• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

फागुन ७ मा मिस नेवाः नेपाल ११४१ हुँदै

काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेसन होमले यस वर्ष पनि मिस नेवाः नेपाललाई निरन्तरता दिने भएको छ।  नेप्लिज फेसन होमले आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ आयोजना गर्ने भएको हो।

 

मिस नेवाःका प्रतिस्पर्धीहरुले बेस्ट स्किन, बेस्ट हेयर र बेस्ट पर्सनालिटीका लागि आइतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा अवस्थित ग्लो ब्युटी स्टुडियो काठमाडौं मल पुगेर आफ्नो सुन्दरता थप आकर्षक बनाएका छन्। एनएफएच इभेन्टको सहकार्यमा ग्लो ब्युटी स्टुडियोले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रतिस्पर्धीहरुले आफूलाई थप सुन्दर बनाउने प्रयास गरेका हुन्।

 

मिस नेवाःका प्रतिस्पर्धीहरुलाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटी स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथा मोडल एवं अभिनेत्री दीपासा बिसीले जानकारी गराइन्। उनले सहभागी नेवार सुन्दरीहरुलाई ब्युटी टिप्सको कक्षा पनि दिइन्। सो अवसरमा आयोजक तथा नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाःका प्रतिस्प्रर्धीहरुलाई ग्लो ब्युटी स्टुडियोले थप सुन्दर बनाइदिएकोमा धन्यवाद ज्ञापन गर्दै स्टुडियोको सहयोगले मिस नेवाः प्रतियोगितालाई थप बल मिल्ने बताइन्। 

 

कार्यक्रममा नेपाल क्योकुसिन सेइसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठ, मिस नेवाः नेपाल ११३९ की विजेता नितु डंगोल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिशा शाहीलगायत सहभागी थिए।

 

१५औं संस्करणको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा भिड्दै छन्। उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराएकी छिन्।

 

नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ। नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी गराइन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार