• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

माघ १७ देखि २३ सम्म ‘किताब जात्रा’ हुने

काठमाडौं ।  ‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । 

 

‘कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेको सन्दर्भमा यस बर्ष किताब जात्रा मास मिडिया र भर्चुअल मिडिया मार्फत सम्पन्न गरिनेछ’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७७’ का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले बताए । उनले भने, ‘त्यसका लागि एपी वान एचडी टेलिभिजन तथा किताब यात्रा डटकमको किताब यात्रा एपसँग सहकार्य गरिएको छ ।’ उनका अनुसार माघ १७ गतेबाट हरेक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गते ५ बजेबाट ७ बजेसम्म ‘किताब जात्रा’ उल्लेखित माध्यमबाट हेर्न सकिनेछ । त्यसै सन्दर्भमा किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकहरुबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए । 
  

‘किताब जात्रा’ को ‘टाइटल स्पोन्सर’ नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने होइन, भोलि हेरिने जात्राको रुपमा ‘किताब जात्रा’ लाई आफूहरुले हेरेको बताए । 

 

‘नेपाल टेलिकम’ को ‘इन एसोसिएसन’मा हुन लागेको ‘नबिल किताब जात्रा–२०७७’सँग ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र ई–सेवा सहकार्य गरेका छन् । पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’ को यो तेस्रो संस्करण हो । यसमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व बीच अन्तरक्रिया गरिन्छ । 

 

यसबर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरु समावेश ७ वटा सेशन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने सात वटा सेशनका साथै अन्य विभिन्न प्रकृतिका कार्यक्रमहरु रहने फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए । 

 

त्यसैगरी यसै अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने उनले जानकारी दिए। नगदसहित प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो। उनी फाउन्डेसनका संस्थापक अध्यक्ष ऋषिराम अधिकारीको पिता हुन् । 

 

गत वर्षको प्रेम साहित्य सम्मान साहित्य साधक सरुभक्तलाई रु. ५५ हजार ५ सय ५५ सहित प्रदान गरिएको थियो । त्यसैगरी, हरेक नागरिकले सहज रुपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने ध्येयका साथ अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको कम्पनी किताब यात्रा प्रा.लि.ले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्नेछ । 

 

यो अवार्ड गत वर्ष आख्यानकार अमर न्यौपाने लिखित ‘गुलाबी उमेर’ ले प्राप्त गरेको थियो । सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को अन्तिम दिन नै घोषणा गरिने अनुरागीको भनाई थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार