• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

नेपालको राजनीतिक अस्थिरता

राजा पृथ्वीनारायण शाहले नेपालको एकिकरण शुरु गरेको केही समय पश्चात उनको निधन भएपछि सो अभियानको बाँकी तथा मुख्य कार्य उनका कान्छा छोरा बहादुर शाह र उनका वीर सहयोगीहरुबाट भयो। नावालिग भतिजा राजा भएका वखत उनका अभिभावकका रुपमा शासन गरेका बहादुर शाहलाई आफ्नै भतिजाले वालिग भएपश्चात कैद गरेर निर्मम हत्या गरे। त्यही समयदेखि नेपालको राजनीतिमा कहिल्यै स्थायित्व आएन । हत्या, षडयन्त्र र रक्तपातमा लत्पतिएको नेपालको राजनीति आजसम्म पनि प्रदुषण मुक्त हुन सकेको छैन। भिमसेन थापा, माथवरसिंह थापा, गगनसिंह भण्डारी, रणोद्धिपसिंह, युवराज त्रैलोक्य, गेहेन्द्रशमशेर, सरोज कोइराला, मदन भण्डारी, जीवराज आश्रित, राजा वीरेन्द्र, आदी सबै शाषक र नेताहरु राजनीतिक षडयन्त्र र प्रतिशोधका शिकार भएर मारिएका थिए । इतिहासको यही समयमा विभिन्न प्रकारका सामुहिक हत्याकाण्डहरु, दमन तथा मृत्युदण्डका रुपमा दर्जनौ राजनीतिक प्रतिशोधले भरिएका रक्तपातका घटनाहरु नेपाली जनताले भोगिसकेका छन् ।

 

१०४ वर्ष लामो राणाशासनको समयमा नै नेपाली जनताको अधिकार सबैभन्दा बढी हरण गरिएको थियो तथा यो समयलाई नेपाली राजनीतिक तथा सामाजिक इतिहासको सबैभन्दा विकराल समयको रुपमा लिइन्छ। कोतपर्व मार्फत जंगबहादुर आफ्नो र आफ्ना परिवारका सदस्यहरुको हातमा लामो समयसम्म मुलुकको सम्पुर्ण शक्ति हत्याउन सफल भएका भएता पनि नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा बेलायतीहरुबाट जोगाएर राख्नमा पनि उनको देन अति नै धेरै रह्यो । त्यसैले पनि नेपाल एकिकरणमा पृथ्वीनारायण शाह र बहादुर शाहको नाम तथा नेपाललाई जोगाएर राख्नमा जंगबहादुरको नाम इतिहासमा स्वर्ण अक्षरले सदा लेखिएर रहने छ। नत्र भने पछिल्ला राजाहरुमा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले मात्र आ-आफ्ना तवरले राष्ट्रका निम्ति केही काम गरेका हुन् भने अन्य राणा प्रधानमन्त्रीहरु सबैका गुणलाई अपगुण र उनिहरुबाट भएका चरम अन्याय र अत्याचारले नै जितेको छ ।

 

नेपाल प्रजापरिषद्का सदस्यहरुले मुलुकमा प्रजातन्त्रका लागि आफ्नो जीवन आहुती दिएर शहादत प्राप्त गरी नेपालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाको जग बसालेका थिए भने त्यसपछिको एक दशकसम्म नेपाल भित्र र बाहिर रहेर प्रजातन्त्रका लागि लडेका सयौँ त्यागी र बलिदानी योद्धाहरुको अथक परिश्रमले गर्दा नेपालमा प्रजातन्त्र आयो। नेपालमा प्रजातन्त्र आउनमा कैयन् महिला नेतृहरुले पनि ठुलो योगदान दिएका छन् । राजा, नेता र जनताको सक्रिय सहभागितामा मित्र राष्ट्र भारतमा स्वतन्त्रता संग्राममा लडेका भारतीय नेताहरु जो नेपाली सहयोद्धाका मित्र थिए, तिनीहरु भारतको केन्द्रिय सत्तामा पुग्न सफल भएकाले तिनको मद्दतले पनि नेपालमा प्रजातन्त्र आउन मद्दत मिल्यो । तर राणाहरुबाट चरम मानसिक प्रताडनामा परेका राजाहरु जो राणाहरुका निकट नातेदार पनि थिए, तिनले नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र आएपछिको एक दशक भित्र नै राणाको शक्ति आफ्नो हातमा बलियोसँग पार्दै उनिहरुलाई सजाय दिनुको साटो झण्डै ४० वर्षसम्म आफ्ना विश्वासपात्र बनाएर उच्च पदहरुमा राखीरहे भने प्रजातन्त्रका लागी लडेका कैयन् योद्धाहरुलाई लामो समयसम्म बन्दी बनाएर राखे । त्यस्तै प्रजातन्त्रको लागि लडेका तथा शासनको स्वाद चाख्न पाएका धेरै योद्धा तथा कार्यकर्ताहरुले पनि प्रजातन्त्रको आगमन पश्चात यसलाई बलियो र संस्थागन बनाउने भन्दा पनि चरम अहम्भावका साथ एकापसमा खिचातानी गर्दै पुराना सामन्तहरुको नै नक्कल गर्न थालेकाले प्रजातन्त्रले जनताको लागि खासै फल दिन सकेन । एउटा विडम्बना के पनि हुन गयो भने नेपालका राजनैतिक पार्टीहरुले प्रजातन्त्रको बहाली र पुनर्वहालीका निम्ति जे जति वटा आन्दोलनहरु गरेका भएता पनि, ती सबैमा छिमेकी राष्ट्रको प्रत्यक्ष सहयोग लिएकाले नै नेपालको राजनीतिमा छिमेकी राष्ट्रको प्रभाव सँधै हावी भइरह्यो । सहयोगीले आफ्नो प्रभाव जमाउन खोज्नु कुनै अचम्मको कुरा त होइन, तर नेपालको उत्तर र दक्षिणमा रहेका दुवै विशाल छिमेकीहरुले नेपालमा आफ्नो प्रभाव जमाउने क्रममा हामीलाई साँढेको जुधाई बाच्छाको मिचाईमा नपारुन् भनेर हामी सँधै सजग रहनु पर्नेमा हाम्रा अधिकांश राजनीतिक पार्टी र नेताहरु यी विशाल मुलुकहरुसँगको सम्बन्ध सन्तुलनमा राख्न अति नै चुकेका छन् । यदी हामीले यी दुवै विशाल छिमेकीहरुको विश्वास पाउने रणनीतिमा आफुलाई पारङ्गत बनाउन सक्यौँ र यी दुई राष्ट्रहरुको एकापसमा मेलमिलाप हुने वातावरण समेत बनाइ दिन सक्यौँ भने नेपाल राष्ट्रलाई निकै फाइदा हुनुका साथै हाम्रो प्रतिष्ठा पनि बढ्न सक्दछ ।

 

नेपालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याएर विजय हासिल गरेको तथा विश्वेश्वरप्रसाद कोइरालाजस्ता महान् हस्तीको प्रधानमन्त्रीत्वमा सरकार बनेको भएता पनि त्यो सरकार धेरै समय टिक्न सकेन र राजा महेन्द्र र विश्वेश्वरको बिच व्यक्तित्वको टकराव तथा अविश्वासको खाडल बढ्दै गएर आखिर महेन्द्रले मुलुकको माटो सुहाउँदो व्यवस्था ल्याउने भन्दै पञ्चायती व्यवस्थाको शुरुवात गरे, जुन व्यवस्था २०४६ सालको जनआन्दोलन व्यापक नहोउञ्जेलसम्म रही नै रह्यो। पहिलो जनआन्दोलन पश्चात बनेको सम्विधान अन्तर्गत भएको आमनिर्वाचनमा पनि नेपाली कांगे्रसले नै बहुमत हासिल गरेर सरकार बनाउन सफल भएपनि गिरिजाप्रसाद कोइरालाले पार्टी भित्रको झगडाको कारण देखाएर संसद विघटन गरे। संसद विघटनको विरोधमा सर्वोच्च अदालतमा रिट परेको भएपनि प्रधानमन्त्रीको कदममा गल्ती नभएको ठहर भएर मुलुकमा मध्यावधी निर्वाचन भयो। सो निर्वाचनमा कुनै पार्टीले पनि साधारण बहुमत समेत ल्याउन नसकेकोले संसदको सबैभन्दा ठुलो पार्टीको हैसियतले नेकपा एमालेले मनमोहन अधिकारीको अध्यक्षतामा मिलिजुली सरकार बनायो र नौ महिनासम्म शासन गर्‍यो  पनि। अन्ततः यो सरकारलाई संसदमा अन्य पार्टीहरुले साथ नदिने देखिएपछि भने मनमोहन अधिकारीले राष्ट्रपति मार्फत संसद विघटन गराए। यो कदम विरुद्ध पुनः सर्वोच्च अदालतमा रिट दायर हुँदा अदालतले संसद व्युँताईदियो। दुई पटकको सर्वोच्च अदालतका भिन्दा भिन्दै निर्णयले मुलुकमा झनै ठुलो अस्थिरता निम्तियो। यसै समयको दौरान सबैजसा पार्टीहरुमा आन्तरिक कलह शुरु भएर पार्टी फुट्ने र जुट्ने क्रम शुरु भयो तथा अल्पमतका धेरै प्रकारका सरकारहरु बने अनि ढले। आखिर मुलुक द्धन्द्धग्रस्त स्थितिमा झण्डै एक दशक जाकियो । राजा वीरेन्द्रको परिवार नै दरवार हत्याकाण्डमा होमियो, नयाँ राजाले पनि मुलुकमा शान्ति र अमनचैन ल्याउन केही गर्न सकेनन् र बरु आफ्नै हातमा मुलुकको शासन बागडोर लिएर आफु पनि संकटमा परे भने मुलुक पनि झनै ठुलो संकटमा जाकियो। आखिर मुलुकका राजनीतिक पार्टीहरु, जनयुद्धरत पार्टी र जनता सबै एक भएर पुनः जनआन्दोलन मार्फत राजाबाट शक्ति फिर्ता लिइयो। 

 

दोश्रो जनआन्दोलनको सबैभन्दा राम्रो पक्ष के हुन गयो भने, मुलुक त्यति ठुलो द्वन्द्व र संकटमा परेको भए तापनि नेपालका राजनीतिक पार्टीहरु, नागरिक समाज, तथा राजा र जनता सबै पक्षले सम्झौताको स्थितीमा आएर आ-आफ्ना तर्फबाट कैयन् कुरामा त्याग गर्नुका साथै निकै विशाल विवेकशिलता प्रकट गरे। यसो गर्नाले मुलुक कुनै अन्तर्राष्ट्रिय मध्यस्तकर्ता संस्थाको मद्दत विना नै शान्तिको बाटो पकड्न सफल भयो। त्यतिबेला मुलुकमा सबै पक्षको जीत भएको भए पनि राजा र राजसंस्था मात्र हार्न वाध्य भयो र नेपाल गणतन्त्र र धर्म निरपेक्ष मुलुक हुन पुग्यो भने नयाँ सम्बिधान अन्तर्गत सात वटा प्रान्तमा पनि बाँडियो ।

 

जनताले मुलुकमा अब उप्रान्त शान्ति छाउला र समग्र विकासले पनि गति लिन थाल्ला भनेर राजनैतिक पार्टीहरु र नेताहरुका सबै कुरा मानिदिए । वास्तवमा जनताको मनमा शतकौँ देखिको राजसंस्था विघटन हुने र आफ्नो सनातन धर्म नै विलिन हुँदै जाने धर्मनिरपेक्षताका कुराहरु त्यति पाच्य भएको थिएन, तापनि मुलुकमा शान्ति र अमनचैन कै निम्ति यो सबको बलिदान दिएका थिए जनताले ।

 

नयाँ संबिधानको निर्माण पश्चात भएको निर्वाचनमा वामपन्थीहरुले विशाल बहुमत ल्याएर सरकार बनाउने अवसर पाए तर तिन वर्ष पुग्दा नपुग्दै नै उनिहरु पनि नेपालका अन्य पार्टीहरु जस्तै नै आफु आफुमा लडेर मुलुकलाई फेरी अन्यौल तिर धकेल्न थाले। देशको विकासका लागी राम्रा राम्रा कार्यक्रम र आयोजना ल्याएका भएपनि उनीहरुको पालैपालो बाँडीचुँडी प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने तथा आफ्ना मानिसहरुलाई विभिन्न ओहोदामा भर्ती गर्ने वारेको झगडार कसैलाई पनि नायक बन्न नदिने ठेट नेपाली पाराको खुट्टा तान्ने मानसिकताले गर्दा मुलुक र जनताले फेरी दुखी हुनु पर्ने स्थितिको सिर्जना भयो । यी सब टिकडम र खुराफातहरु हामी जनताको सरोकारका विषय होइनन् बरु हामीलाई त सरकारले राम्रो कार्य गरेर मुलुकको समग्र विकास हुनुसँग मात्र मतलब छ। तर आज यत्रो कोभिडको महामारीमा पनि हामी उनीहरुको सत्ता बाँडफाँड सम्बन्धि मारकाटमा नै होमिन वाध्य छौँ । एक पक्षले सरकार ढाल्न भनेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्‍यो  भने अर्को पक्षले संसद नै विघटन गरिदियो। पुनः दुवै पक्षको आन्दोलन र प्रतिआन्दोलन । महामारीको कुनै परवाह छैन र यसलाई काबुमा ल्याउने कुनै योजना वा ठोस कार्य नै छैन। दुवै पक्षको जुलुसमा हजारौँ मानिसहरु उतार्ने होड। जनता निरीह भएर उनिहरुका ताण्डव नृत्य हेर्न विवश । सर्वोच्च अदालतमा फेरी रिट । आखिर अदालतले संसद भंग गर्ने निर्णयलाई उल्टाईदियो ।

 

अबको निकास भनेको सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेर १३ दिन भित्र संसदको अधिवेशन बोलाउने हो। हुन सकेसम्म सरकार बनाएको यो ठुलो पार्टीले यो समयको सदुपयोग गरेर आफुहरु बिच भएको विवादको समाधान गर्ने उपायहरु अवलम्बन गर्नुका साथै आ-आफ्ना गल्तीहरु स्वीकार गर्दै आत्मालोचना गरेर पार्टी र सरकारलाई पुनः मजबुत बनाउनु पर्दछ। अहिलेको लडाईँमा जो जसले जितेका वा हारेका भएपनि आइन्दा यस्ता गल्तीहरु नदोहोर्‍याउने गरी एकजुट भएर अघि बढ्नु सर्वोत्तम विकल्प हुनेछ। तर हाम्रो जस्तो अपरिपक्व समाजमा यो सब त्यति सहज र सम्भव कहाँ छ र ? यसरी भुल स्वीकार गर्ने र एकापसमा मिल्ने गुण भइदिएको भए त यस्तो किसिमको अवस्थाको सिर्जना नै हुँदैनथ्यो होला । 

 

फेरी पनि अत्यधिक बहुमत सहितको सरकार हुँदाहुँदै यसमा समय सापेक्ष सुधार गर्नुको साटो आफु आफुमा नै साँढेको जुधाई गराएर दुनिया हँसाउने काम गर्दै दुवै पक्षले अन्य पार्टीहरुसँग मिलेरसरकार बनाउने र पार्टी विभाजन गर्ने कार्य गरेमा नेपालमा वामपन्थी पार्टीहरुको यो नै अन्तिम बहुमतको सरकार हुन बेर छैन। त्यसैले समयमा नै होस पुर्‍याएर एकजुट भई पार्टी र मुलुक दुबैको हित हुने कार्य गर्नुका साथै बाँकी कार्यकालमा कम से कम हात हालिसकेका विकासका आयोजनाहरु सम्पन्न गर्ने तथा जनतालाई शान्ति, सुरक्षा तथा समृद्धीको आभास दिन सके मात्र अर्को आमचुनावमा पनि विजय हासिल गर्ने सम्भावना बढ्ने छ । विगतको सात दशकको प्रजातान्त्रिक इतिहासमा जे जस्ता उतारचढाव तथा कमी कमजोरी भएका भएपनि मुलुकका सबै पक्ष र राजनीतिक पार्टीहरुले अबका दिनहरुमा मुलुकको आर्थिक विकास र समृद्धीलाई नै प्रमुख प्राथमिकतामा राखेर अघि बढ्नु उपयुक्त हुनेछ ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार