक हप्तासम्म स्थानीय भाषाका विभिन्न लोक गितहरु गाएर अविर लगाउँदै हिँड्ने प्रचलन थियो । भक्तपुरमा नौ ताल, नौ बाजा बजाएर नवरसमा नाच्दै फागु मनाइने प्रचलन थियो । तर यस्ता कुराहरु विस्तारै हराउँदै गएका छन् । जात्रा–पर्वहरुमा गाइने गित तथा बजाइने बाजाहरु समेत ओझेलमा पर्ने अवस्था आइसकेको छ, किनभने अब त्यसरी जात्रा–पर्वमा बाजा बजाउने विशेष जातीहरुमा पनि युवाहरुमा यस्ता कुराहरुमा रुचि घट्दै गएको छ तथा आजका वृद्धवृद्धाहरुसम्मलाई मात्र यो सबको ज्ञान छ । यस्तो अवस्थामा पनि बरु केही संस्थाहरुले भने धर्म र संस्कृति बचाउन कै खातिर भएपनि युवा–युवतीलाई परम्परागत बाजाहरु बजाउन सिकाउन थालेका छन् । खासगरी ललितपुर र भक्तपुर महानगरपालिकाले यस्ता त्रृmयाकलापहरुमा आर्थिक सहयोग पनि गर्ने गरेका छन् ।

 

होलीको दिन प्रयोग गरिने विभिन्न रंगका धुलोहरुलाई परापुर्वकालमा फग्वा भनिने हुनाले यो चाडको नाम नेपालमा फागु भएको हुनुपर्दछ।  विभिन्न ठाउँहरुमा जे जसरी फागु मनाइने गरिए तापनि हाल आएर फागुलाई एक प्रकारको रमाइलो गर्ने चाडको रुपमा पनि लिन थालिएको छ । दशैँ र तिहार पछिको अविरल कामधन्दाले थकित बनाएको बेलामा ठण्डी र सुख्खा मौषमको अन्त भएर वसन्त ऋतुको आगमन हुन थाले पछिको हरियाली र रङ्गीविरङगी पूmल फुल्ने मौषमको शुरुवातसँगै विभिन्न प्रकारका रंगहरु प्रयोग गरेर बाजा–गाजा र खानपिनका साथ सामुहिक रुपमा यस्तो रमाइलो चाड मनाउँदा पुनः केही समयको निम्ति परिश्रम गर्ने उर्जाको विकास हुने विश्वास लिइएको हुन्छ ।

 

हिजो आज होली कै दिनलाई भनेर विशेष डिजाइनका सेता टिसर्टहरु, पिचकारी र रंगहरु तथा बेलुनहरु पनि बजारमा बेचिन्छन्। केही उच्छृङ्खल युवाहरु भने कडा तथा नमेटिने रंगहरु, कालो मोसो तथा फोहर पानीको प्रयोग गरेर होलीको मज्जालाई नै खल्बल्याई दिन्छन् र कहिलेकाहीँ त होलीको रमाइलो नै बिथोलिएर ठुला ठुला झगडा र हिंसामा परिणत हुन पुग्दछ । रंगको एलर्जी हुने व्यक्तिहरु तथा आसौच बारेर बसेका व्यक्तिहरुलाई भने यो दिन घर बाहिर हिँड्न केही अप्ठ्यारो पनि पर्न जान्छ । त्यस्तै होलीको नाममा कडा भाङका लड्डु र सर्वत सेवन गर्ने, अधिक मदिरापान गर्ने, गाँजा–चरेश पिउने र विभिन्न थरीका लागु औषध नै खाने गर्नाले कैयन् व्यक्तिहरु निकै विरामी पर्नुका साथै बेहोशीमा अवान्छित कार्यहरु गरेर सुरक्षाकर्मीहरु र कानूनको फेलामा पनि पर्न जान्छन् । 

 

फागु कै बेला युवा युवतीहरुको भेट हुने र अरु बेला बोलचाल नभए पनि रंग फ्याँकाफ्याँक गर्दा गर्दै साथि बनिने र कहिले काहीँ त यस्तै अवसरमा अलिक नजिकको स्पर्श भएर र मन पनि मिलेर गाढा नै सम्बन्ध गाँसिन जाँदा जीवन साथि नै बनिने सम्भावना पनि हुने । त्यस्तै कैयन् कारणले बोलचाल बन्द भएका मानिसहरुको पनि होली पर्व मनाउँदा जिस्किँदा जिस्किँदै एकअर्कालाई  सांकेतिक क्षमायाचना गरेर पुराना भैmँझगडाका कुराहरु खतम भई फेरी मेलमिलाप हुन थाल्दछ ।

 

संभ्रान्त व्यक्तिहरु तथा उद्योगी, व्यापारी, कलाकार र अन्य पेशामा संलग्न व्यक्तिहरु पनि आजकल आआफ्ना समूहको भेला गरेर सेता कपडामा सजिएर होली मनाउँदछन् । त्यस्तै विभिन्न राजनैतिक पार्टीका नेताहरु समेत यो पर्व मनाउन अघि बढ्दछन् । राजा–महाराजाहरुको पालामा राजदरवारमा नै होली ठुलो समारोहका बिच मनाइन्थ्यो । आज हाम्रा नेताहरुले एक अर्काका भिन्न विचारधारा र घृणा तथा द्वेष सबै त्यागेर झनै राम्ररी होली खेलेर पुनः मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ, न की एकापसमा फोहर हिलो छ्यापाछ्याप गरेर फुट्ने र बिग्रने तथा बिगार्ने खेलमा लागेर मुलुक नै चौपटको स्थितिमा पुर्‍याउने अनि बाह्रै महिना गाइजात्राका गाइजात्रे जोकर भएर हिँड्ने ।

 

कोरोनाको चपेटामा परेको आजको समयमा फागु या होली खेल्दा पनि विशेष सतर्कता अपनाउन भने चुक्नु हुँदैन। विश्वका विभिन्न ठाउँहरुमा जस्तै भारतीय उपमहाद्वीपमा पनि पुनः नयाँ खालको कोरोनाको भाइरस देखिन थालेको यो घडीमा पर्व मनाए पनि मास्कको प्रयोग र सामाजिक दुरी कायम गरेर मात्र मनाए राम्रो हुने देखिन्छ ।  

 

होलीलाई रमाइलो सामाजिक पर्वको रुपमा मनाएर एक अर्कामा राम्रो भाइचाराको बिकास गर्ने र समाजमा सौहाद्र्रपूर्ण वातावरणको सिर्जना गर्ने पर्वको रुपमा यसलाई मनाउनुका साथै विश्वलाई नै यो पर्व उपहारको रुपमा दिन पाएमा हाम्रो धर्म र संस्कृतिको पनि जगेर्ना हुने थियो ।  

 


लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार