• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

मेरो गीतमा व्यङग्य हुन्छ, उत्ताउलोपन हुँदैन

लोकगीतको शुरूवात 
म कमलपोखरीमा जन्मिएको भएपनि मेरो बाल्यकाल केही समय पूर्खौली घर दोलखामा नै बित्यो। बुबा मनकुमार बस्नेत सरकारी जागिरे हुनुहुन्थ्यो। आमा दोलखामा नै बस्नुहुन्थ्यो। गाँउले जीवन, साथीसंगतले लोकगीत र नृत्यमा रूची जाग्यो । उमेर बढ्दै जाँदा आमाले मलाई पढ्न काठमाडौं पठाउनुभयो। मलाई पहिलेदेखिनै नाचगानमा रूची थियो। स्कुल पढ्दा सांस्कृतिक भैरव नृत्य दलमा सहभागी हुने मौका पाएँ। मेरो राम्रो नाचले उनीहरूले मलाई त्यसमा सामेल गरे। केही समय त्यहीँ सक्रिय भएपछि बुबाको सरूवा तैलिहवा भयो। त्यहाँ गीत संगीतको खासै माहोल थिएन। मलाई रेडियोमा नेपाली गीत सुन्दा मज्जा लाग्थ्यो । म प्रायः गीतहरू सुनिनैरहन्थे । ६/७ बर्षको उमेर देखिनै मैले गीत गाउन थालेको थिएँ। १७ बर्षको मेरो पहिलो गीत २०१६ मा रेकर्ड भयो,जुन बेला म १७ बर्षको थिए। आमा फिल्ममा गीत गाउन म कलकत्ता पुगेको थिएँ । निर्देशक विह्वल साराले मलाई गोविन्द बहादुर गुरूङको साथमा त्यहाँ पुर्‍याएका थिए । त्यहाँ मैले जीवनमा पहिलोपटक बंगालीहरुको संगीतप्रतिको गहिरो अभ्यास, साधना, लगाव र न्यानो प्रेम देखेँ, जसले मेरो जीवनभरिलाई पुग्ने प्रेरणा जाग्यो । त्यहाँ मैले चौतारीमा र रिमझिम रिमझिम पानी पर्ला गीत पनि रेकर्ड गरे । जुन अत्यन्तै चर्चित बनेका थिए।

 

सरकारी जागिरे कसरी लोकगीतमा
मैले खेलकुदमा पनि काम गरे। पहिला म असी रूपयाँको जागिँर खान्थे। ६० रूपैयाँ आमालाई बुझाएर २० रूपैयाँमा ज्यान फालेर हिडेको मान्छे हुँ। ३९ वर्ष सञ्चयकोषमा जागिर खाएँ। जागिरसँगसँगै गायनलाई पनि सँगसँगै लगें। अहिलेसम्म दुईतीन सय गीत गाए होला । गीत खोज्न (सञ्चयकोष) बाट छुट्टि लिएर कुनाकन्दरा चहारिन्थ्यो। २०१६ सालमा ‘ए’ डिभिजन कै खेलाडीको रूपमा फुटबल खेले। अनेकन कुराहरू गरियो । त्यतिबेला मेरो बुबा नाटक संघको सचिव हुनुहुन्थ्यो। डेका काजी नेपनलको नामी फुटबलर हरिश चन्द्र सिनेमाको हिरो मक्त प्रल्लादको हिरो। अब बुबाहरू त्यस्ता थिए । त्यसैबाट घटेका हुनाले बुबाबाजेले गर्दा म गीतसंगीतमा लागेको हो। त्यसबेला काठमाडौं खासै ठुलो पनि थिएन, एउटा सानो फुच्चे त होनी । बाबुले पनि आर्शिवाद दिए । जनताले पनि माया गरे । त्यसैले पनि यो क्षेत्रमा आइयो ।

 

लोकगीतमा रुची
यो मेरो रुची होइन। म पहिले पपगायक हुँ। आधुनिक गायक पनि हो । मैले गाएको गीत ‘दिउला त्यो जोवन तिमीलाई नै दिउँला’ एकदमै चर्चित भयो । यसका लागि मैले नाक फुलाउनु पर्दैन। एकोहोरो लोकगीत गाएर मात्र के हुन्थ्यो र । बुद्धि त सबैको लिनु नै पर्छ। त्यसले गर्दा मैले के सिके भने पहिला रत्नदास प्रकाश गायक हामी भन्दा सिनियर हाम्रो बाउको पालाका। त्यसबेला यसो हेर्दा नारायणहिटिको दक्षिण पट्टी एउटा कृष्ण मन्दिर छ। म सानो बच्चामा जुनबेला मलाई केही थाहा थिएन । गीत र नाच भन्ने त्यहाँ हेर्न जाँदा हिन्दीमा नाटक गरे। राणाहरूको घरमा यसो देखाउँदै हिन्दीमा नाटक गर्थे। त्यसपछि गर्दै जाँदा नृत्य निर्देशक भैरवबहादुर थापा उहाँको चेला भएर मैले नेपाली नाच शुरू गरे। नाचमा गीत पनि गाउनु पर्ने हुन्थ्यो। त्यो गर्दा मैले गीत गाउने र नाच्ने पनि गर्थे । त्यसपछि २०१३ सालमा खिमबहादुर,बिखबहादुर भन्ने दुईवटा चाइना जाने गाइने यीनिहरूको संगतमा हुर्केर नेपाली गीतहरू जानियो । सिक्दै जाँदा धेरैसँगै चिनजान हुन थाल्यो । मलाई नाच्नमा भन्दा पनि गीतमा नै मन लाग्न थाल्यो ।

 

विदेश भ्रमण
भारत, चीन, जापान, युरोपका कयौं देश र अमेरिकाका विभिन्न सहरहरूमा मैले प्रस्तुति दिइसकेको छु । सन १९७० मा एक्सो नागोया जापानमा ‘हेर्दा राम्रो माछापुछ्रे मारी राम्रो माछा’ ‘बैगुनीलाई गुनले मार्छु खोजील्याईदेउ कहाँ छ’ भन्ने गीत गाएको थिएँ । १९७४ मा अन्तर्राष्ट्रिय फोक्क डान्स फेस्टिवलमा जर्मनी, फ्रान्स, बेल्जियम, अस्ट्रिया, युगोस्लाभियामा ११२ देशको कार्यक्रममा सहभागी थिएँ । हङकङ सिङ्गापुर, अस्ट्रेलियाको सिड्नी, मेलवर्नका कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिइसकेको छु ।

 

सिकारमा रूची
म सिकार खेल्ने सौखमा हुर्किएको मान्छे । म न पुगेको जङ्गल छैन होला । धादिङदेखि नुवाकोटसम्म म सिकार खेल्न जान्थे । जङ्गलमा सिकार खेल्न जाँदा कहिले बाघसँग जम्माभेट हुन्थ्यो त कहिले स्यालसँग ।

 

विवादमा गीत
यो कुरा पहिले पनि भएको थियो। पहिले मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा प्रेमका गीत धेरै नै गाइन्थ्यो । त्यतिबेला एकजना पत्रकार भाइले मलाई किन कुमार दाई तपाईको सबै गीत रेडियो नेपालले झिकेर माटोमा गाड्यो भनेर सोधेको थियो। त्यतिबेला मैले के भने कि भाइ यो भनेको पावरको कुरा हो। पावरको बेलामा जस्ले जस्तो गर्छन् गरून्। हामीलाई भन्नू केही छैन यदि महिलालाई घरबाट बाहिर निस्कन दिनु भएन । पशुपतिनाथ उखलेर फ्याक्नु पर्‍यो भने मैले त्यो भाईलाई भनेको थिएँ । उसले त्यसलाई छाप्यो पनि। पछि त्यसले धेरैलाई चोट पुर्‍यायो । मनमोहनजीले त अवश्यै भनेका थिए होला। प्रधानमन्त्री हुने बित्तिकै गीत व्यान गर भनर त पक्कै भन्नू भएको थिएन होला । अरू नै धुपौरेहरूले गर्दा गीत व्यान्ड भएको थियो। फेरि पछि उही मनमोहनजीले म कुमार बस्नेतको फ्यान भन्नु भयो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतले म कुमार बस्नेत को फ्यान भन्नुभयो । त्यो मेरो लागि गौरवको कुरा थियो। गीत नबुझेकाहरूले यस्तो गरेका थिएँ । यो छोरी भन्दा आमा तरुनी भन्ने गीत को कुरा हो । त्यो बेला अबुझ भएका दुई र चारजानाहरू कराएका थिए ।

 

अहिले तपाईले यो गीत बेठिक छ भनेर पक्कै भन्नू हुन्न । धनकुटामा मैले मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला हुँदा यो मेरो गीत माइकल ज्याक्सनले गाएको भए सुपरहिट हुन्थ्यो । म गाइनेले गाएको भएर गाल पाएँ भनेर भनेको थिए । म समाजमा जस्तो भईरहेको छ त्यस्तै गीत गाउँछु । मेरो गीत यस्ता प्रवत्तिप्रति व्यंग्य हुन्छ उत्ताउलोपन हुँदैन ।

 

भैरहवामा एउटा कलेजको उद्घाटन कार्यक्रममा मलाई गीत गाउन बोलाइएको थियो । त्यसबेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि जानुभएको थियो । म रिक्सामा कार्यक्रमस्थल तिर जाँदै थिए । बाटोमा १६/१७ जना भाईबिहिनीहरू आएर रिक्सा घेरे । एकजनाले ‘तपाईं  कुमार बस्नेत होइन’ भनेर मलाई सोधिन । मलाई त हुल देखेर एकदमै डर लाग्यो । कतै मलाई थप्पड नै हान्न त आएका होइन भन्ने पनि लाग्यो तर मलाई यही गीत बेलुका कार्यक्रममा गाउनुहोस् है पो भन्न आएका रहेछन् । मलाई त अचम्म लाग्यो । मैले कार्यक्रममा अरू गीतहरूको साथै यो गीत पनि गाए । ठिटाठिटिहरू खुब नाचे । माथि बालकोनीबाट पनि मान्छे उफ्रिन थाले, त्यो माहोल देखेर प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसमेत दङ्ग पर्नुभएको थियो ।

 

माआ त्से तुङलाई गीत सुनाएको
मैले विश्वका ठुला नेताहरूलाई गीत सुनाएको छु । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल आउँदा मैले गीत गाएको थिए । उनले मलाई मेरो ढाडमा हात राखेर ‘अच्छाकुमार अच्छा’ भनेर भनेका थिए । भारतमा धेरै कलाकारहरूलाई मैले भेट्ने मौका पाएका छु । बेलायत की महारानी क्युन एलिजावेथलाई पनि मैले गीत सुनाएको थिएँ । सन् १९६५ मा सरकारले कार्यक्रम गर्न भनेर चीन लगेको थियो । त्यतिबेला माआ त्से तुङलाई भेट्ने र गीत सुनाउने मौका पाए । त्यतिबेला चिनीयाँ भाषामै गीत गाएर सुनाउँदा माओ दंग परेका थिए।  त्यसपछि उत्तर कोरिया जाँदा राष्टप्रमुख किम इल सुङलाई कोरियन भाषामै गीत सुनाएको थिएँ ।

 

सधै उस्तै
यो सबै व्यायामले नै गर्दा हो । पहिले-पहिले धेरै डाडाँकाडाँ हिडियो । पहिला अहिले जस्तो फुर्सद पनि कहाँ हुन्थ्यो र । यताउता जाँदा नै बित्थ्यो । यसले पनि मलाई फिट राखेको हो। अब ह्यान्सम म पहिला पनि थिए अहिले पनि छु ।
 
प्रस्तुति : सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार