• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

देश ठूलो संकटमा जाँदैछ,न्यायालयमा समेत आफ्नो मान्छे भर्ने काम भयो : अध्यक्ष थापा

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष  कमल थापाले अहिलेको संकटको मूल जड दोस्रो जनआन्दोलन भएको टिप्पणी गरेका छन ।


आइतबार कावासोतीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संसद् पुनर्स्थापना गरेर केपी ओलीको सट्टा प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदैमा समस्या समाधान नहुने बताए । थापाले दुईतिहाइको बहुमतको सरकारले जस्तोसुकै व्यवस्था ल्याउन सक्ने भए पनि शक्ति र अधिकारको सदुपयोग नगरेर दुरुपयोग मात्र गरेको आरोप लगाए ।

 

थापाले भने, ‘न्यायालयमा समेत आफ्नो मान्छे भर्ने काम भयो । अहिले सरकार र सडक दुवैबाट न्यायको प्रतिमूर्ति सर्वोच्चमाथि औँला ठड्याउने, दबाब दिने, तर्साउने काम भइरहेको छ । जसले गर्दा देश ठूलो संकटमा जाँदै छ ।’

 

थापाले अहिलेको निकास भनेको विप्लवदेखि राजासम्म अट्ने लोकतान्त्रिक व्यवस्थासहितको राजतन्त्र भएको दाबी गरेका छन । हिन्दूराष्ट्र र राजासहितको लोकतान्त्रिक व्यवस्थाले मात्र सबै समस्याको समाधान हुने थापाको दावी छ ।

 

राजसंस्था नभएकै कारण देशमा भ्रष्टाचार मौलाएको, विदेशी शक्तिको चलखेल बढेको उनको दाबी छ । भेलामा राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले अबको विकल्प भनेको चुनावमा गएर नयाँ जनादेश लिनु  भएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार