• बिहीबार ११-२०-२०७७/Thursday 03-04-2021
विचार

संरक्षणको पर्खाइमा फेवाताल

विश्वका सबैजसा देशहरुका आआफ्ना किसिमका प्राकृतिक सौन्दर्यका गहना क्षेत्रहरु हुन्छन् । नेपालको यस्तो गहना भनेको नै उत्तरमा रहेको गगनचुम्वी हिमालय पर्वतमाला, सो भन्दा मुनिका हरिया पहाडहरु, ताल तलैयाहरु, तराईका हरिया र मलिला मैदान र यी सबै क्षेत्रमा पाइने विभिन्न प्रकारका जनावर, जलचर, स्थलचर, चरा–चुरुङ्गी, तथा हरिया वन र फुलका सयौँ थरीका वोट–विरुवाहरु हुन् । तर समयचक्र र बढ्दो जनसंख्या तथाविना योजनाका विकासक्रमसँगै हाम्रा प्राकृतिक सम्पदाहरुको पनि धमाधम विनास हुँदै गइरहेको छ । अन्तर्राष्ट्रियस्तरमा नै विकासको नाममा औद्योगिक र अन्य प्रकारका वातावरणीय प्रदुषणले गर्दा विश्वको तापमान वढ्दै जानाले हिमालयको हिउँ पनि अन्य हिमवत क्षेत्रहरुमा जस्तै तिव्र रुपमा पग्लन शुरु भएको धेरै समय भइसकेको छ । सन् २०५० सम्ममा विश्वका ठुला तटिय शहरहरु जस्तै न्युयोर्क, मुम्बई, कोलकाता तथा कैयान् समुद्री मुलुकहरु नै डुवानको चपेटामा पर्दै जाने आंकडा वैज्ञानिक र यो विषयका अन्वेषकहरुले गर्न थालेका छन् । हालै भारतको उत्तराखण्डमा हिमनदीहरुहरुको बेमौसमको गर्माहटले गर्दा अचानक विशाल वाढी आएर ठुलो धनजनको क्षति भयो । यस्तै खालका दुर्घटनाहरु नेपालका विभिन्न भागहरुमा पनि नहोलान् भन्न सकिन्न । हामी साना छँदाका चाँदी जस्ता देखिने कैयन् हिमालहरु आजकल काला पथ्थरका टाकुराहरु जस्ता मात्र देखिन थालिसके भने हरिया पहाडहरु नाङ्गार पहिरोले जर्जर हुँदै गइरहेका छन् तथा सिमसार क्षेत्रहरु सुख्खा र बन्जर जमिनमा परिणत हुँदैछन् । वाह्य कारणले मात्र होइन, हामी आफैंले हाम्रा वन–जङ्गल जोगाउन नसकेर र जथाभावी विकासे आयोजनाहरु सञ्चालन गर्ने देखि अप्राकृतिक तवरले प्राकृतिक श्रोत र सम्पदाको दोहन गर्ने गरेकाले अनि वन तथा कृषि क्षेत्रमा पनि कङ्क्रिटको जंगल खडा गर्ने क्रम युद्धस्तरमा बढाएकाले पनि वातावरणमा ठुलो ह्रास आउन थालेको छ र पानीको स्रोत सुक्नुका साथै विस्तारै मुलुक मरुभूमी बन्दै गइरहेको छ । बेला मै सचेत हुन नसके हामी पछिका सन्ततीहरुले निकै दुख भोग्नु पर्ने कुरामा कुनै शंका छैन ।

 

सन् १९७० को दशकसम्म पनि स्वच्छताले भरीपुर्ण नेपाल कै दोश्रो सबैभन्दा ठुलो यानी पोखराको फेवाताल हेर्दा हेर्दै साँघुरो र फोहर हुँदै गइरहेको छ । सन् २०१६ मा नेपाल कै तालहरुको शहर भनेर चिनिने पोखराका ९ वटा ताल–तलैयाहरुले नेपालका दश रामसारहरु मध्येको मान्यता प्राप्त गरेका थिए । पर्यटनमा मात्र नभई आर्थिक–सामाजिक र वातावरणीय विकासमा पनि सिमसार क्षेत्रको महत्व निकै नै धेरै हुन्छ ।  बढ्दो पर्यटनको चापले गर्दा फेवातालको वरीपरी पर्यटन प्रयोजनका लागि सयौँ घर, टहरा तथा संरचनाहरु बन्ने क्रम आज पनि जारी छ । पुराना फोटाहरुमा तालको चारै तिर खाली तथा हराभरा जमीन देखिन्थेतथा त्यतिबेलाको यो स्वच्छ र सफा तालमा माछापुच्छ्रे तथा अन्य हिमाल–पहाडको प्रतिविम्व प्रष्टसँग देखिन्थ्यो भने हाल आएर तालले ओगटेको क्षेत्रसमेत रातारात पुरेर किनारामा ठुला ठुला घरहरु बनाउने होड नै चलेको छ । कुनैबेला स्वच्छ र सफा पानीले भरिएको ताल अहिले शहरको मलमुत्र देखि फोहर फ्ँयाक्ने ठाउँ बनेको छ भने त्यस्तो फोहरमैलामा अनेक किसिमका जंगली पानीझारहरु मौलाउने भएकाले ताललाई दुषित बनाउँदै लैजानुका साथै तालको गहिराई समेत घट्दै जाने गरेको छ । तालको गहिराई र क्षेत्रफल घट्दै जानुमा यसको पानीको स्रोत क्षेत्र यानी हर्पन खोलाबाट भूक्षयका कारण वर्षेनी बगेर आउने चट्टान, ढुंगा तथा बालुवा र माटोको लेदो तालमा जम्मा हुँदै जानु पनि हो ।यसरी तिव्र रुपमा भूक्षयका कारण यस्ता वस्तुहरु यही हिसाबले बगेर आउने हो भने ३६० वर्षमा यो तालको ८० प्रतिशत भाग जमिनको सतहमा परिणत हुने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् ।

 

झण्डै १३,००० वर्ष पुरानो मानिएको फेवातालको औषत गहिराई २८–३० फिटर अधिकतम गहिराई ८० फिट जति भएको भए पनि यसको किनारातिरको गहिराई हिजो आज ५–७ फिट भन्दा बढी छैन । कुनै समय ५ वर्ग किलोमिटरसम्म फैलिएको यो ताल हाल साँढे ४ वर्ग किलोमिटरमा खुम्चिसकेको छ । हालै केही दिन अघि यसको बाँधको मर्मत गर्न भनेर एक मिटर पानीको सतह घटाइए पछिको फेवातालका किनाराहरुको हालको वास्तविक गहिराई कति रहेछ र यहाँ फ्याँकिएका फोहर र प्लास्टिकहरुको मात्रा कति रहेछ भनेर हेर्न पनि निकै सजिलो भएको छ ।  सन् १९७४ तिर पार्दी बाँध फुटेर जलाशयमा बाँधले रोकेको पानी बगेर गएपछि त्यहाँ भू–अतिक्रमण ह्वात्तै बढेको ठम्याई स्थानीय वासिन्दाहरु र विभिन्न अध्ययनहरुले बताएका छन् । त्यति नै बेला यानी करिव ४५ वर्ष पहिले म सानै छँदा हामी स-परिवार पोखराको भ्रमणमा गएको वखत फेवातालको बिचमा अवस्थित ताल बाराहीको मन्दिरमा हामी हिँडेर नै पुगेका थियौँ । हाल एक मिटर पानीको सतह कम हुँदा भने त्यसरी हिँडेरै ताल बाराहीसम्म जान मिल्दैन ।

   

बेला बेलामा पोखराको भ्रमण गरेर त्यहाँका तालहरु, हिमाल, पहाड र सेरोफेरोका गुफा, नदी, गाउँ–वस्तीहरुको सौन्दर्यको मज्जा लिने मेरो पनि वानी छ तथा मेरा सन्ततीहरु पनि पोखराको भ्रमण गर्न निकै रुचाउँछन् ।  म जस्तै धेरै नेपालीहरुले यसरी पोखराको भ्रमण गर्ने गर्दछन् र यसको सौन्दर्यको वयान गर्छन् भने विदेशी पर्यटकहरुको त कुरै छोडौँ । हिजोआज छिमेकी राष्ट्र भारत र चीनका पर्यटकहरुको पनि प्रमुख पर्यटकीय गन्तव्य पोखरा नै हुने गरेको छ । त्यसैले पनि यहाँ निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा बढी भारतीय र चीनीया पर्यटकहरु कै भिड लाग्ने र प्रायजसो उडान पनि यिनै मुलुकहरुबाट हुने कुरामा म आशावादी छु । करिव डेढ दशक अघि मेरा पिताजीलाई साथमा लिएर पोखरा भ्रमणमा जाँदा फेवातालमा डुंगाको सयर गरिरहेको वखत वहाँले आँखा चिम्लेर नाकबाट लामो श्वास लिँदै ताल र यसको सुगन्धको आनन्द लिनुभएको देख्दा म र मेरी पत्नी निकै खुशी भएका थियौँ । वहाँ राष्ट्रिय योजना आयोगको सदस्य हुँदाको बेलामा पार्दी बाँध फुटेको र त्यसको पुर्ननिर्माणको निम्ति भएका पटक पटकका वैठकहरु वारेका वर्णनहरु पनि वहाँको डायरीमा धेरै ठाउँहरुमा पढेको थिएँ । वास्तवमा राजा वीरेन्द्र आफु पनि पोखरा र फेवाताललाई निकै रुचाउने व्यक्ति भएकाले उनी फेवातालको बाँध छिटो बनेर यो तालको गरिमा फेरी छिटै फर्कियोस् भन्ने चाहन्थे।

   

फेवातालको पानी रोकेर सिँचाई गर्ने र बिजुली निकाल्ने हेतुले विभिन्न समयमा त्यहाँ बाँधहरु बाँधिएको देखिन्छ । सन् १९३३ मा त्यहाँ ढुंगा र चुन–सुर्की मिसाएर अस्थायी बाँध बनाइएको थियो भने पछि सन् १९४२ मा त्यहाँ ठुला ठुला पत्थरहरुको प्रयोग गरेर पुनः नयाँ बाँध बनाइयो । मर्मतमा वेवास्ता, बाँधले पानीको भार वहन गर्न नसकेर र विभिन्न समयमा गइरहने सानातिना भूकम्पहरुले बाँधको संरचनालाई कमजोर बनाउँदै लैजानाले यो बाँध पनि भत्कियो र पछि सन् १९६१ मा भारतीय सहयोगमा त्यहाँ कङ्क्रिटको बलियो बाँध र विद्युत तथा सिँचाई प्रणालीको विकास गरियोे तर सो बाँध पनि सन् १९७४ ताका भत्कियो । त्यसको केही वर्ष पछि सन् १९८२ मा चीनी सहयोगमा त्यहाँ हालको नयाँ बाँध बनाइयो र सिँचाईका साथै एक मेगावाट विद्युत पनि फेरि उत्पादन हुन थाल्यो, जुन हालसम्म पनि छँदैछ । आज ४२ वर्षपछि यसैको मर्मतको निम्ति नै हाल फेवातालको पानी घटाइएको हो।

 

विगतमा फेवातालको संरक्षणमा जे जस्ता व्यवधान आएका भएपनि अब आउने दिनहरुमा यसको उचित संरक्षण गर्न सबै पक्ष लागि पर्नुपर्ने भएको छ । विभिन्न समयका स्याटेलाइट फोटोहरुको मद्दत लिनुका साथै समय समयका सरकारी, गैह्र सरकारी र स्थानीय तहका तथ्यहरु र अन्य प्राविधिक मुल्याङ्कनको आधारमा तयार पारिएको फेवातालको खास क्षेत्रफल र अन्य विस्तृत विवरणको प्रतिवेदन हालै मात्र प्रधानमन्त्रीलाई पेश गरिएको र केही समयमा सार्वजनिक हुने कुरा सुन्नमा आएको छ । सो रिपोर्ट अनुसार फेवातालको वास्तविक क्षेत्रफल हाल १०,००० रोपनी देखिएको छ अरे । त्यस्तै हाल गण्डकी प्रदेश, पोखरा महानगरपालिका लगायत फेवाताल संरक्षणमा लागेका विभिन्न संघ–संस्था र स्थानीय वासिन्दाहरु पनि फेवातालको स्थायी नक्शाङ्कन, भूक्षय तथा श्रोत नदी नियन्त्रण, सफाई, जलकुम्भी जस्ता झारको नियन्त्रण, चारैतिर पैदल यात्रा गर्न मिल्ने सिमा सडक निर्माण र थिग्रेर बसेको माटो र ढुंगाहरु मेशिनरीको मद्दतले तालबाट निकाल्ने र तालको गहिराई बढाउने र यसलाई चौडा बनाउने तथा तालको महत्व, सरसफाई र इकोसिस्टम वारे जनचेतना जगाउने कुरामा एकमत भएको पाइएको छ । तत्कालको लागि बाँधको मर्मतको हालको समयको फाइदा उठाएर तालबाट केही मिटर तलसम्मका हिलो, फोहर, तथा माटो निकाल्ने र तालको किनारा निर्धारणका साथै पर्खाल लगाउने र तालको पानीको श्रोत बनेको हर्पन खोलामा निकै माथिदेखि नै डिसिल्टिङ प्लान्टहरु निर्माण तथा त्यहाँ भूक्षय हुन नदिने विभिन्न उपायहरु अवलम्वन गर्ने वारे सर्वपक्षीय सल्लाह गरेर छिटै निर्णय र कार्यान्वयनमा पुग्ने योजना बनेको रहेछ, जुन निकै स्वागतयोग्य कुरा हो ।

 

विगतका विभिन्न किसिमका गल्तीहरुबाट नै मानिसले सिकेर भविश्यको लागी काम गर्ने हो । त्यस्तै विश्व कै सुन्दर तालहरु मध्येको फेवातालको पनि समयमा सम्बद्र्धन हुन नसकेकोले यो ताल निकै समयसम्म वेवास्तामा रहन र खुम्चिन वाध्य भयो । तर यसलाई व्यवस्थित, सुन्दर र दिगो बनाउन अझैपनि कुनै ढिलाई भएको छैन । मुलुकका सबै सरोकारवाला पक्षहरुको सक्रियतामा यो तालको गरिमालाई फेरी पनि उच्च विन्दुमा राख्न सकिन्छ र राख्नैपर्छ । फेवा जस्तै पोखरामा अन्य कैयन् तालहरु छन् भने मुलुकको सबैभन्दा ठुलो राराताल र अन्य सुन्दर तालहरु पनि छन् । हामीले विगतमा फेवातालले भोग्नुपरेको जस्तो मानव र प्रकृतिको अतिक्रमण,भूक्षयको परिणाम, फोहरको महामारी तथा वातवरणीय ह्रासले गर्दा सिर्जित सास्ती अन्य तालहरुले भोग्नु नपरोस् भन्नका लागि ती तालहरुलाई सम्पुर्ण रुपले सार्वजनिक स्थल बनाउनु भन्दा पहिले नै फेवातालबाट सिकेका पाठहरुको आधारमा तिनमा आधारभूत भौतिक पुर्वाधारहरुको निर्माण गरेर मात्र तिनको सार्वजनिकिकरण गर्नु पर्दछ । प्रकृतिले उपहार स्वरुप दिएका यस्ता सुन्दर स्थलहरुको संरक्षण गर्न सक्यौँ भने मात्र हामीले आफ्नो लागि र आफ्ना सन्ततीहरुका लागि प्राकृतिक सम्पत्तिको जगेर्ना र जोहो गरेको ठहर्ने छ । 


(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार