• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने स्वास्थ्य ‘प्रोटोकल’का कारण धमाधम रद्ध हुँदै बुकिङ

काठमाडौं। सात दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने स्वास्थ्य ‘प्रोटोकल’का कारण नेपाल घुम्न चाहने विदेशी पर्यटक आकर्षित हुन सकेका छैनन् । नेपाल घुमघामको परिस्थितिबारे उनीहरू पर्यटन व्यवसायीसँग जानकारी त लिन्छन् तर विभिन्न प्रावधानका कारण बुकिङ चाहिँ गर्दैनन् । बुकिङ नै गरेका कतिपय पर्यटकले यस्ता प्रावधानकै कारण बुकिङ रद्द गर्नुपरेको अवस्था छ ।


नेपाल पर्यटन बोर्डका अनुसार केही समयअघि मात्र विभिन्न छवटा कम्पनीले नेपालका लागि गरेको १३ लाख डलरको बुकिङ रद्द गरेको छ । इन्टरपे्रट ट्राभल, नेसनल जिओग्राफिक एडभेन्चर, वल्र्ड एक्सपिडिसिन, आरईआईए ट्राभल, बेटर फिल्ड एन्ड रोबिन्सन ट्राभलले गरेको सो रकम बराबरको बुकिङ रद्द गरेको बोर्डका प्रमुख कार्यकारी डा। धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।


“क्यानडाबाट पनि पर्यटकले जानकारी लिएका छन् । मध्यपूर्वमा रहेका तीन हजारभन्दा बढी पर्यटकले नयाँ वर्षमा नेपाल आउने विषयमा चासो राखेका छन्,” उहाँले भन्नुभयो, “तर सात दिन क्वारेन्टाइन बस्नैपर्ने, अन अराइभल भिसा नपाइनेजस्ता समस्याका कारण त्यस्ता बुकिङ हुन सकेका छैनन् । ”


चीन र भारतका विभिन्न ठाउँबाट नेपाल भ्रमणको जानकारी लिनेको ओइरो नै भए पनि प्रोटोकल बुझेपछि बुकिङ हुन छाडेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का निवर्तमान अध्यक्ष सीएन पाण्डेले जानकारी दिनुभयो । “अहिले मध्यपूर्वबाट पनि बुकिङका लागि चासो आउँछ तर केही अप्ठ्यारा प्रावधानका कारण पर्यटक आउन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो । नेपाल घुम्न आउने पर्यटकको बसाइ नै सात÷आठ दिने हुने भएकाले त्यतिन्जेल क्वारेन्टाइन बस्नुपर्ने भएपछि अन्य गन्तव्य नै पर्यटकको रोजाइमा पर्न थालेको उहाँले बताउनुभयो ।

 


त्यसो त सरकारले पर्यटकका लागि नै भनेर अझै नेपाल खुला गरिसकेको छैन । सीमाबाट नेपाल भ्रमणकै लागि भित्रिने सुविधा पनि छैन तर भारतबाट उडानमार्फत नेपाल आउनेले क्वारेन्टाइन बस्नु नपर्ने तर युरोप, अमेरिकाबाट आउनेले बस्नुपर्नेजस्ता विरोधाभास नीतिले नेपालको पर्यटन क्षेत्रमा समस्या ल्याउन सक्ने रेग्मीको भनाइ छ । “नेपालमा नयाँ सिजन पनि आउँदै छ । त्यतिबेला पनि हामीले पर्यटक ल्याउन सकेनौँ भने यो वर्ष नै खेर जाने देखिन्छ,” उहाँले भन्नुभयो । स्वास्थ्य मापदण्डको पालना भइरहेको अहिलेको परिस्थितिमा पर्यटक ल्याउन सक्ने पर्याप्त सम्भावना भए पनि नीतिगत असहयोग भएको उहाँको बुझाइ छ । पर्यटन क्षेत्रमा अर्बौं लगानी भएकाले त्यसको संरक्षणका लागि पनि पर्यटकलाई नेपाल भिœयाउन सकिने गरी प्रोटोकलबाट सहजीकरण गरिनुपर्ने उहाँले बताउनुभयो ।

 

पर्यटकलाई ‘प्याकेज’ ल्याउँदै बोर्ड

प्रोटोकलका कारण पर्यटकले बुकिङ नै रद्द गर्न थालेपछि बोर्ड आफैँले नयाँ प्याकेजको तयारी गर्न थालेको छ । जसमा मुख्य विमानस्थलसहित सबै नाकामा स्वाब लिने, सिमकार्ड उपलब्ध गराउने र बीमा गर्ने व्यवस्था बोर्डले नै गर्ने तयारी गरिरहेको छ । “स्वाब दिएको छिटोमा छ घण्टा र बढीमा २४ घण्टाभित्र त्यसको जानकारी पर्यटकको मोबाइलमा पठाउने गरी व्यवस्था गर्दै छौँ,” रेग्ग्मीले भन्नुभयो । बोर्डले दुई हजार सात सय रुपियाँमा यो सबै प्याकेज उपलब्ध गराउने जनाएको छ । यसका लागि सम्बन्धित निकायसँग छलफल भइसकेको पनि बोर्डले जनाएको छ ।विश्वास रेग्मी/ गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार