• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

कोरोना भाइरससँगको लडाइमा भारत नाजुक स्थितिमा

काठमाडौं ।  भारतमा केही महिनासम्म कोभिड-१९ का बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएपनि फेब्रुअरी महिनामा भने केही राज्यहरूमा सङ्क्रमण दर स्वाट्टै उकालो लागेको छ।

 

फेब्रुअरीको सुरुमा भारतको व्यापारिक राजधानी अमरावती जिल्लामा डाक्टरहरूले एक्कासी कोभिड-१९ का बिरामीको सङ्ख्यामा बृद्धि भएको पाए । अघिल्लो वर्ष गर्मी महिनामा सङ्क्रमणको पहिलो लहरपछि महाराष्ट्र राज्यको कपास फल्ने जिल्लामा जनजीवन सामान्य भइसकेको थियो। १,६०० आइसीयु शैय्या रहेको राज्य सञ्चालित अस्पताल र आधा दर्जन निजी अस्पतालहरू लगभग खाली भइसकेका थिए।

 

"तर फेब्रुअरीमा सबै परिवर्तन भयो," स्थानीय पत्रकार अनिल जधवले भने। "र अहिले जिल्लामा आतंकको अवस्था छ।" फेब्रुअरीको सुरुयता अमरावतीमा १० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ र ६६ भन्दा बढीको मृत्यु भइसकेको छ।

 

यो साता १ हजार भन्दा बढीले उपचार गरेका छन्। महाराष्ट्रका अमरावती र अन्य जिल्लाहरूमा फेरि लकडाउन लगाइएको छ। "बिरामीको सङ्ख्या बढ्नुको कारण के हो हामीलाई साँच्चै थाहा छैन। चिन्ताजनक कुरा भनेको पूरै परिवार सङ्क्रमित भइरहेका छन्। यो एकदमै नयाँ अवस्था हो," उक्त जिल्लाका डाक्टर श्यामसुन्दर निकमले भने।

 

"यहाँ मानिसहरू मास्क लगाइरहेका छैनन्। विवाह वा स्थानीय चुनावका लागि अभियान गर्ने जस्ता कार्यमा भीडभाड गरिरहेका छन्।  सङ्क्रमितको सङ्ख्या महाराष्ट्र राज्यमा मात्रै नभइ केरला, कर्नाटका, तेलङ्गना, मध्यप्रदेश, छत्तिसगढ र पञ्जाव राज्यहरूमा पनि बढेको खबरहरू आएका छन्।

 

यसले वैज्ञानिक र सरूवा रोगसम्बन्धी विज्ञहरूलाई चिन्तित तुल्याएको छ। ती राज्यका चिकित्सकहरूले पनि महाराष्ट्रकै जस्तो कारणले सङ्क्रमितको सङ्ख्या बढेको बताएका छन् । विवाहका ठूला कार्यक्रम हुनु, सिनेमा घर, जिमखाना र स्वीमिङपुलहरू खुल्नु, राज्यहरूमा चुनावी कार्यक्रमहरू हुने कारणले पनि सङ्क्रमण फेरि बढेको विज्ञहरूले बताएका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार