• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
विचार

नारी

यसपालीको नारी दिवस केही दिन अघि मात्र सम्पन्न भयो । नेपालमा त्यसदिन सार्वजनिक बिदा दिने र केही भाषण वाला कार्यक्रमहरु सञ्चालन गर्ने वाहेक अरु खासै केही हुँदैन। नारी दिवसकै सेरोफेरोमा मुलुकमा नारीको पुनः बलत्कार र हत्या तथा मानमर्दनका साथै आत्महत्याका घटनाहरु घटे भने अर्कोतिर यस्तै समयमा केही नारीहरु उनका असल र साहसिक कार्यहरुका कारण सम्मानित पनि भए तथा देशमा नै पहिलो पटक एकजना महिला केन्द्रिय बैंककी डेपुटी गभर्नर बन्न समेत सफल भइन् ।

 

दक्षिण एसियाका अन्य मुलुकहरुका भन्दा नेपालका नारीहरु अलिकबढी सशक्त र स्वतन्त्र छन्। हाम्रो मुलुकमा हालै कुनै आमुल परिवर्तन भएर भन्दा पनि नेपाली समाज नै केही खुला प्रकारको भएकोले यस्तो कुरा सम्भव भएको हो। हिमाली नारीहरु निकै स्वतन्त्र र परिवारका अगुवा जस्ता नै हुन्छन् भने पहाडमा पनि नारीहरुको बोलवाला निकै छ । तर तराईमा भने यस्तो स्वतन्त्रता अन्य ठाउँहरुमा भन्दा केही कम पाइन्छ। वालविवाह र दाइजोको लागी हुने झमेला पनि नेपालको दक्षिणी इलाकामा अभैm बढी छ । तराइका कैयन् क्षेत्रहरुमा विवाहको लागी वर–वधुहरु अक्सर भारतीय गाउँहरुमा खोजिन्छन् । त्यसैले सिमापारीका रितीरिवाजलाई पछ्याउन हाम्रा छोरीहरु वाध्य पनि हुन्छन्। तर शिक्षाको बढ्दो पहुँचले गर्दा भने समाजमा नारीहरुको जागरणमा बढोत्तरी नै हुँदै गएको छ। धार्मिक हिसाबले हेर्दा पनि नेपालका मुस्लिम समुदायका महिलाहरु समेत अन्य अधिकांश मुलुकका सोही समुदायका महिलाहरु भन्दा केही सशक्त र अघि नै छन् । तराईको थारु समुदायमा पनि नारीहरुको बोलवाला घरपरिवारमा निकै हुन्छ। यो सब हुनुमा हाम्रो समाजमा विद्यमान खुलापन प्रमुख कारक तत्व हो ।

 

आज नेपालको अर्थतन्त्र मुख्यतय विप्रेषणबाट चलिरहेको छ। करिव ६० लाख नेपालीहरुले विश्वका विभिन्न मुलुकहरुमा विभिन्न स्तरका कामहरु गर्ने गरेका छन् । ती मध्ये अधिकांश नेपाली मजदुरी नै गर्छन् र त्यहाँ पनि पुरुष कै वाहुल्यता छ । करिव डेढ दशक अघि देखि भने महिलाहरु पनि विभिन्न कामका लागि विदेश जाने क्रम बढ्दै गएको छ भने यसरी विदेशीएका कैयन् नारीहरु माथि हुने छल, ठगी, उत्पीडन र शोषणका घटनाहरुका कहालीलाग्दा कथाहरुको संख्या पनि बढ्दो छ ।  यता विदेशीएका पुरुषहरुको संख्या अधिक भएकोले गाउँघरमा खेती देखि लिएर अन्य आयमुलक र घरायसी कामहरु गर्न महिलाहरुलाई भ्याई नभ्याई छ । तर नेपालीका साथै दक्षिण एशियाका नै महिलाहरु मेहनती र इमानदार भएकाले लघुवित्त तथा सहकारी संस्थाहरुले पनि लघु कर्जाहरु पुरुषलाई भन्दा पनि महिलालाई नै उपलव्ध गराउँदछन् । त्यसैले लघुवित्त संस्थाहरुका सदस्यहरु सबै महिला नै हुन्छन्। महिलामा परिश्रम गर्ने वानीका साथै नराम्रो कार्य हुँदा एक प्रकारको हिनता वोध हुने भएकाले ऋण लिएपछि त्यसको सही उपयोग गरेर छिटो छिटो चुक्ता गर्नुपर्छ भन्ने भावना पनि हुन्छ ।

 

नेपालमा लिच्छवी, मल्ल वा शाह वंशीय राजाहरुका पालामा पनि रानीहरु, दरवारिया महिलाहरु र भारदार तथा उच्च घरानाका महिलाहरुको बोलवाला घरपरिवारमा निकै नै धेरै हुने गर्दथ्यो । धेरै रानीहरुले मुलुकको शासनको वागडोर नै आफ्नो हातबाट सम्हालेको इतिहास छ । ब्रिटिशहरुसँगको कांगडा तथा सिन्धुलीगढी आदिका लडाईँहरुमा स्वास्नी मान्छेहरु ढाडमा बच्चा र हातमा खुकुरी बोकेर फिरङ्गीहरुसँग लड्न गएको इतिहास छ ।त्यसैले नेपाल राष्ट्रको निर्माणमा पुरुषको मात्र हात छ भनेर हिँड्नु भन्दा पहिले वीर महिलाहरुका गाथाहरु पढ्नु र सुन्नु जरुरी हुन्छ । 

 

वेलायतको यात्राबाट फर्केर आएपछि जंगबहादुरले दरवारीया छोरा मानिसहरुको लागि मात्र थापाथली दरवारमा एक विद्यालय (दरवार हाईस्कुल) खोल्न लगाए भने वेलायत कै विकासको प्रभावमा परेका देवशम्शेरले प्रधानमन्त्री हुने वित्तिकै आफ्नो दरवारमा दुई पटक महिलाहरुको वैठक (लेडिज कोर्ट) को आयोजना गरेका थिए। त्यस्तै काठमाडौँको मरुटोलमा कन्या विद्यालय पनि खोलेका थिए। उनी तिन महिनामा नै फ्याँकिएको कारणले उनले गर्न खोजेजस्तो शिक्षा क्षेत्रमा योगदान गर्न पाएनन्। वास्तवमा राणा शाषकहरुमध्ये देव शमशेर शिक्षा तथा नारी जागरणका निकै ठुला हिमायती थिए ।पछि चन्द्रशम्शेरको पालामा त शिक्षा क्षेत्र निकै समयसम्म ओझेलमा नै पर्‍यो। चन्द्रशम्शेरले बन्द गरिदिएको कन्या विद्यालय पश्चात नेपालमा धेरै वर्षसम्म कन्याहरु घरैमा अनौपचारिक शिक्षा लिन वाध्य भए। पद्मशम्शेर प्रधानमन्त्री भएपछि भने २००४ सालमा काठमाडौँको डिल्लीबजारमा पद्मकन्या स्कूल र क्षेत्रपाटीमा कन्या मन्दिर खुल्यो भने थोरै भएपनि नेपाली नारीहरु चुला–चौकाबाट बाहिर निस्किन थालेका थिए । यस्तै समयतिर जीउँदा शहिद टंकप्रसाद आचार्यकी धर्मपत्नी रेवन्तकुमारी आचार्यले जनकपुरमा नेपाल कै पहिलो महिला संगठनको स्थापना गरेकी थिइन् भने रानुदेवी अधिकारीले विराटनगरमा प्रजातन्त्रको लागि गित गाएकी थिइन् ।

 

जंगबहादुरले सतीप्रथाको अन्त गर्न खोजेका थिए तर सकेनन्। यो प्रथालाई हतोत्साहित गर्न केही नियमहरु भने उनले बनाएका थिए। आखिर उनको मृत्युको समयमा उनकै मन परेका र प्रभावशाली रानीहरुलाई छानिकन उनको चितामा राखियो । चन्द्र शमशेरले भने एकातिर सतीप्रथा उन्मुलन गर्न कडा कानुन नै बनाएर यो प्रथाको अन्त समेत गरे भने अर्को तर्फ उनका दाजु देवले खोलेको एक मात्र कन्या विद्यालय पनि बन्द गराइदिएका थिए । नेपालबाट दास–दासी र कमारा–कमारी प्रथाको उन्मुलन गर्ने श्रेय भने चन्द्रलाई नै गएको छ । उनले सन् १९२४ मा करिव ६०,००० दासदासीहरुलाई मुक्त गराई दासप्रथाको अन्त गरे । अमलेखगञ्ज त्यति नै बेला यस्ता अम्लेखहरुलाई पुनर्वास गराउन स्थापना गरिएको वस्ती थियो ।

 

नेपालमा अधिकांश आम नारीहरु आजसम्म पनि कामकाजी गृहस्थी महिला कै रुपमा बस्न वाध्य छन् र समयक्रमसँगै यस्तो परिस्थितिमा केही बदलाउ पनि आउन थालेको छ । विक्रम सम्वत २००७ साल अघिसम्म निकै थोरै संख्यामा रहेका शिक्षित नारीहरु पनि घर गृहस्थीमा नै व्यस्त हुनुपर्ने वाध्यता थियो,किनभने त्यतिबेला नारीहरुलाई अड्डामा काम लगाउने प्रचलन नै थिएन । पछि विस्तारै २००७ सालमा प्रजातन्त्रको प्राप्तिमा यस्ता शिक्षित नारीहरुको सक्रिय भूमिकाले समेत ठुलो काम गर्‍यो ।

 

आज आएर एकातिर नेपालमा बनेका सबै सम्बिधानहरु र राजनीतिक व्यवस्थाहरुले नारीहरुको हकहित र राष्ट्रमा नेतृत्वदायी भूमिका खेल्ने कुराका लागि निकै कामहरु गरेका छन् भने अर्कोतर्फ अझसम्म पनि कैयौँ भेगका महिलाहरु छाउपडी प्रथा, वालविवाह, दाइजो तथा अन्य सामाजिक कुरितीका शिकार हुन वाध्य छन्। महिलाहरु माथि विभिन्न प्रकारका भेदभावहरु गर्ने, घरेलु हिंसामा होम्ने तथा यौन तथा अन्य प्रकारका शोषण गर्ने तथा यसै क्रममा बदला साँध्न र आफुले गरेका अपराधलाई छोप्न हत्या र एसिड हमलासम्म पनि गर्न पछि नहट्ने अपराधीहरु यसै समाजमा अझै छन् । यस्ता अपराधीहरुलाई हालको विद्यमान कानुनमा अझै कडा प्रावधानहरु थपेर कार्वाही अघि बढाउनु जरुरी छ । 

 

हरेक सासु कुनै बेला बुहारी नै भएका हुन्छन् र उनीहरु मध्ये धेरैले आफ्ना सासु, ससुरा तथा परिवार र समाजका अन्य सदस्यहरुबाट विभिन्न किसिमका प्रताडना तथा घरेलु हिंसाहरु भोगेका हुन्छन्। तर जब उनिहरु सासुको खान्गीमा पुग्छन्, तब उनिहरु मध्ये धेरैले आफ्नो विगत बिर्सेर आफ्ना छोरी बुहारीमाथि पनि त्यस्तै नराम्रा व्यवहारहरु गर्न थाल्छन्। त्यसैले यस्ता सामाजिक विकृतिहरु समाजबाट हटाउनका लागि खासगरी नारीहरुले नै नारीहरुको मानसिकता बदल्ने सामाजिक परिवर्तनकारी क्रियायाकलापहरु अघि बढाउनु पर्दछ । समाजमा रहेका अन्य विकृतिहरु र पछिल्ला समयमा आयात भएका विसंगतीहरुलाई पनि रोक्न सक्नु पर्दछ । धेरै नारीहरु घरेलु हिंसाबाट मात्र पिडित छैनन्, बरु समाजमा कैयन् यस्ता नारीहरु पनि छन् जो विभिन्न कुलतमा लागेरआफ्ना पुरुष समकक्षीहरुसँगै मिलेर सोझा साझा नारीहरु र पुरुषहरुलाई समेत गलत बाटाहरुमा धकेल्ने र नचाहिँदा झमेलामा पार्ने कुकार्य गर्दछन् । त्यस्ता तत्वहरुलाई पनि कडा कानुनका साथै आवश्यक परामर्शको सहायताले असल बाटोमा लाग्न प्रोत्साहित गर्नुपर्दछ ।

 

विपन्न तथा खासगरी गाउँघरमा बस्ने महिलाहरुलाई अझै पनि घरधन्दाको कामले गर्दा कहिल्यै फुर्सद मिल्दैन । त्यस्तै शहरी क्षेत्रमा पनि गरिव र मध्यम वर्गको परिवारका पुरुष र महिला दुवैले काम नगरीकन घरपरिवार धान्न निकै हम्मे पर्दछ । नेपालमा अभैm पनि घरपरिवारको काममा पुरुषहरुले खासै नसघाउने परिपाटी छ। घरायसी काम गर्ने महिलाहरुले मुलुकको अर्थ व्यवस्थामा गरेको योगदानको कुनै लेखाजोखा हुँदैन, बरु उनीहरुले हप्ता, महिना वा वर्षमा कहिल्यै पनि एकदिन अलिक ढिलोसम्म सुतेर वा घरका पुरुषहरुको सहयोग पाएर थोरै थकाई मार्ने पनि अवसर आउँदैन । वर्षमा एकदिन आउने नारी दिवस र तीज पर्वको विदामा पनि कैयन् पुरुषहरुले घरमा साथीहरु बोलाएर महिलाका दैनिक कामलाई झनै बढाइ दिन्छन् ।

 

धार्मिक हिसाबले पनि नारीहरुलाई निचा बनाउने कार्य प्रायः सबै धर्महरुले गरेका छन् । महिलाहरु धर्म गुरु वा धर्मका सर्वोच्च व्यक्तित्व हुन नपाउने, महिलाहरुले समाजमा नेतृत्वदायी भूमिका खेल्नु अशोभनिय हुने, महिलाहरुले आफ्नो शरीर पुरै ढाक्ने खालका कपडाहरु मात्र लगाउनु पर्ने, महिलाहरु सडक वा सार्वजनिक स्थलहरुमा एक्लै जान नहुने, महिलाहरुले शिक्षा प्राप्त गर्न नहुने, महिलाहरु कलाकारिता, फेसन र खेलकुद जस्ता क्रियाकलापमा लाग्न नहुने, आदि इत्यादी कुराहरु सरकारी स्तरमा नै वा सामाजिक रुपमा विश्वका विभिन्न मुलुकहरुमा अभैm पनि विद्यमान छन् । हालै एक अफ्रिकी मुलुकमा विद्यालयमा अध्ययनरत थुप्रै छात्राहरुलाई अपहरण गरिएको घटना र अन्य मुलुकहरुमा विभिन्न पेशामा लागेका नारीहरुलाई दिएका नचाहिँदा सजायहरुबाट पनि यस्ता कुराहरुको पुष्टि हुन जान्छ ।

 

समाजमा हुने नराम्रा पक्षहरु चाँडो उजागर हुने भएता पनि नारीहरुको उत्थानमा भएका राम्रा पक्षहरु पनि धेरै छन् । हाल नेपालमा नारीहरुको उत्थानको कार्य निकै तिव्र गतिमा भइरहेको छ । शिक्षा क्षेत्रमा पनि झण्डै आधा जस्ता विद्यार्थीहरु छात्राहरु नै छन् । राजमार्गहरुमा जाँदा विद्यालय जान लागेका विद्याथीहरुको झुण्डमा छात्राहरुको संख्या नै धेरै देखिन्छ । तर घरायसी विपन्नताका कारण खासगरी गाउँले छात्राहरुले उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने वाध्यता पनि छ । त्यसैले पनि सरकारले क्रमिक रुपमा सबै खाले शिक्षालाई निशुल्क बनाउँदै लग्नु पर्नेछ र यो त्यति सजिलो कार्य भने होइन ।

 

अर्कोतर्पm व्यावसायिक शिक्षामा सरकारले अहिलेको भन्दा पनि धेरै जोड दिनु पर्नेछ । विभिन्न प्रकारका व्यावसायिक कार्यहरु निपुणताका साथ गर्न सक्ने बनाइएमा पुरुष र महिला सबैले मुलुक भित्र र मुलुक बाहिर पनि राम्रा कामहरु पाउने थिए भने आपैmले समेत त्यस्ता कामहरु थालेर अन्य व्यक्तिहरुलाई रोजगारी समेत दिन सक्ने थिए ।

 

आज नेपालमा करिव ११वटा विश्वविद्यालयहरु र यिनको मातहतमा झण्डै १,५०० क्याम्पसहरु सञ्चालनमा छन् र यीनमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ३ लाख ७० हजार जति छ, जस मध्ये करिव ४८ प्रतिशत छात्राहरु छन्। त्यस्तै हाल नेपालमा करिव ४५ वटा विभिन्न विधाका इन्जिनियरिङ कलेजहरु सञ्चालनमा छन् भने करिव २ दर्जन चिकित्सा शास्त्र अध्ययन संस्थानहरु छन् ।आज नेपालमा प्रसस्त संख्यामा कृषि, व्यवस्थापन, लेखा, अर्थशास्त्र, मानविकी, समाज शास्त्र, भाषा, संस्कृति, कानुन, होटल व्यवस्थापन, संगीत, मानव संशाधन, प्राविधिक सीप विकास, कम्प्युटर र सूचना प्रविधि, आदिका महाविद्यालयहरु छन् र यीनै शिक्षण संस्थाहरुबाट उत्पादन भएका शिक्षित युवाहरुबाट आज मुलुक चलायमान छ । यसका साथै विदेशमा गएर अध्ययन गर्ने छात्रछात्राहरुको संख्या पनि निकै धेरै छ । 

 

आज नेपालमा करिव ३६ हजार विद्यालयहरु छन् भने कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको संख्या नै ७५ लाख पुगिसकेको छ र त्यसमा पनि छात्राहरु झण्डै ५१ प्रतिशत छन्। यो एउटा निकै गर्वको कुरा हो कि नेपालमा छात्राहरु छात्रहरुको हाराहारीमा नै छन् । नेपालको विद्यालय तहको शिक्षण पेशामा करिव ३ लाख ५० हजार जना व्यक्तिहरु संलग्न छन् भने ति मध्ये एक तिहाई संख्या महिलाहरुको छ।

 

विभिन्न व्यवसाय जस्तै चिकित्सक, इन्जिनियर, विमान तथा अन्य सवारी चालक र सहयोगीहरु, उद्योग तथा व्यापार, बैंकिङ, सुरक्षा निकाय, सरकारी सेवा, कलाकारिता, खेलकुद, समाज सेवा, राजनीति आदि सबै खाले व्यवसायहरुमा महिलाहरुले अग्रणी भूमिका खेल्न थालेका छन् । नेपाल राष्ट्रको न्यायपालिका र व्यवस्थापिकाका प्रमुख र राष्ट्रपति जस्ता महत्वपुर्ण पदहरुमा समेत नारीहरु आसिन भइसकेका छन् भने कार्यपालिकाको प्रमुख पदमा भने पुग्न अभैm बाँकी छ ।

 

यसरी नेपाली नारीहरु एकतर्फ विश्वका अग्रणी नारीहरु कै हाराहारीमा पुगिसकेका छन् भने अझै लाखौँ नारीहरु पुरातन सामाजिक परिवेश र विभिन्न खाले भयावह हिंसाका सिकार पनि भइरहेका छन्। सामाजिक अग्रगमनसँगै दुखमा परेका नारीहरुलाई उकास्ने कार्यमा समाजका सबैअंग र हिस्सेदारहरुले आआफ्ना किसिमले भूमिका खेलिदिए महिला उत्थानमा ठुलो मद्दत पुग्ने थियो ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्) 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार