• बिहीबार ११-२०-२०७७/Thursday 03-04-2021
विचार

शहिदहरुको सपना कहिले साकार होला ?

आफ्नो मातृभूमी, स्वतन्त्रता, प्रजातन्त्र र मौलिक हक–अधिकारको निम्ति लड्दा लड्दै मृत्युवरण गरेको मानिस शहिद कहलिन्छ । शहीद त्यस्तो बहादुर व्यक्ति हो, जसले हार-गुहार गरेर आफ्नो ज्यान बचाउन सक्ने स्थितिमा समेत रौँ बराबर पनि नडगेर आफ्नो प्राणको आहुती दिन्छ। राणा शासनको अन्त, प्रजातन्त्रको प्राप्ति, जनताको अधिकार र मुलुकको विकास र समृद्धिका लागि नेपालमा पहिलो पटक नेपाल प्रजापरिषद नामको राजनीतिक पार्टीको स्थापना गरेका तिन व्यक्तिहरु दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ तथा नागरिक अधिकार समितिका अध्यक्ष शुक्रराज शास्त्रीले वि.सं. १९९७ को माघ महिनामा मृत्युदण्डको सजाय भोगेर शहीद भए भने सोही पार्टीका अध्यक्ष टंकप्रसाद आचार्य र सचिव रामहरी शर्मा जस्ता अग्रज तथा निडर नेताहरु व्राह्मण भएका कारणले नै राणा शाषकहरुले व्रह्महत्याको डरले गर्दा उनीहरुलाई मृत्युदण्ड दिन हिच्किचाएर चारपाटे मुडीकन आजीवन कठोर कारावासमा पठाए ।


तर नेपालमा यस्ता वीरहरुको गाथा र त्याग निकै छिटो बिर्सिन थाले प्रजातन्त्रको आगमन पछिका नेताहरुले, जस मध्ये धेरैजसा त्यही प्रजा परिषदबाट वा त्यसको प्रभावबाट नै राजनीतिमा लागेका थिए । पछि पछि त नेपालको सबैभन्दा पहिलो राजनीतिक पार्टी कुन हो भनेर सोध्दा पनि धेरैले नेपाल प्रजापरिषदको नाम लिन छाडे भने सो पार्टीको स्थापनामा अहम् भूमिका खेलेका नेता टंकप्रसाद आचार्यलाई समेत बिर्सँदै गए। नेपालका प्रधानमन्त्री समेत भएका तथा छिमेकी र अन्य विदेशी राष्ट्रसँग नेपालको सम्बन्ध बढाउन निकै ठुलो भूमिका खेलेका, पञ्चायती कालमा कहिल्यै कुनै पदमा नबसेका, आफ्ना अकुत सम्पत्ति हरण हुँदा पनि फिर्ता नमागेका र सदैव प्रजातन्त्रको निम्ति अडिग रहेका खरा नेता टंकप्रसाद आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समेत पशुपति आर्यघाटमा ५०–६० जना परिवारजन र नजिकका अनुयायीहरुको मात्र सहभागिताले हामी हाम्रा पथ प्रदर्शक तथा इतिहास रच्ने अग्रजहरुलाई कस्तो व्यवहार गर्दा रहेछौँ भन्ने सावित गर्दछ। झनै माथि उल्लेखित चार अमर शहीदहरुकै पंक्तिमा आन्दोलनका क्रममा मृत्युवरण गरेका अन्य सयौं व्यक्तिहरुलाई शहीद घोषणा गरेर मिसाई दिनाले शहीदहरुको महत्व ह्वात्तै घट्न गयो । आज आएर वर्षमा एक हप्ता शहीद सप्ताहको रुपमा औपचारिकता मात्र निर्वाह गरेर उनीहरुको शालिकमा माल्यार्पण गर्ने काम वाहेक अरु केही हुँदैन ।  


पञ्चायत कालमा विभिन्न राजनैतिक नेताहरु तथा राजनीतिमा सौख राख्ने व्यक्तिहरु अक्सर भेला हुने काठमाडौंका थोरै संख्यामा रहेका खास ठाउँहरु मध्ये टंकप्रसाद आचार्यको निवास प्रमुख स्थान थियो । नेपाल र विश्वका विभिन्न ठाउँहरुमा घट्ने राजनीतिक घटनाहरु र समसामयिक विषयहरुमा गफ गर्न उनीसँग राम्रो चिनाजानी भएका व्यक्तिहरु र विभिन्न राजनीतिक विचारमा विश्वास गर्ने व्यक्तिहरु त्यहाँ जाने गर्दथे। पञ्चायतका पनि कैयन् नेताहरु र वुद्घिजिवीहरु समेत त्यहाँ बरावर भलाकुसारी गर्न गइरहने भएकाले तथा टंकप्रसादजीको मुखबाट शासकहरुका कैयन् गोप्य कुराहरु समेत सुन्न पाइने भएकाले त्यतिबेलाका पत्रकारहरु पनि त्यहाँ गइरहन्थे। टंकप्रसादलाई राणा शासकहरुले कैदमा राखेको झण्डै ७ वर्ष पछि यानी २००४ सालमा रेवन्तकुमारीले आफ्नै अध्यक्षतामा जनकपुरमा “नेपाल महिला संगठन” खोलेकी थिइन्। आफ्ना पति कैदमा छँदा र राणाहरुको शासन चलि नै रहेको बेलामा पनि महिलाहरुको पहिलो संगठन खडा गरेर प्रजातान्त्रिक आन्दोलनमा महिलाहरुलाई आकर्षित गर्नु त्यतिबेला कम्ताको बहादुरी थिएन ।

 

२८ वर्ष लामो कठोर शासन गरेका चतुर प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा राजनीतिक क्रियाकलाप गर्न निकै मुश्किल थियो। आफ्ना वरिपरिका भाईभारदारहरुलाई आफ्नो फाइदाका निम्ति लडाउन र अन्योलमा राख्न उनी निकै माहिर थिए। जंगबहादुर पछि नेपालमा राजकाज गर्ने राणा प्रधानमन्त्रीहरु मध्ये सबैभन्दा बढी समय, यानी २८ वर्ष शासन गर्ने व्यक्ति यीनै भए र आजसम्म नेपालमा उनी पछि कुनैपनि शासकले त्यति लामो समयसम्म प्रत्यक्ष शासन गरेको छैन। राजा वीरेन्द्र ३० वर्षसम्म नेपालको राजा भएको भएता पनि उनले करिव १८ वर्ष मात्र प्रत्यक्ष शासन गरेका थिए । 

 

चन्द्रशमशेरको शासनको उत्तराद्र्घतिर नेपाल, खासगरी काठमाडौँमा भित्र भित्र पढेलेखेका युवाहरु विच राणाशासनको विरोधमा गोप्य कुराकानी हुन शुरु भएको देखिन्छ। तर खुलेआम यस्ता कुरा गर्ने आँट कसैमा थिएन। विशेषतः पढेलेखेका युवाहरु या त राणा प्रशासनमा काम गर्ने व्यक्तिहरुका छोराहरु अथवा गुरुज्यु–पुरोहित, धनाढ्य र व्यापारी कै छोराहरु नै हुन्थे । पढे लेखेका छोरी मान्छेहरु त्यतिबेला औँलामा गन्दा पनि कम हुन्थे यानी नगञ्य थिए र जति थिए, ती पनि त्यतिबेलाको छिटो विवाह गर्ने चलनले गर्दा र समाजमा नारीहरुको बोलवाला सार्वजनिक विषयहरुमा नहुने बराबरको भएकोले चुपचाप बस्न वाध्य हुन्थे। 

 

त्यतिबेला पढेलेखेका व्यक्तिहरुले समेत रोजगारी पाउन निकै कठिन अवस्था थियो । पढेलेखेका र भारतबाट फर्केका युवाहरु माथि निकै शंका गरिन्थ्यो। यस्तो कार्यले गर्दा शिक्षित युवाहरु भित्रभित्रै गुम्सिईरहेका थिए। जागिर वाहेक गर्ने अरु इलम खासै हुँदैनथ्यो त्यतिबेला। राणा शासनको विरोधमा कुनै शव्द बोलेको थाहा भएमा निकै कठोर सजाय भोग्नु पर्दथ्यो र चुक्ली लगाउने मानिसहरुको कुनै कमी थिएन त्यतिबेला। शुक्रराज शास्त्रीका पिता माधवराज जोशीले १९६२ साल तिरै “आर्यसमाज” मार्फत जनचेतनामुलक सन्देशहरु दिन थाले र मुर्तिपुजाको विरोध गर्नुका साथै नास्तिक विचारहरु व्यक्त गर्न थाले भन्ने आरोपको भरमा उनलाई तत्कालिन बडागुरुज्युसमेतले निर्ममतापुर्वक कुटपिट गरेर २ वर्ष कठोर कारावासमा राखे। पछि उनैका चेला तुलसीमेहर, फत्तेबहादुर, चक्रबहादुर, चन्द्रमान आदीले आर्यसमाजको नाममा पुनः गान्धिवादी क्रियाकलाप र चर्खा आन्दोलन चलाएका थिए र १९८६ तिर पक्राउ समेत परेका थिए। त्यस्तै चक्रपाणी चालिसेको छोरा लक्ष्मीनन्दन चालिसेले परिक्षामा राणा विरोधी केही अपशव्द लेखे भनेर उनलाई सात वर्ष कैद र उनका बुवालाई जागिरबाट निकालिएको थियो । 

 

नेपालबाट विभिन्न कालखण्डमा पलायन भएर खासगरी भारतका वनारस, कलकत्ता र अन्य ठाउँहरुमा गएर वसोवास गरेका नेपालीहरुको शिक्षामा पहुँच बढी भएकाले उनिहरुले पत्रपत्रिका र पुस्तकहरु समेत प्रकाशन गरेर साहित्य, धर्म, राजनीति तथा अन्य विधाहरुमा आफ्ना विचार प्रस्तुत गर्ने गर्दथे । यस्ता व्यक्तिहरु भारतको स्वतन्त्रता संग्राममा पनि सहभागी भएकाले यिनका मनमा नेपालमा पनि जनताको शासन हुनुपर्छ भन्ने भावना जागेको थियो। नेपालबाट भारतमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई भने यस्ता प्रकाशनहरु ज्ञान प्राप्ति गर्ने विशेष खुराकी सावित भएका थिए। नेपालमा यस्ता प्रकाशनहरु ल्याउन बन्देज भएपनि अनेक तवरले ती राजधानीमा भित्रिन्थे तथा उता पढेर नेपाल फर्कनेले यस्ता ज्ञानका कुरा आफ्ना साथिभाइलाई सुनाउँथे पनि। गोर्खाली फौजीहरु पहिलो र दोश्रो विश्वयुद्घ पश्चात हजारौँको संख्यामा आआफ्ना गाउँघरमा फर्केका थिए । यीनले आफुले कमाएको नगद धन वाहेक विभिन्न देशहरुमा देखेका र अनुभव गरेका कुराहरु पनि गाउँमा भित्राएकाले एक प्रकारको नयाँ जागरण आइरहेको थियो नेपालका गाउँघरहरुमा।

 

यस्तै समयतिर कृष्णप्रसाद कोइराला, देवीप्रसाद सापकोटा, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, देहरादुनका ठाकुर चन्दन सिंह आदी पनि बनारस, कलकत्ता, दार्जिलिङ र देहरादुन जस्ता ठाउँहरुमा बसेर राणाशासनको विरोधमा पत्रिका छाप्ने, पुस्तक लेख्ने तथा विद्यार्थी, युवाहरु र पुर्व गोर्खा सैनिकहरुका विभिन्न प्रकारका संगठनहरु खोल्ने कार्य गरिरहेका थिए । कृष्णप्रसाद कोइरालाले त काठमाडौंमा कठोर कारावासको सजाय समेत भोग्नु पर्‍यो विक्रम सम्बत २००० तिर। केही समय पश्चात नेपालमा भित्री रुपमा केही पढेलेखेका व्यक्तिहरुले “मलामी गुठी” मार्फत पनि जनजागरणका कामहरु गरेका थिए। त्यतिबेलाका दरवारका वडागुरुज्यु तथा पुरोहितहरुले पनि आफ्ना प्रतिद्वन्दीहरुलाई लाखापाखा लगाउन भनेर राणाशासकलाई अनेक प्रकारका चुक्ली लगाएर आफ्नो स्वार्थ पुरा गर्ने गर्दथे। कालान्तरमा यस्ता बाठा र धुर्त पुरोहितहरुका कारण कोपभाजनमा परेर देश निकाला भएका पढेलेखेका खासगरी व्राह्मणहरु नै वनारसमा बसेर राणा विरोधी क्रियाकलाप गर्ने समुहका दिमाग बन्न पुगे । 

 

विक्रम सम्वत् १९९० साल अघि पनि काठमाडौँका कैदखानाहरुमा राणाशासनको विरोध गर्ने धेरै जनालाई थुनामा राखिएको थियो। १९७७ सालमा “मकैको खेती” नामक व्यङ्ग्यात्मक राजनीतिक कृति लेखेको अभियोगमा कृष्णलाल अधिकारी कैदमा परि त्यहीँ मरे भने “प्रचण्ड गोर्खा” भन्ने समूहका सदस्यहरु खड्गमान सिंह, मैनाबहादुर, खण्डमान सिंह बस्न्यात र रङ्गनाथ शर्मालाई १९८८ सालमा गोलघरमा जन्मकैद गरेर राखिएको थियो । राणा परिवार भित्रको कठोर कैद सजाय पाउने व्यक्ति सायद भद्रशम्शेर मात्र होलान्, जसलाई थुन्न भनेर काठमाडौंको केन्द्रिय कारागारमा उनको नामबाट भद्रगोलघर नै बनाइएको थियो, जुन अझसम्म पनि छँदैछ ।  

 

विद्धतामा आफ्ना पिताकै बिँडो थामेका शुक्रराज शास्त्रीले भारतमा गएर त्यहाँका स्वतन्त्रता संग्रामका शिखर पुरुषहरु महात्मा गान्धी, सुवासचन्द्र वोस तथा मदनमोहन मालवीय लगायत अन्य नेताहरुलाई भेटेर भारतमा झैं नेपालमा पनि सामाजिक र राजनीतिक सुधारका कदमहरु चाल्नु पर्ने वारे गरेको वार्ता वारेको कुरा नेपालमा त्यतिबेला निकै चर्चाको विषय बनेको थियो भने राणा शाषकहरु उनका यी भेटहरु र क्रियाकलाप देखि क्रुद्ध थिए। यीनैले नेपालमा आएर १९९४ सालमा आफ्नै अध्यक्षतामा “नागरिक अधिकार समिति” खोलेका थिए । यस संस्थाका संगठन र प्रचार सचिवमा क्रमशः केदारमान श्रेष्ठ “व्यथित” र शंकरप्रसाद नेपाल, र सदस्यहरुमा गङ्गालाल श्रेष्ठ, राजालाल कलवार, आनन्दराम श्रेष्ठ, पण्डित मुरलीधर भट्टराई आदि आवद्घ थिए । त्यतिबेला यी चोकहरुका विभिन्न पुस्तक पसलहरु देखि किराना पसलहरुमा समेत राजनीतिले ओतप्रोत भएका युवाहरु पुस्तक साटासाट गर्न र राजनीतिक गफहरु गर्न आइरहन्थे। धर्मरत्न तुलाधर “यमी” को पसल पनि त्यतै थियो। शुक्रराज शास्त्रीको घर पाटनमा भएपनि आफ्ना पिता जस्तै उनि पनि काठमाडौँको वांगेमुढातिर डेरा गरेर बस्दथे र असन, भोटाहिटी, इन्द्रचोक जस्ता मुख्य चोकहरुमा हुने श्रीमद्भागवद् महापुराण तथा अन्य धार्मिक कार्यक्रमहरुमा पण्डित मुरलीधरसहित धार्मिक प्रवचन दिन्थे र विच विचमा समसामयिक राजनीतिका कुराहरु पनि घुसाइदिन्थे। इन्द्रचोकमा भएको यस्तै प्रवचनको बेलामा शुक्रराज शास्त्री, केदारमान व्यथित र गंगालाल श्रेष्ठले राणा विरोधी मन्तव्यहरु व्यक्त गरेर भाषण गरेको भोलिपल्ट यानी १९९५ साल मंसिर १४ गते सरकारले शुक्रराज शास्त्रीलाई उनको डेराबाट पक्रेर कैद गर्‍यो । 

 

टंकप्रसाद आचार्यको काठमाडौंका रामहरि शर्मा र जीवराज शर्मासँग राणा विरोधी आन्दोलन छेड्ने सल्लाह हुँदै गर्दा उनका पिता बडाहाकिम भएको वखत वारा, कलैयातिर एकजना साहेवज्यु मोहनविक्रम शाहको कृषि फार्ममा काम गरेर बसेका दशरथ चन्दसँग पनि उनको उतै भेट भएर राणाशासनको विरोधमा भिड्ने कुरामा ऐक्यवद्घता भयो। टंकप्रसाद र दशरथ चन्द दुबै जना फ्रान्सिसी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम र विश्वमा भइरहेका कम्युनिष्ट र समाजवादी आन्दोलनबाट निकै प्रभावित भएका थिए । दशरथ चन्दले केही समय पछि टंकप्रसादलाई काठमाडौँको ओमवहालमा बस्ने तथा भारतको कलकत्तामा चिनाजानी भएका साथि धर्मभक्तसँग भेटाईदिए, जसले त्यतिबेला उतैबाट कुस्ती र शारीरीक सुगठनको कला सिकेर आए पश्चात राजा त्रिभुवनलाई दरवारमा नै गएर शारीरीक सुगठनको प्रशिक्षण दिने गर्दथे । पछि दरवारका कम्पाउण्डर चन्द्रमान सैँजुको सहयोगले यी राजनीतिक योद्घाहरुले राजा त्रिभुवनलाई समेत हात लिन सफल भए ।

 

यसरी राणाशासनको अन्त्य गरेर राजाको नेतृत्वमा वैधानिक सरकारको गठन र प्रजातान्त्रिक व्यवस्थाको शुरुवातको लक्ष्यसहित विक्रम सम्वत् १९९३ साल जेठ २० गते धर्मधक्तको घरबाट नेपालको पहिलो राजनीतिक पार्टी “नेपाल प्रजापरिषद” को जन्म भयो । भारतका राजनीतिक पार्टीहरुको सांगठनिक स्वरुप वारे राम्रो ज्ञान भएकाले यस पार्टीका संस्थापक सदस्यहरुले अध्यक्षमा टंकप्रसाद आचार्य, उपाध्यक्षमा दशरथ चन्द, सचिवमा रामहरि शर्मा र कोषाध्यक्षमा धर्मभक्त माथेमालाई छाने । पार्टीको क्रियाकलापको लागी आवश्यक रकम राजा त्रिभुवनले धर्मभक्त मार्पmत सहयोग गर्दथे । बिस्तारै सो पार्टीका समर्थकहरुको संख्या पनि एक दर्जन, दुइ दर्जन गर्दै बढ्दै गयो भने टंकप्रसाद आचार्य र दशरथ चन्द भारत गई त्यहाँ पनि आफ्नो पार्टीको वारे जानकारी दिने र सदस्यता बढाउने काममा लागे । 

 

राणाशासनको बेला राजनीतिक पार्टी खोल्नु भनेको अक्षम्य अपराध सरी नै थियो । नितान्त गोप्य तवरले प्रजापरिषदले त्यतिबेला काम गर्नुपरेको थियो । पार्टीमा चुडाप्रसाद ढुंगाना, गोविन्दप्रसाद उपाध्याय, केदारमान व्यथित, सिद्घिचरण श्रेष्ठ, पूर्णबहादुर एमए, चित्तधर हृदय, मुकुन्दनाथ रिमाल, हरिकृष्ण श्रेष्ठ, गणेशमान सिंह, गङ्गालाल श्रेष्ठ, पुष्करनाथ उप्रेती जस्ता विभिन्न क्षेत्रका युवाहरु सकृय रुपले लागेका थिए । संस्कृत पाठशालाका केही विद्यार्थीहरु समेत अप्रत्यक्ष रुपमा सो पार्टीका समर्थक थिए । त्यहिबेला वनारसमा बसोवास गर्दैआएका राणा विरोधी व्यक्ति महेन्द्र विक्रम शाहलाई पनि आफ्नो विचारसँग सहमत गराएर उनको आर्थिक सहयोगमा एकथान साइक्लोस्टाइल मेशिन खरिद गर्नुका साथै १९९६ मा सो मेसिन ठुलै खतरा मोलेर साना साना टुक्रा पारि घरायसी सामानसँग मिसाएर बाकसमा हाली काठमाडौं भित्राए । वास्तवमा टंकप्रसादका पिता टिकाप्रसाद आचार्यले सरकारी जागिरबाट अवकाश पाएपछि १९९२ सालतिर केही समय भिमफेदीमा घोडा यातायातको वन्दोवस्तीको काम शुरु गरेका थिए । पितासँग टंकप्रसाद पनि त्यहाँ किशोरावस्थादेखि नै बसेकाले उनले त्यहाँको भन्सारका कर्मचारीहरु र स्थानीय बासिन्दाहरुलाई चिनेका थिए ।


टंकप्रसाद कै हातबाट लेखिएका चार थरी पर्चाहरु सो साइक्लोस्टाइल मेसिनमा छापेर १९९७ साल आसाढ, श्रावण र भाद्रमा राजधानीका विभिन्न ठाउँहरुमा छरे। इन्द्रजात्राको भोटो देखाउने दिनमा राजधानीका तिनै शहर लगायत जुद्धशम्शेर कै दरवार भएको ठाउँ जावलाखेलमा पर्चा छरिनु भन्दा अघिसम्म १९९३ सालमा नै स्थापना भएको नेपाल प्रजापरिषद्को वारेमा यसका सदस्यहरु वाहेक कसैलाई चुँक्क पनि थाहा थिएन । पर्चाहरु टंकप्रसाद कै हातबाट लेखिएकाले उनलाई पर्चा छर्नु अघि नै वनारस पठाइएको थियो ।

 

चौथो पटक काठमाडौँ लगायत मधेशका पनि कैयन् ठाउँहरुमा पर्चा छरिने बेलासम्म राणाहरुले आफ्ना गुप्तचरहरु शहर भरी नै छरेका तर पनि पर्चा छर्नेहरु र प्रजापरिषदका कार्यकर्ताहरुको अत्तो पत्तो थाहा नलागेपछि राणा शासकहरुले ठाउँ ठाउँमा सूचना टाँसेर पर्चा छर्नेको वारेमा सूचना दिनेलाई ५,००० रुपैयाँको पुरस्कार घोषणा गरे । कतैबाट सानो सुराक पनि नपाएका राणाहरुलाई आखिर त्यत्रा विद्घान माधवराज जोशीका पुत्र तथा शुक्रराज शास्त्रीका सहोदर भाई रामजी जोशी र पण्डित मुरलीधरले प्रजापरिषद र यसका सदस्यहरु वारे पुरै भेद खोलिदिए। १९९६ सालमा पण्डित मुरलीधरलाई धार्मिक प्रवचन दिँदा जनता भाँड्ने काम गर्‍यो भनेर पक्राउ गरिएको रहेछ । तर वास्तवमा उनलाई राणा शासकहरुले शुक्रराजको मन बुझ्न सुराकीको रुपमा कैदी बनाएर पठाएका रहेछन्। केही समय पछि यस्तै सुराकको आधारमा १९९७ साल कार्तिक २ गते राणा शासकहरुले ओमबहाल स्थित धर्मभक्तको घरमा छापा मारेर प्रजापरिषदका कागजात सहित उनलाई पक्राउ गर्‍यो भने त्यसको केही दिन भित्रै गंगालाल, दशरथ चन्द, गणेशमान तथा मुख्य मुख्य सबै व्यक्तिहरुलाई धरपकड गर्‍यो । यस्तैमा टंकप्रसाद वनारसमा लुकेर बसेको कुरा थाहा भएपछि जनकपुरमा रहेका उनका पिताको नामबाट उनी निकै नै विरामी भएको नक्कली तार टंकप्रसादलाई पठाइयो। टंकप्रसाद हतारिएर त्यहाँ पुग्ने वित्तिकै उनलाई वडाहाकिम रामशम्शेरको सुरक्षा दस्ताले पक्रेर काठमाडौं चलान गर्‍यो ।

 

चन्द्रमान सैंजु कम्पाउण्डर देखि राजा त्रिभुवनका अन्य धेरै कर्मचारीहरु राणाविरोधी यो गोप्य आन्दोलनमा मुछिएकाले जुद्घशम्शेरले राजा त्रिभुवन र उनका परिवारका सदस्यहरुलाई पनि १९९७ साल मंसिर २८ गते सिंहदरवारमा बोलाएर बयान लिएका थिए । १०४ वर्ष सम्म जति नै दबाएर राखिएको भएपनि जङ्गबहादुर देखि मोहनशम्शेरसम्मले राजालाई अगाडी नै कहिल्यै गाली बेइज्जती गर्दैनथे, तर जुद्घले भने धेरै चोटी राजा त्रिभुवनलाई दरवारका भारदार र अन्य कर्मचारीहरुको अगाडी गाली गरेको र झाँटेको कुराहरु इतिहासका पुस्तकहरुमा उल्लेखित छन् ।

 

लौहपुरुष गणेशमान सिंहले आफ्नो आत्मवृत्तान्त “मेरो कथाका पानाहरु” मा लेखे अनुसार उनीहरुको बयान प्रत्येक दिन सिँहदरवारको छतमा घाम ताप्दै लिने गरिएको रहेछ। गणेशमान तथा कैयन् आरोपीहरु राणा अधिकारीहरुसँग निकै डराउने भएकाले वयानको लागि बोलाउँदा पनि उनीहरुलाई हेपेर त्यो छतमा छापिएका चिसा तेलिया ईटमा नै बस्न लगाइने गरिएको रहेछ भने निडर तथा खरा मिजासका टंकप्रसाद आचार्यलाई बोलाएपछि उनलाई बस्न कम्बल ओछ्याइदिने गरिँदो रहेछ । गणेशमानले राणाहरुको यो व्यवहारलाई “विरोचित सम्मान” भनेका छन् ।


१९९७ साल माघ ६ गते सिंहदरवारको फुटबल मैदानमा राजा त्रिभुवन, युवराज महेन्द्र तथा राजपरिवारका अन्य सदस्यहरुलाई समेत बोलाएर गरिएको विशेष भेलामा प्रधानमन्त्री जुद्धशम्शेरले “किराले हिरासमेत बिगार्न खोज्ने” भनेर खासगरी शुक्रराज शास्त्रीलाई तथानाम गाली गरेका थिए। उनको इशारा राजा पनि यी क्रान्तिकारीहरुबाट बहकिएको भन्ने वारे थियो । सोही दिन शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको सजाय सुनाइयो भने व्राह्मण भएकै कारण मृत्युदण्डबाट बचेका टंकप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटे मुडेर सर्वस्वहरण सहित जन्मकैदको फैसला भयो भने अन्य धेरैलाई जन्मकैद, लामो कैद तथा डाँडा कटाउने फैसला भयो। यसको लगत्तै राणा शासकहरुले माघ ९ गते शुक्रराज शास्त्रीलाई टेकुमा र ११ गते धर्मभक्तलाई सिफलमा फाँसी दिएर मारे भने १४ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानेर मारे।


त्यतिबेला राणाहरुले ठुलो विजय भएको महसुस गरेता पनि प्रजातन्त्रको बलियो आधारशिला शहिदहरुले वलिदान दिएको दिनमा नै खडा भइसकेको थियो । बोल्न नसके पनि आम नेपालीहरुको मनमा राणा शासन प्रति पहिलेको भन्दा पनि बढी घृणा पैदा भइसकेको थियो। आखिर यो घटनाको १० वर्ष पनि नबित्दै राणा शासन धराशायी भयो र मुलुकमा प्रजातन्त्रको आगमन भयो । टंकप्रसाद आचार्य लगायत सबै राजनैतिक बन्दीहरु २००७ साल फागुनमा कैद मुक्त भए ।

 

मुलुकमा प्रजातन्त्र त आयो तर त्यसपछिको ७० वर्षसम्म पनि जनताले आफ्नो हक, अधिकार र समृद्धिको स्वाद राम्ररी चाख्न पाएका छैनन् । शुरुका झण्डै चालिस वर्ष राजाहरु मात्र शक्तिशाली भए भने त्यसपछिको समय नेताहरु। जनता शक्तिशाली हुने र शहीदको सपना साकार हुने त खै कहिले हो कहिले। एकचोटी पाइने जीवन देश र जनताको लागि आहुती दिने शहीदहरुको सपना सच्चा रुपमा साकार पार्ने हो भने अझ पनि पार्टी, नेता, कार्यकर्ता, राष्ट्रसेवक र जनताले आफुलाई सच्याएर इमान्दारीका साथ अघि बढ्ने समय बितिसकेको छैन।'

 

—लेखक बिकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष हुन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार