• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
विचार

मृत्यु अगावै मृत्यु घोषणा गर्ने हतारो

केही दिन अघि रातको २ बजे निन्द्रा खुले पश्चात निदाउन नसकेकोले म केहीबेर सामाजिक सञ्जाल फेसबुक भित्र पस्दछु । फेसबुक खोल्ने वित्तिकै चर्चित राजनीतिक व्यक्तित्व नवीन्द्रराज जोशीको निधन भएको खवर त्यहाँ पढेपछि एक्कासी म झस्किन पुग्छु। हुनत उनमा मुटुको समस्या अलिक पहिलेदेखि नै देखिएको र केही दिन अघिदेखि मस्तिष्कश्रावले गर्दा उनी अस्पतालमा भर्ना गरिएका थिए। एकचोटी भेन्टिलेटरमा राखेर तग्रिए पनि पुनः उनको स्वास्थ्यमा समस्या आएर फेरी भेन्टिलेटरमा नै राखेर उनको उपचार भइरहेको थियो। मानिसको स्वास्थ्य जति नै जटिल अवस्थामा भएको भएपनि श्वास रहुञ्जेलसम्म बाँच्ने आशा रहिरहन्छ। कैयन् विरामी परेका व्यक्तिहरु पनि चामत्कारिक तवरले बौरिएर उनीहरुले नयाँ जीवन पाएका कुराहरु हामीले नसुनेका होइनौँ । तर अस्पतालको अति सघन उपचार कक्षमा उपचाररत विरामीको बारेमा कुनै तथ्य संकलन नै नगरिकन सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्थाका बारेमा राम्रा नराम्रा जे जस्ता समाचार राखिएका भएपनि त्यस्ता घटनालाई एक प्रकारको अपराधकै रुपमा लिनुपर्ने हुन्छ।

 

व्यक्तिगत रुपमा कुनै राजनीतिक पार्टी वा विचारसँग नजिक नभएपनि असल काम गर्ने राजनीतिक नेता, समाजसेवी तथा वुद्धिजिवीहरु माथि श्रद्धाको दृष्टिले हेर्ने आदत धेरैको हुन्छ र त्यो गुण म मा पनि छ। जता हेरे पनि खराब नै खराब मात्र देखिने र सुनिने आजको नेपालको अवस्थामा नबिन्द्रराज जोशी जस्ता केही असल गुणले भरिपुर्ण व्यक्ति विरामी परेको कुरा सुन्दा जो कोहीलाई पनि दुख लाग्नु स्वाभाविकै हो। उनी विद्यार्थी संघमा थिए,चुनाव जितेर उपमेयर भए, सांसद बने, संसदीय पार्टीका प्रवक्ता भए, मन्त्रीसमेत भए, तर उनले यस्ता बदमासी गरे, यस्ता खराव काम गरे भन्ने कुरा कहिल्यै सुनिएन। बरु केही न केही राम्रा कामहरु नै गरेर सबैतिर आफ्नो छाप छोडेका थिए।

 

काठमाडौंको यटखा टोलमा सन् १९६४ मा जन्मिएका उनी खाँटी व्राह्मण परिवारका भएता पनि उनको थर, अनुहार र नेवारी राम्ररी बोल्न जान्ने खुबीले गर्दा धेरैले उनलाई नेवार परिवारका मानिस नै भन्छन्। हुनत काठमाडौँको पुरानो वस्ती शहर भनेर चिनिने टुँडिखेलको पश्चिम तिरको घना वस्तीमा घर भएका अधिकांशले नेवारी भाषा बोल्न वा बुझ्न सक्दछन्। नवीन्द्रका परिवारका निकटतम सदस्यहरु पनि निकै शिष्ट र उच्च घरानिया बोली वचनका नै छन्। उनीहरुमध्ये धेरैजना सुशिक्षित, अध्ययनशिल र सुशिल स्वभावका भएकाले नै उनीहरुले मुलुकका विभिन्न महत्वपुर्ण निकायहरुमा बसेर राष्ट्रको सेवा सफलतापुर्वक गर्ने मौका पाएका छन् । 

 

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरेका जोशी सन् १९८० मा केन्द्रिय सदस्य भएका थिए। मुलुकमा त्यतिबेला भर्खरै पञ्चायत र बहुदल मध्ये एउटा राजनीतिक व्यवस्था चुन्ने जनमत संग्रह भएको बेलामा राजनीति शुरु गरेका त्यतिबेलाका १६ वर्षे युवा नबिन्द्रले कलिलै उमेरदेखि नै प्रजातान्त्रिक समाजवादका मान्यताहरु पछ्याउने नेपाली कांगे्रसका तीन सर्वोच्च नेताहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिँह र कृष्णप्रसाद भट्टराईको सामिप्यमा राजनीति सिक्ने मौका पाए । राजनीतिलाई नै जीवनको आधार सम्झेर यसमा टाँसिएका नबिन्द्रको वैवाहिक जीवन पनि अधवैंशमा पुगेर मात्र शुरु भयो ।

 

प्रजातन्त्रको पुनस्र्थापनाको लगत्तै भएको काठमाडौं नगरपालिकाको चुनावमा बिजयी भएर नबिन्द्र २७ वर्षको कलिलो उमेरमा नै उपमेयर हुन सफल भए। त्यसबेलाका मेयर पीएल सिँह मिठो कुरा गर्न मात्र खप्पिस भएपनि उपमेयर नबिन्द्रका असल कार्यहरुले गर्दा उनीहरुको कार्यकालमा काठमाडौं नगरको वातावरणीय र साँस्कृतिक विकास तथा आधुनिकीकरणमा ठुलो योगदान पुग्यो । पीएल सिँहले भने नगरपालिकाको नयाँ भवन बनाउने भनेर भत्काएको नयाँ सडकको पुरानो भवनको ठाउँमा आजसम्म केही पनि बन्न सकेको छैन । तैपनि सिंहको उच्च पहुँच र ठुला ठुला सपना देख्ने र कुरा गर्ने बानीले काठमाडौँ नगरपालिकाले खासै पुर्वाधार नभएको अवस्थामा पनि त्यतिबेला महानगरपालिकाको खिताव हासिल गर्न सक्यो । आजको व्यस्त महानगरको रुप लिएको काठमाडौंको शुरुको विकासमा भने नवीन्द्रको भूमिकाले निकै ठुलो काम गरेको थियो ।

 

पछिल्लो समयमा प्रजातन्त्रमाथि भएका कुठाराघातहरुको विरुद्धमा नवीन्द्रले पनि निकै बुलन्द आवाज उठाउनुका साथै विरोध कार्यक्रमहरुमा भाग लिएका थिए। नम्र तथा सहृदयी आचरणका उनि सम्विधान सभाका दुवै निर्वाचनहरुमा काठमाडौँबाट विजयी भएका थिए। पहिलो निर्वाचन पश्चात उनले नेपाली काङ्ग्रेस संसदीय दलका प्रवक्ता जस्तो महत्वपूर्ण पद सफलतापूर्वक सम्हालेका थिए भने दोश्रो निर्वाचनमा विजय हासिल गरे पश्चात भने सन् २०१६ मा एक वर्षसम्म उद्योग मन्त्रीको रुपमा पनि काम गरेका थिए। छोटो समयमा पनि उनले नेपालका रुग्ण तथा बन्द भएका सरकारी उद्योगहरुलाई जोगाउन निकै कोशिश गरेका थिए। फलस्वरुप तत्कालिन शाही औषधी लिमिटेडलाई पुनर्जीवन दिन उनी सफल भए। हाल सो औषधि उद्योगले धेरै प्रकारका आधारभुत औषधीहरु उत्पादन गरिरहेको छ भने सयौँको संख्यामा रोजगारीको अवसर पनि प्रदान गरिरहेको छ। त्यतिबेला उनी एकवर्ष भन्दा बढी मन्त्री हुन पाएनन् । तर उनीसँग विस्तृत योजना र सोच थियो औद्योगिक विकासको। उनी चाहन्थे कि हेटौँडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना र गोरखकाली रवर उद्योग पनि तत्काल चालु गर्न सकियोस् । यीनका साथै मुलुकका विभिन्न ठाउँहरुमा नयाँ औद्योगिक र निर्यात प्रशोधन क्षेत्रहरु खडा गर्न पनि उनले निकै धेरै पहल गरेका थिए । तर अल्पमतको सरकारका मन्त्री भएकाले तथा उनको कार्यकाल छोटो भएकाले पनि ती सबै कार्य फत्ते गर्न उनले भ्याएनन्। हाल तयार भइसकेका निर्यात प्रशोधन क्षेत्रहरु सबै अलपत्र अवस्थामा छन् भने नयाँ औद्योगिक क्षेत्रहरुको निर्माणमा पनि ढिलाई भइरहेको छ ।

 

अक्सर भेट नहुने भएता पनि कुनै समारोहमा भेट भएर गफ्फिँदा उनी निकै दिल खोलेर कुरा गर्ने व्यक्ति हुन्। आफ्नै पार्टीका नराम्रा निर्णय र कार्यहरु वारे कसैले कुरा निकाल्यो भने पनि उनी आवेगमा नआएर ठिक कुराको समर्थन नै गदर्थे। मैले कैयन् यस्ता भेटहरुमा नेपालको विकास वारेका सुझावहरु उनलाई दिँदा उनी निकै गम्भीरतापूर्वक त्यस्ता कुराहरु सुन्ने गर्दथे । उनकै पार्टी नेपाली काङ्गे्रस वा अन्य पार्टीहरुमा पनि उनलाई मन नपराउने व्यक्ति सायदै कोही होला ।

 

पहिलो संविधानसभाको चुनाव अघि म बैंकको नोकरीको सिलसिलामा धरानमा बस्थे। त्यतिबेला नवीन्द्रराज जोशी र सपना प्रधान मल्लले धरानमा आएर दुई दिनसम्म विभिन्न स्थानीय निकायका व्यक्तिहरु, उद्योगी, व्यापारी तथा अन्य इच्छुक सर्वसाधारणलाई संविधान सभाका वारेमा विस्तृत जानकारी दिएको कुरा मेरो मानसपटलमा अझै ताजा छ। दुबैजना मेरा पहिले देखिकै परिचित व्यक्तिहरु भएकाले र त्यतिबेला संविधानसभा मेरा लागि पनि नयाँ कुरा भएकाले मैले दुबै दिन सकेसम्म दिनभर बसेर उनीहरुका प्रस्तुती र रमाइलो अन्तरक्रियामा भाग लिएको थिएँ। पछि म दुबै संविधानसभाका चुनावहरुमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको टोलीमा टोली नेताको रुपमा भरतपुर–मकवानपुर र लुम्विनी क्षेत्रमा नियोकको प्रतिनिधि भएर सामेल भएको थिएँ ।

 

नवीन्द्रराज जोशीसँगको एउटा अर्को रमाइलो प्रसंग पनि मलाई याद आइरहेको छ। यो पनि सन् २००७-८ तिरकै कुरा हुनुपर्दछ । काठमाडौंको रत्नपार्कको रानीपोखरी पट्टिको भागमा पार्क बनाएर त्यतिबेला लौहपुरुष गणेशमान सिँहको शालिक राख्ने कुरा चलिरहेको थियो। पछि शालिक अनावरण पश्चात हेर्न जाँदा त गणेशमानको शालिक त निकै पुड्को पो बनाइएको रहेछ । मुहार पनि त्यति मिलेको जस्तो थिएन। मुलुकमा प्रजातन्त्र ल्याउन त्यति विघ्न त्याग, तपस्या र काम गरेका निडर तथा वीर गणेशमानको त्यस्तो नसुहाउँदो शालिक बनाइएकोमा मेरो मन निकै विचलित भयो। त्यसको भोलिपल्ट नै मैले एउटा प्रमुख राष्ट्रिय दैनिक छापामा सम्पादकलाई पत्र पठाएँ । त्यो पत्र पढेका धेरैले मलाई धन्यवाद पनि दिए । तर त्यो शालिकको ठाउँमा अर्को राम्रो शालिक राख्ने कुराको त नाम नै लिएनन् कसैले पनि । त्यसैले एकदिन एक समारोहमा गणेशमानका पुत्र प्रकाशमान सिँहसँग भेट हुँदा मैले उनीसँग यो वारेको कुरा राखेँ । मैले उनलाई धरानमा गणेशमानको आधा कदको शालिक भएपनि अनुहार हुवहु देखिने कत्ति राम्रो शालिक बनाएर राखिएको छ तर काठमाडौं, जहाँ उनी जन्मेका हुन्, त्यहाँ भने शोभा भगवतीस्थित विष्णुमतीको किनारामा एउटा सानो शालिक राख्ने र रत्नपार्कमा पनि अनुहार न दनुवारको पुड्को शालिक राखेर गणेशमानको मानमर्दन गरेको राम्रो भएन भनेर सुनाएँ ।   

 

त्यो शालिक उनलाई पनि त्यति मन परेको रहेनछ । प्रकाशमानले मलाई उनले आफ्ना बुवाको शालिक यस्तो बनाउ भनेर भन्दा राम्रो नदेखिने भएकोले हामी जस्ता व्यक्तिहरुले सम्बन्धित निकायमा कुरा उठाइदिए उपयुक्त हुने कुरा बताए । उनले यो पनि भने कि हालै गणेशमान प्रतिष्ठानको पनि स्थापना भइसकेकोले त्यहाँ गएर सो प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीसम्म यो कुरा पुर्‍याउन सके उनले केही अवश्य गर्नेछन् । उनको सल्लाह वमोजिम म नवीन्द्रराज जोशीलाई भेट्न गएँ र उनलाई सो शालिकको अवस्था वारे विस्तृत रुपमा बताएँ । नवीन्द्रले तत्काल नै आफुले सो शालिकको निरिक्षण गर्ने र परि आएको खण्डमा सो शालिकको ठाउँमा नयाँ र उपयुक्त शालिक बनाउन लगाएर त्यस ठाउँमा राख्ने प्रतिवद्धता जनाए । त्यस्ता सकारात्मक सोच भएका व्यक्तिको कुराले मेरो मन निकै छोयो। मैले पुनः प्रकाशमान सिँहलाई अर्को पटक भेट हुँदा आफुले नबिन्द्रराज जोशीसँग भेटेर राखेको कुरा सुनाएँ । मेरो कुरा सकिने वित्तिकै उनले नबिन्द्रले उनीसँग यो वारेमा कुरा गरिसकेको र उक्त ठाउँमा नयाँ शालिक राख्नको लागि आवश्यक वजेट र योजनाको निम्ति उनले पनि आफ्नो पार्टी र सरकारसँग कुरा गरिसकेको तथा अब छिटै अडमिल्दो शालिकको ठाउँमा नयाँ र राम्रो शालिक राखिने कुरा बताए। आखिर केही समय पछि नै गणेशमान सिँहको हालको शालिक त्यहाँ अनावरण गरियो । 

 

हो, हामीलाई यस्तै खालका अनुभवी तथा खारिएका युवा राजनीतिक नेताहरुको जरुरत छ, जसले जनताका कुरा सुन्छन्, मुलुकको आर्थिक विकासका कुरामा गम्भिर भएर काम गर्छन् र सरल तथा सार्थक जीवन व्यतित गरेर आफुलाई देश र जनताका लागि समर्पण गर्छन् । नवीन्द्र जस्ता नेताहरु निकै कम मात्र देखिएका छन् हिजो आज, जो पार्टीको संगठनका निम्ति होस् वा संसदमा अनुशासित भएर रचनात्मक भूमिका खेल्न होस् वा सरकार र उच्च निकायमा बसेर मुलुक र जनताको चौतर्फी विकासमा तल्लीन हुनको लागि होस्, मरिमेटेर काम गर्छन् । यस्ता व्यक्तिहरुलाई सदा साधुवाद छ र उनीहरुका असल कार्यबाट सबै युवाहरुले मुलुकलाई माया गर्ने कला सिकुन् भन्ने हृदय देखिको कामना छ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार