• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भए पार्टीलाई नै फाइदा हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेतृत्वले संसद पुनर्स्थानापछि अब बन्ने नयाँ सरकारमा सहभागी हुने संकेत देखाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाले चितवनबाट सरकारमा सहभागी हुने संकेत गरेका हुन्।

 

पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेस पदको लोभ नगर्ने पार्टी भएकाले पदको लोभ पनि नगर्ने तर जिम्मेवारी आएपछि नहट्ने पनि बताए ।

 

शोकसभामा अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अहिलेको परिस्थितिमा कांग्रेसले प्रतिपक्षको भूमिका भुल्न नहुने बताए । उनले जनताले प्रतिपक्षमै बस्ने म्यान्डेड दिएकाले कांग्रेस आफ्नो भूमिकाबाट विचलिन हुन नहुने धारणा राखे ।

 

वरिष्ठ नेता पौडेलले सजग र इमान्दार भएर कांग्रेसले हैसियत अनुसारको विपक्षीको भूमिका निर्वाह गरेमा लोकतन्त्रको रक्षा हुने बताए।नेपाली कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको भन्दै त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने उनको भनाइ थियो। आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु विकृति हुने भन्दै उहाँले हैसियतभन्दा बढी आकांक्षा नराख्न देउवालाई आग्रह समेत गरे।

 

पौडेलको भनाइलाई जवाफ दिँदै सभापति देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई फाइदा हुने भएकाले सानो चित्त नबनाउन आग्रह गरे । आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भए भने अरूको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उनले थपे, “तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहनुहुन्नजस्तो लाग्छ । मैले तपाईँको भनाइबाट त्यही बुझे ।”

 

सरकारमा जाने नजाने विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कांग्रेसका पूर्व सांसद एकनाथ रानाभाटको श्रञ्द्धाञ्जली सभामै जुहारी परेको छ।  प्रतिनिधिसभाको बैठक हुनु भन्दा दुई दिन अगाडि कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ।

 

उक्त बैठकमा नयाँ सरकार गठनका विषयमा कांग्रेसले ठोस निर्णय लिन सक्ने बताइएको छ। कांग्रेसले आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न पनि निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार