• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

६ वर्षमा साढे १३ लाखको सावाँब्याज झन्डै दुई करोड !

वीरगन्ज । पर्साको वीरगन्ज–१२ मुर्लीका एमडी सहाबुद्दीन अन्सारीले ६ वर्षअघि छोरीको बिहेका लागि आदर्शनगरका मदनमोहन मित्रुकासँग १३ लाख ६० हजार रुपैयाँ ऋण लिएका थिए । वैदेशिक रोजगारीबाट घर आएका छोरा मोहमद समीर अन्सारीले बाबुले लिएको ऋण रकम तिर्न खोज्दा मित्रुकाले एक करोड ९० लाख रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ ।

 

२०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्धक गरिदिएका थिए । अन्सारीका अनुसार मित्रुकासँग १३ लाख ६० हजार ऋण लिएकोमा चलनचल्तीमा त्यसको दोब्बर २६ लाख रुपैयाँको दृष्टिबन्धक लिखत पारित गरिएको थियो । ऋण चुक्ताका लागि हरहिसाब माग्दा १३ लाख ६० हजारको ब्याज नजोडी ५१ लाख रुपैयाँको जोडिएको छ । ‘त्यही मितिमा मदनका भाइ मुरलीमनोहर मित्रुकाले झुक्याएर २५ लाख रुपैयाँको छुट्टै कपाली तमसुकसमेत गराएका रहेछन्,’ पूर्वप्रहरी निरीक्षकसमेत रहेका अन्सारीले भने, ‘मुरलीमनोहरसँग त एक रुपैयाँ पनि मैले लिएको थिइनँ । एउटै कर्जाबापतको दुइटा कागज गराएका हुन् ।’

 

बाध्यताको फाइदा उठाएर घरवारविहीन पार्न खोजेको उनको गुनासो छ । मित्रुका दाजुभाइले ठगेको भन्दै अन्सारीले गत माघ १८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दिएका थिए । गत साता प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मित्रुका दाजुभाइलाई छलफलका लागि बोलाएका थिए । ‘त्यो बेला दुवैले १३ लाख ६० हजार रुपैयाँ मात्र कर्जा दिएको स्वीकार गरेका थिए,’ अन्सारीले भने, ‘सीडीओ सापको अगाडि १३ लाख ६० हजार कर्जा सकारे पनि बाहिर आएर पुरानै हिसाब माग्दै छन् ।’

 

मुरलीमनोहर मित्रुकाले कपाली तमसुकका आधारमा एमडी साहबुद्दिन अन्सारीविरुद्ध अदालतमा लेनदेन मुद्दासमेत दर्ता गराएका छन् । २५ लाख रुपैयाँको सावाँब्याज भराइपाउँ भनी २०७६ पुस २० मा पर्सा अदालतमा मुद्दा दर्ता गराएको अन्सारीले बताए । ‘बहिनीको विवाहका लागि बुबाले १३ लाख ६० हजार रुपैयाँ ऋण लिएको हामी सबैलाई थाहा छ,’ साहबुद्दिनका छोरा समीरले भने, ‘ऋणको हिसाब मिलान हुन नसकेपछि कतारबाट जागिर छाडेर घर फर्किनुपरेको छ ।’

 

उनका अनुसार हिसाब मिलाउन तीन पटक मित्रुका दाजुभाइको घर जाँदा पनि दृष्टिबन्धक कपाली तमसुक र ५१ लाख रुपैयाँको कागज देखाएर एक करोड ९० लाख रुपैयाँ हिसाब निकाल्दै आएका छन् । उनले भने, ‘यति त घरबार बेचेर पनि चुक्ता गर्न सक्दैनौं ।’ मित्रुका दाजुभाइले आफूजस्ता १० जनाभन्दा बढीलाई मिटर ब्याजमा ठगेको आरोप उनले लगाएका छन् । भूषण यादव/कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार