• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

ओलीसँग सानो अरिङ्गालको झुण्ड र साइबर सेना मात्रै छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गरि प्रतिनिधिसभा पुनर्स्थापना गरिने बताए ।

 

शुक्रबार आफ्नो समूहको केन्द्रीय सङ्घर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गर्दै प्रतिनिधिसभाको पुनर्गठन गरिने बताएका हुन ।

 

उनले पार्टीले केपी ओली बनाएको भएपनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई पार्टीले सिध्याउने तर्क गरे। भष्मासुर प्रवृत्तिको अन्त्यपछि नयाँ ढङ्गले अघि बढ्ने उनको भनाइ थियो ।

 

प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको पनि बताए। अरू राजनीतिक दलले फेरि आफूहरू केपी ओलीसँग मिल्ने हुन् कि भन्ने आशङ्का गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने उनको भनाई थियो ।

 

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिँडेको टिप्पणी गरे। ओली निर्वाचित व्यक्ति भएपनि संवैधानिक कु गरेको उनले बताए। नेपाली नागरिक ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उनको भनाइ थियो ।

 

संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राखे पनि ओलीले आफूमा मात्रै शक्ति केन्द्रित गरेको उनले बताए। एकाधिकारवादको विरोधमा आफूहरू रहेको नेता नेपालको भनाइ छ । प्रधानमन्त्री ओलीसँग पार्टी र संसद्को बहुमत हिस्सा नरहेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भए पनि नरसंहार गरेको अध्यक्ष नेपालको भनाइ छ । 

 

पार्टीको सम्पूर्ण तह र तप्कामा आफूहरूको अत्यधिक बहुमत भएको र ओलीसँग सानो अरिङ्गालको झुण्ड र साइबर सेना मात्रै भएको उनले बताए। अध्यक्ष नेपालले सूर्य चिह्न निर्वाचन आयोगबाट ल्याउने मान्छे आफू जिउँदै भएकाले सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार