• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

'मलाई हृदयाघात हुन लागे जस्तो भयो'

भ्यानेसा सेन्टेनोः

काठमाडौं । आफ्नो फोक्सोमा रगत जमेको र त्यसले ठूलो जोखिम पुर्‍याएको थाहा पाउँदा भ्यानेसा सेन्टेनो स्तब्ध भइन्। त्यसो हुनुको सम्भावित कारण थाहा पाउँदा त उनी झन् आश्चर्यचकित भइन्।

 

सन् २०१९ मा बोस्टन निवासी महिलाले विश्वका अरू लाखौँ महिलाले जस्तै गर्भनिरोधक साधनका रूपमा चक्की प्रयोग गरेकी थिइन्। तर बहुसङ्ख्यक महिलाभन्दा फरक उनलाई उक्त औषधिको दुर्लभ नकारात्मक असर देखा पर्‍यो। त्यसबाट आफ्नो जीवन नै परिवर्तन भएको उनी बताउँछिन्। 'म सिँढीमा हिडिँरहेकी थिएँ र अकस्मात् मैलै आफ्नो चिट्ठीपत्र राख्ने बाकस समाउन पुगेँ। किनभने मैले राम्ररी सास फेर्न सकिनँ।”

 

'त्यसरी सास फेर्न नसकेको अनुभव मैले कहिल्यै गरेकी थिइनँ। त्यसैले म सके जति सास भित्र तान्ने प्रयास गरिरहेकी थिएँ।' सास फेर्न कठिन भए पनि भ्यानेसा काम गर्न गइन्। तर काम सकिनुअघि नै उनी चिकित्सककहाँ जान चाँडै निस्किन्।

 

'उनीहरूले मलाई सास फेर्न सजिलो होस् भनेर एउटा नेबुलाइजर दिए। मैले अलिकति सहज महसुस गरेँ। उनीहरूले थप जाँच गरे र (मेरो फोक्सोमा) छाया जस्तो केही देखिएको र सम्भवतः निमोनियाले त्यस्तो भएको हुनसक्ने बताए।'

 

तर दोस्रो दिन क्लिनिकमा उनलाई निमोनिया नभएको र थप परीक्षण गर्नुपर्ने बताइयो। एक महिनासम्म चिकित्सकलाई जचाउँद समय प्राप्त नभएपछि उनको स्वास्थ्य थप बिग्रियो र उनले क्लिनिकको सल्लाहमा दम रोगीले प्रयोग गर्ने पम्प प्रयोग गर्न थालिन्।

 

त्यसपछि एक दिन कपडा धुने क्रममा सिँढीमा ओहोरदोहोर गरिरहेकी उनलाई गाह्रो भयो। उनी सास फेर्न नसकेर भान्साको भुइँमा लडिन्। 'मेरो शरीर, मेरो पेट, मेरो छाती र मेरो पाखुरा सबै दुखिरहेका थिए। मलाई हृदयाघात भइरहेको जस्तो लाग्यो।'

 

उनले चिकित्सकको कार्यालयमा सम्पर्क गरिन्। उनलाई नर्सले तत्कालै अस्पताल आउन भनिन्। 'भोलिपल्ट म चिकित्सकलाई भेट्न गएँ र मैले उनलाई मैले भोगेका सबै लक्षणहरू सुनाएँ। उनले मलाई जाँच गरिन् र सीटी स्क्यान गर्नुपर्ने बताइन्। त्यही भएर मलाई ठूलो अस्पतालमा पठाइयो।'

 

त्यसपछि आफ्नो शरीरलाई उपकरणहरूमा जोडिएको र द्रुत रूपमा घटना विकसित हुँदा आफू अलमलमा परेको उनी सम्झिन्छिन्। 'त्यसपछि मेरो छातीको वरिपरि ठूलो आकारमा रगत जमेको पाइयो। त्यो फुट्न थालेको थियो र त्यसले मेरो फोक्सोको अधिकांश क्षेत्रमा अवरोध पुर्‍याउँदै थियो।' 

 

दुई दिन अस्पतालमा बिताएपछि उनलाई घर जान दिइएको भए पनि उनले दुई हप्ता ओछ्यानमै बिताउनुपर्‍यो। उनका अनुसार चिकित्सकहरूले गर्भनिरोधक चक्कीका कारण नै रगत जमेको हुनसक्ने बताएका थिए। एक दिन पनि ढिला गरेर अस्पताल आएको भए उनको उपचार थप कठिन हुने चिकित्सकहरूले भनेको उनी सम्झिन्छिन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार