• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोना फाइनलमा

काठमाडौं ।  स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो ।

 

पहिलो लेगको खेलमा सेभियाले २-० को जित दर्ता गरेपछि बार्सिलोना घरेलु मैदानमा निकै दबाबमा रहेको थियो । कम्तिमा २-० को जित निकाल्नुपर्ने खेलमा बार्सिलोनाले सुखद सुरुवात पनि गर्यो । 

 

खेलको ११ औं मिनेटमा ओस्मान डेम्बेलेले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । डिफेन्सले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रबाट बाहिर ल्याएर उनले गरेको प्रहार गोलरक्षक भाच्लिक्ले ठम्याउन नसक्दा सिधै गोल भएको थियो ।

 

खेलको दोस्रो हाफमा सेभियाले फाइनलमा स्थान पक्का गर्ने सुवर्ण अवसर खेर फालेको थियो । ७१ औं मिनेटमा ओस्कार मिन्गुएजाले पेनाल्टी क्षेत्रभित्र लुकास ओकाम्पसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर ओकाम्पसको प्रहरलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै बार्सिलोनाको सम्भावना जीवित राखे ।

 

इन्ज्युरी समयको पहिलो मिनेटमा फर्नान्डोले ट्रीनकाओलाई लडाएपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड दिए । १० खेलाडीमा समेटिएको सेभियाले इन्ज्युरी समयमा प्राप्त कर्नर क्लियर गर्न नसक्दा आएको रिबाउन्डमा ग्रिजमनको क्रसमा पिकेको हेडरमार्फत बार्सिलोना खेलमा फर्किएको थियो ।

 

खेल समग्रमा २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा बार्सिलोनाले सुरुवातदेखि नै दबाब बनायो । १० खेलाडीमा सिमित सेभिया चौथो मिनेटमा नै १ गोलले पनि पछि पर्यो । जोर्डी अल्बाको क्रसमा मार्टिन ब्रेथवेटको हेडर गोलरक्षक भाच्लिकलाई लाग्दै गोलमा परिणत भयो । सेभियाले त्यसपछि एक गोल गरेको भएपनि अवे गोलको आधारमा फाइनल पुग्ने थियो, तर त्यसो हुन सकेन ।

 

यस्तै खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो ।यस जितसँगै बार्सिलोनाले सेभियालाई समग्रमा ३-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

 

अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ ।पहिलो लेगमा दुई टोलीले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार