• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

अमेरिकी प्रजातन्त्र र नेपाली राजनीति

१५ डिसेम्बर १७८८ मा शुरु भएर १० जनवरी १७८९ मा सक्किएको संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपतीय निर्वाचनमा जर्ज वासिङ्गटनले सर्वसम्मत विजय हासिल गरेर अमेरिकाका प्रथम निर्वाचित राष्ट्रपति बने उनी। अमेरिकामा यसरी दुई वटा वर्षलाई छुने गरी चुनाव भएको यो एक पटक मात्र हो। अमेरिकी राष्ट्रपतिहरुले आफ्नो पहिलो चार वर्षे कार्यकाल सकिने बेलामा दोश्रो कार्यकालका निम्ति एक पटक फेरी चुनाव लड्न पाउँछन्। आजसम्मका ४५ जना निर्वाचित राष्ट्रपतिहरु मध्ये डोनाल्ड ट्रम्प सहित ६ जना राष्ट्रपतिहरु पुनःनिर्वाचित हुन सकेनन् भने अमेरिकाका नवनिर्वाचित तथा ४६औँ राष्ट्रपति जोए वाइडेन आजसम्मका राष्ट्रपतिहरु मध्ये सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन् भने थियोडोर रुजवेल्ट सबैभन्दा कम उमेरका राष्ट्रपति थिए। अमेरिकी सिनेटका सदस्यहरुको औसत उमेर ६९ वर्षको छ । आफु ७९ वर्षको वृद्ध उमेरमा राष्ट्रपति भएको भए पनि वाइडेनले उपराष्ट्रपतिमा एक अश्वेत र झन् दक्षिण एशियामा पुर्खौली बसोबास भएकी ५७ वर्षिया महिला नेतृ कमला ह्यारिसलाई उपराष्ट्रपतिको रुपमा चुनावमा उठाए र आज कमला अमेरिकाकी प्रथम महिला उपराष्ट्रपति हुन पुगिन्। त्यस्तै वाराक हुसेन ओवामा ४८ वर्षको उमेरमा अमेरिकाका ४४औँ राष्ट्रपति हुँदा उनले आफु भन्दा निकै जेठा र पाका व्यक्ति यिनै जोए वाइडेनलाई उपराष्ट्रपतिका लागि रोजेका थिए ।  यसरी शासन सत्ता सम्हाल्न पाका र युवा सबैको नै आवश्यकता पर्ने कुरा अमेरिकाको अनुभवले बताउँछ । 

 

विश्वका धेरै विकसित राष्ट्रहरुमा हिजो–आज नयाँ पिँढीको युवा नेतृत्वले शासन चलाउने होड नै चलिरहेको बेला आज कोरोनाको कहरबाट सबैभन्दा बढी प्रभावित भएको र राजनीतिक उथल पुथलमा समेत अति नै धेरै फँसेको राष्ट्र संयुक्त राज्य अमेरिकामा जोए वाइडेन जस्ता वृद्ध उमेरका तथा खारिएका राजनीतिज्ञ राष्ट्रपति तथा पाका अभिभावक हुन पुगेकाले अमेरिकी जनताहरु निकै खुशीको सास फेर्दै हर्षित भएका छन् भने उनीहरु अब अमेरिकामा पुन : एकता छाएर आफ्नो देश समृद्धितिर फेरी लम्कने कुरामा आशावादी हुन थालेका छन्। वास्तवमा अमेरिकाका शिक्षित नागरिकहरु विगत केही समय देखि आफ्नो मुलुकको सरकार र प्रशासनको खुकुलोपना देखि निकै निराश भएका थिए। उनीहरुको निराशा सिएनएन तथा अन्य अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रमहरुमा समेत झल्किने गर्दथ्यो । नयाँ राष्ट्रपतिले आफ्नो पद वहाली गरेको केही घण्टा पश्चात नै ट्रम्पले विगतमा गरेका केही भाँडभैलोहरुलाई सच्याउने कामहरुको शुरुवात गरेका छन् । उनले पेरिस सम्झौतालाई मान्यता दिने देखि लिएर कोरोनाको प्रभाव घटाउँदै लैजान तुरन्त प्रभावकारी कदमहरु चालिने र विश्व स्वास्थ्य संगठनलाई पनि सक्दो मद्दत गर्ने तथा ट्रम्पको अवहेलनामा परेका सरुवारोग विशेषज्ञ डा. एन्थोनी फाउसीलाई आजको विकराल महामारीसँग लड्ने कार्यभार सुम्पेका छन् ।

 

आजसम्म कै अमेरिकी राष्ट्रपतिहरुमा डोनाल्ड ट्रम्प सबैभन्दा निकम्मा र दुई दुई चोटी महाभियोग खेप्ने एक मात्र राष्ट्रपति बन्न पुगे। आफु अति नै धनाढ्य भएकाले यिनको मुख्य ध्येय नै सँधै धनीहरुलाई झनै धनी बनाउने तिर केन्द्रित भयो, जसले गर्दा आम अमेरिकी जनताको समृद्धिमा अति नै असर पर्‍यो । अधिक समय विदेश भ्रमणमा बिताउने गरेका उनको विदेश नीतिले पनि कुनै सार्थकता ल्याउन सकेन भने, उनको पालामा अमेरिकाका अति घनिष्ट मित्र राष्ट्रहरु समेत अमेरिकासँगको सम्बन्धमा अनिर्णयका बन्दी हुन पुगे। संयुक्त राष्ट्र संघको विश्व पर्यावरण र मौषम सम्बन्धि सम्झौतालाई नमान्ने देखि लिएर ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइरहेको अनुदानमा समेत रोक लगाए । चीन जस्तो निकट भविश्यमा विश्व अर्थतन्त्र, राजनीति, विज्ञान तथा प्रविधिको क्षेत्रमा अग्रणी स्थान हासिल गर्न लागेको राष्ट्रलाई होच्याउने, अन्य मुलुकहरुबाट अलग्याउने, उ सँग राम्रो सम्बन्ध नभएका राष्ट्रहरुलाई उक्साउने तथा चीनलाई चारैतिरबाट घेर्ने रणनीति लिने जस्ता ट्रम्पका अनेकन हथकण्डाहरु विफल हुन गए भने राष्ट्रपतिको रुपमा जनवरी २० मा एन्ड्र्‍यु एयर वेसबाट उनले दिएको भाषणमा पनि कोरोना भाइरसलाई “चाइना भाइरस” भन्न छोडेनन्। उत्तर कोरिया र इरानले विकास गरेका सम्पुर्ण क्षेप्यास्त्र तथा हतियारहरु नष्ट गरे सम्बन्ध सुधार हुनसक्ने र आर्थिक नाकावन्दी हट्ने जस्ता एकतर्फी असम्भव बच्कना कुराहरु अघि सार्ने, मध्यपुर्वका केही राष्ट्रहरुले छिमेकी राष्ट्रहरुमाथि गर्दै आएको हस्तक्षेप, उनको आफ्नै आन्तरिक राजनीतिमा समेत चरम भ्रष्टाचार र अत्याचार हुँदाहुँदै पनि आँखा चिम्लेर बस्ने तथा यस्ता मुलुकका राजा–महाराजाहरुबाट हुने गरेका ढुंगेयुगीन अन्याय, जघन्य अपराध, अमानुषिक मृत्युदण्ड र अन्य पाषाणयुगीन सजाय तथा महिला अधिकार र मानव अधिकारको चरम हननलाई समेत मौन समर्थन गरेर उनको पृष्ठपोषण गर्ने काम ट्रम्प र उनको प्रशासनले गर्‍यो । आफ्नो राष्ट्रपतीय पदापधि सकिने समयमा पनि जघन्य हत्या गरे वापत मृत्युदण्ड कुरेर बसेकी महिला लिजा मन्टगोमरीको सजायलाई जनमकैदमा परिणत गर्ने चेष्टा समेत उनले गरेनन् र आखिर ५२ वर्षिया मन्टगोमरी विगत ६७ वर्षमा अमेरिकामा मृत्युदण्ड पाउने प्रथम महिला हुन पुगिन्। जबकी उनले आफ्नो पदावधिको अन्तिम समयसम्म पनि विभिन्न खाले अपराध वापत कैदमा परेका आफ्ना मन परेका मानिसहरुलाई माफी दिएर मुक्त गराइदिए ।

 

अमेरिकाका छिमेकी राष्ट्रहरुबाट आप्रवासी र लागु औषध भित्रिए भन्ने वहानामा असम्भव तवरले माइलौँसम्म अपुरा फलामे पर्खाल बनाएर राष्ट्रको ढुकुटी रित्याउने तथा रंगभेदको नीतिलाई समेत आजको युगमा प्रश्रय दिने काम गरे उनले। यस्तै नीतिहरुले गर्दा अमेरिकामा पछिल्लो समयमा धेरै राजनैतिक र साम्प्रदायिक झडपहरु भए। हुँदाहुँदा कोरोनाको त्यति ठुलो महामारीलाई पनि यो केही पनि होइन, मास्क लगाउनु वा सामाजिक दुरीको ख्याल राख्नुपर्दैन भनेर राष्ट्रपति जस्तो व्यक्तिले नै यसको विपक्षमा बोल्दै हिँडेकाले नै आज संयुक्त राज्य अमेरिका कोरोनाको प्रकोपमा सबैभन्दा अग्र पंक्तिको मुलुक बन्न पुगेको छ भने यहाँ अहिलेसम्म ४ लाख भन्दा बढी मानिसले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । राष्ट्रपतिको रुपमा उनको अन्तिम भाषणको समयमा समेत उनी लगायत उनका परिवारका सदस्य तथा उनका समर्थकहरु कसैले पनि मास्क लगाउन आवश्यक सम्झेका थिएनन् भने उता क्यापिटोल हिलको नयाँ राष्ट्रपतिको पद वहालीको कार्यक्रममा भने सबै आमन्त्रित पाहुनाहरु मास्क लगाएर सामाजिक दुरी कायम गरेर बसेका थिए भने हातमा पञ्जा लगाएर हात मिलाई रहेका थिए।

 

मुलुकको आम निर्वाचनमा हार भोगेका आजसम्मका अधिकांश अमेरिकी राष्ट्रपतिहरुले आफ्नो हार सहजै स्विकार गरेर निर्वाचित नेतालाई शान्तिपुर्ण तवरले सत्ता हस्तान्तरण गरेका छन् भने, डोनाल्ड ट्रम्प एउटा अपवाद राष्ट्रपति भए, जसले आफ्नो हार मात्र स्विकार नगरेका होइनन् बल्की उनले यसपालीको चुनाव नै धाँधलीयुक्त भएको अभिव्यक्ति दिएर पुरै अमेरिकाको प्रजातान्त्रिक प्रणालीको नै उपहास गरे तथा पद त्याग गर्नु अघि विभिन्न खाले उपद्रोहरु पच्चाए। जनवरी २० तारिखमा नयाँ राष्ट्रपतिलाई पद हस्तान्तरण नै नगरी उनी ह्वाइट हाउसबाट बाहिरिए। आजभन्दा करिव १५० वर्ष अघि रिपव्लिकन राष्ट्रपति अव्राहम लिंकनको हत्या पश्चात राष्ट्रपति बनेका वार–डेमोक्रेट एन्ड्र्‍यु जोनसनले पनि उनी पछि राष्ट्रपतिमा चुनिएका युलिजी ग्रान्टलाई यसैगरी सत्ता हस्तान्तरण नगरी ह्वाइट हाउसबाट बाहिरिएका थिए। समग्रमा डोनाल्ड ट्रम्पले सम्पुर्ण राष्ट्रको भन्दा पनि आफ्नो रिपव्लिकन पार्टीको मात्र राष्ट्रपति हुन रुचाए। केही समय अघि भएको राष्ट्रपतीय चुनावको प्रत्यक्ष वहस (लाइभ डिवेट) मा डेमोक्रेटिक पार्टीका प्रत्याशी जोए वाइडेनले पनि ट्रम्पले आफ्नो पार्टीको मात्र राष्ट्रपति हुन रुचाएको र आफु राष्ट्रपतिमा चुनिएको खण्डमा डेमोक्रेटिक र रिपव्लिकन पार्टी दुबैका समर्थक अर्थात् आफुलाई भोट दिने वा नदिने सबैको तथा पुरै देशको राष्ट्रपतिको भूमिका खेल्ने कुरा बताएका थिए । उनले भने वमोजिम नै नयाँ राष्ट्रपतिको शपथ ग्रहणको दिन बिहान उनले मुलुकको रक्षाको निम्ति चर्चमा प्रार्थना गर्न अमेरिकी कंगे्रसका सबै सदस्यहरुलाई आमन्त्रण गरेका थिए भने आफ्नो उद्घाटन भाषणमा समेत आफु पुरै अमेरिकी राष्ट्रको राष्ट्रपति भएको कुरा दोहोर्‍याएका थिए ।

 

केही समय अघि ट्वीटर मार्पmत डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई उक्साउने खालका अभिव्यक्तिहरु पठाएपछि उनका हजारौँ समर्थकहरु र सो भीडमा मिसिएका अन्य धेरै अपराधी स्वभावका व्यक्तिहरुले क्यापिटोल हिलस्थित संसदमा धावा बोलेर ठुलो तोडफोड तथा आतंक मच्चाए। झण्डै आधा दर्जन आम नागरिक र सुरक्षाकर्मीको सो घटनामा मृत्यु भएको थियो। यो घटनालाई अमेरिकामा प्रजातन्त्र माथिको हमलाको रुपमा लिइएको छ। यो घटनाले गर्दा डोनाल्ड ट्रम्प आफ्नै पार्टी भित्र समेत बदनाम भए भने अमेरिकी इतिहासमा नै उनले एक शिखण्डीको रुपमा नाम लेखाए। अमेरिकी राष्ट्रपति जस्तो शक्तिशाली र संबेदनशील पदमा बसेर यस्तो घटिया र अशोभनीय हर्कत गर्ने उनीआजसम्म कै एक्ला राष्ट्रपति हुन गए। नयाँ राष्ट्रपतिको पद वहालीको कार्यक्रममा समेत ट्रम्प उपस्थित नभएकाले उपराष्ट्रपति माइक पेन्सले वाइडेनलाई सत्ता हस्तान्तरण गरे। नयाँ राष्ट्रपतिको लागि आफ्नो कार्यकालमा सफा गर्नको निम्ति ट्रम्पले अथाह फोहरहरु जम्मा गरिदिएका छन्। त्यसैले वाइडेन र उनको टोलीले आउँदा दिनहरुमा निकै धेरै चुनौतीहरुको सामना गर्नुपर्ने छ तर वाइडेन कै भनाईमा “हामी गर्न सक्छौँ” भन्ने तिन शव्दले नयाँ अभियान कै रुप लिने देखिन्छ ।

 

नेपाल तथा अन्य अल्प विकसित र विकाशशील राष्ट्रहरुमा प्रजातान्त्रिक मूल्य र मान्यताको अवमुल्यन गर्ने चलन नयाँ होइन । तर विकसित राष्ट्रहरुमा भने डोनाल्ड ट्रम्पले गरेको जस्तो अप्रजातान्त्रिक र अशिष्ट व्यवहार ज्यादै नै अचम्मको र निन्दनीय कुरा नै हो। चुनावमा धाँधली गर्नु, सत्तामा पुगेपछिको उन्माद, चुनावी प्रचारमा भन्ने एकथरी कुरा र जितेपछि गर्ने विपरित काम, र विपक्षीको त कुरै छोडौँ, आफ्नै पार्टीका मानिसहरुलाई पनि चिन्न छाड्ने परम्परा सबैजसा अविकसित मुलुकहरुमा चलि नै रहेका हुन्छन्। भारतमा राजिव गान्धि जस्ता पश्चिमा मुलुकमा अध्ययन गरेका विमान चालक प्रधानमन्त्री हुँदा उनले केही समय विपक्षी पार्टीका नेताहरुलाई पनि वरोवर आमन्त्रण गरेर सल्लाह सुझावहरु लिने गरेका थिए। तर यस्तो कार्य यदाकदा मात्र हुने कुरा हो तेश्रो मुलुकमा। नेपालको त कुरै छोडौँ । यहाँ जस्ता उत्कृष्ट सम्विधान र योजनाहरु अन्य मुलुकहरुमा विरलै बन्लान् तर कार्यान्वयनमा आउँदैनन् । षडयन्त्र, भ्रष्टाचार, नातावाद, कृपावाद र खुराफात त हाम्रो रगतमा नै दौडेका हुन्छन् । हामी जुन दुष्टताको खिलाफ लड्दछौँ, मौका पाउने वित्तिकै अझ ठुला दुष्ट भएर प्रस्तुत हुन्छौँ । राष्ट्रियता, जनहित, लोक कल्याण, मुलुकको विकास, एकता वा कुनै पनि समस्याको समाधान भन्दा ठुलो कुरा आफु कसरी सत्तामा पुग्ने र यसको निम्ति के कस्ता हतकण्डाहरु अपनाउने भन्ने कुराले नै महत्व पाउँछ हाम्रो नेपाली राजनीतिमा । तर हामी जनताको निन्द्रा भने कुम्भकर्णको भन्दा पनि कडा हुन्छ । हामी एक पटक सुतेर जाग्न झण्डै दश वर्ष लाग्दछ ।

 

विकसित मुलुकहरुको प्रजातन्त्र र विकास प्रकृयाहरुबाट हाम्रा जस्ता अल्प विकसित मुलुकहरुले धेरै कुरा सिक्न सक्दछन्। तर विकसित मुलुकमा नै डोनाल्ड ट्रम्प जस्ता अराजक भाँडहरु शासकहरुको पंक्तिमा पुगेपछि भने हाम्रा जस्ता मुलुकका नेताहरु निकै खुशी र उत्साहित हुने रहेछन् । हाल नेपाल, भारत, वंगलादेश र अन्य दक्षिण एशियाली मुलुकहरु र खासगरी अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुका अग्रपंक्तिका धेरै नेताहरु डोनाल्ड ट्रम्पलाई आफ्ना रोल मोडल सम्झन्छन्। ट्रम्पको मुर्खतापुर्ण र अहंकारी शासनले उनिहरुको हौसलामा ज्यादै धेरै वृद्धि भएको छ। ट्रम्प जस्तै आज हाम्रो देशका नेताहरुले पनि कोरोनाको महामारीबाट जनतालाई राहत पुर्‍याउने र उनीहरुको जिउ ज्यान बचाउने कुरा बिर्सिसकेका छन्। अब त अदालत धाउने, सडक तताउने, जनतालाई उचाल्ने, हडताल र आन्दोलन चर्काउने र तोडफोड गर्ने, संसद भंग गर्ने, अविश्वासको प्रस्ताव ल्याउने, चुनावको नाममा अरवौँको खती गर्ने, नेता तथा कार्यकर्ताहरु आफुतिर तान्ने र यही मौकामा आफ्नालाई विभिन्न पदहरुमा नियुक्त गर्ने काम विभिन्न थरीका खेमाहरुको म्यान्डेट नै भएको छ । बिचरा जनता भने चुनावको दिन भोट हाल्ने आफ्नो एक मात्र नागरिक हकको प्रतिक्षामा सँधै बस्नुपर्ने र राष्ट्रिय प्राथमिकताका र अन्य महत्वपुर्ण आयोजनाहरु समेत ओझेलमा पर्नुपर्ने।

 

डोनाल्ड ट्रम्प जस्ता खलनायक वाहेक विश्वमा प्रभावकारी नेताहरु पनि त छन् नी। झन् आज त युवा नेताहरुको युग हो। हामीले दक्षिण एशियाका मुलुकहरुमा न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न, फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिन वा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो जस्ता युवाहरुको नेतृत्वमा बनेको जस्तो सरकार देख्ने कहिले होला खै। विश्वका जल्दा बल्दा नेताहरुको कार्यशैलीबाट हाम्रा नेताहरु प्रभावित भएर राष्ट्र निर्माणमा जुट्ने पनि खै कहिले हो। दक्षिण एशियाका देशहरुमा पाकिस्तानमा वेनजीर भुट्टो ३५ वर्षको उमेरमा र जुल्फीकार अली भुट्टो ४५ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए भने इमरान खान ६६ वर्षको उमेरमा। अन्य केही प्रधानमन्त्रीहरु पनि त्यहाँ ५०–६० को हाराहारीमा नै नेतृत्वदायी पदमा पुगेका थिए। भारतमा पनि इन्दिरा गान्धि ४९ वर्षको उमेरमा र उनका छोरा राजिव गान्धि ४० वर्षको उमेरमा नै प्रधानमन्त्री भएका थिए । यस्तो युवा उमेर समुहको नेतृत्वले केही परिवर्तन पनि ल्याउन सफल भएको थियो । नेपालमा विश्वेश्वरप्रसाद कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री भएका भएपनि त्यतिबेलाको नेपाल निकै पछौटेपन र सामन्तवादबाट गुज्रिरहेको र उनले ज्यादै कम समयमात्र शासन गर्न पाएकाले उनको युवा जोशले पनि त्यतिबेला खासै परिवर्तन ल्याउन सकेन। २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि भने शेरबहादुर देउवा ४९ वर्षको उमेरमा प्रधानमन्त्री बनेका भए पनि उनले केही नयाँ कार्य गर्न सकेनन् भने डा. बाबुराम भट्टराईले भने ५७ वर्षमा प्रधानमन्त्री भएर थोरै भएपनि राम्रा काम गर्न सफल भए ।

 

वास्तवमा उमेर जे जति भएपनि नेताहरुले आफ्नो दायित्व बोध गरे भने र नेतृत्व तहमा बसेर मुलुकको लागि केही राम्रो काम गरेको छाप छाडेर इतिहासमा नाम लेखाउने चेष्टा गरे भने वृद्ध नेताबाट पनि मुलुक र जनताको हितको आशा गर्न सकिन्छ। वृद्ध नेताले पनि आफ्नो टिममा तथा प्रशासनमा युवाहरुलाई समाहित गर्दै जान सक्छ, जस्तो की वाइडेनले नै आफुले नयाँ मानिसहरु यानी युवाहरुलाई राष्ट्र सेवामा मौका दिने कुरा बताएका छन् । तर जबसम्म नेताहरुमा शिक्षा, अनुभव र जिम्मेवारीको वोध हुँदैन र जबसम्म उनीहरु समुहमा काम गर्न (टिमवर्क) र विपक्षको पनि कदर गर्न जान्दैनन्, उनिहरुबाट केही आशा गर्न सकिँदैन। अमेरिकाका नयाँ राष्ट्रपति जोए वाइडेन आजसम्मकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपति भएता पनि उनको लामो संसदिय र शाषकीय अनुभव, शिक्षा, शालिनतायुक्त व्यक्तित्व र व्यवहार तथा निकट भविश्यमा गर्ने भनिएका उनका गर्न सकिने कामहरुको फेहरिस्त हेर्दा उनिबाट आज अमेरिकी जनताले गरेको आशा सत्यतामा परिणत हुन कुनै गाह्रो छैन। किनकी नेताले कुशल नेतृत्वदायी भूमिका खेल्ने वित्तिकै उनको पछाडि हजारौँ अनुयायीहरु लागी हाल्दछन्। जनवरी २० कै समारोहमा ह्वाइट हाउसमा अमेरिकाका तीन जना पुर्व–राष्ट्रपतिहरु विल क्लिन्टन, जर्ज वुश र वाराक ओवामा आफु जुन पार्टीमा विश्वास गर्ने र आफ्ना विचारधारा जे जस्ता भएपनि नयाँ राष्ट्रपतिको स्वागतमा उपस्थित भए र उनको प्रगतिको मात्र कामना गरेनन् की बरु परिआएको बेलामा जस्तो सहयोग गर्न पनि आफुहरु तयार भएको प्रतिवद्धता जनाए। डोनाल्ड ट्रम्पमा पनि अलिकति मात्र विवेक भएको भए यसरी स्वागत गर्ने र शुभेच्छा व्यक्त गर्ने उनि क्लिन्टन, वुश र ओवामा पछिका चौथा राष्ट्रपति हुने थिए, तर उनले चुत्था हुन नै मन पराए।

        
(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार