• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

फरार अभियुक्तलाई उपप्रधानमन्त्रीको माला र अबीर

राजविराज । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले मंगलबार फरार सूचीमा रहेका एक जनालाई फूलमाला र अबीर लगाइदिएर पार्टीमा भित्र्याएका छन् ।

 

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय तोकिएका छिन्नमस्ता गाउँपालिका सखडाका रामनारायण यादवलाई पोखरेलले पार्टी प्रवेश गराएका हुन् । सो क्रममा सहरी विकासमन्त्री प्रभु साह, कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोलगायत सहभागी थिए ।

 

यादव विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चा रणवीर सिंह समूहका अध्यक्ष थिए । उनले आफ्नो भूमिगत नाम ‘रणवीर सिंह’ राखेका थिए । जनतान्त्रिकको ज्वाला सिंह समूहबाट अलग्गिएर यादवले छुट्टै समूह गठन गरेका थिए । सप्तरी प्रहरीले उक्त समूहका ‘किसन’ भनिने कमलेश यादवलाई २०६९ मंसिर २६ मा कर्तव्य ज्यान, आगजनी र डाँका मुद्दामा पक्राउ गरेको थियो । रामनारायणसँग मिलेर सुरक्षाकर्मीलाई लक्षित गरी सप्तरीको हनुमाननगर–कुनौली सडक खण्डमा पुलमुनि बम राखेको कमलेशले प्रहरीलाई बयान दिएका थिए । खोजी गर्दा प्रहरीले उनले भनेकै स्थानमा बम फेला पारेको थियो ।

 

सप्तरी प्रहरीले रामनारायणलाई पक्राउ गर्न २०६९ पुस ३ मा इलाका प्रहरी कार्यालय सखडालाई पत्राचार गरेको थियो । बम फेला परेपछि प्रहरीले रामनारायण र कमलेशमाथि बिस्फोटक पदार्थ समबन्धी मुद्दा चलाएको थियो । प्रहरी सहायक निरीक्षक कुशकुमार थापाको जाहेरीले नेपाल सरकार वादी भई जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत सप्तरीमा बिस्फोटक पदार्थ सम्बन्धी ऐनअनुसार कारबाहीको मागदाबी सहित २०६९ पुस २२ गते आरोप पत्र दायर भएको थियो । अवधेशकुमार झा/कान्तिपुर दैनिक 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार