• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

सम्झना उज्यालो किरणको

काठमाडौं । प्रजातन्त्रिक उज्यालोको पहिलो किरण २००७ सालमा आएको कुरा सबैलाई थाहा छ । तर स्वतन्त्रताको उज्यालो ल्याउन संघर्ष गरेका कति ज्ञात कति अज्ञात योद्धाहरूको बारेमा सबैलाई थाहा छैन । अझ ती अज्ञात योद्धाहरू इतिहासमा नै विलुप्त भए। कति ज्ञातहरु पनि ओझेलमा पर्दै गएर नछिनिने भए। यसको प्रमुख कारण आन्दोलनको सुरुवात अत्यन्त गोप्य रूपबाट भयो किनकी एकतन्त्रीय राणा शासन फल्न खुलेर उभिनसक्ने अवस्था नै थिएन त्यतिबेला ।

 

ओम बहालको एउटा कोठाबाट १९९३ साल मा सुरु भएको स्वतन्त्रता सङ्ग्राम ९७ सालमा आइपुग्दा एउटा प्रवाह बनिसकेको थियो । गंगालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराज शहीद भए । क्रान्तिको नेतृत्व टङ्कप्रसाद आचार्यले गरेका थिए भने संगठनात्मक स्वरुप थियो प्रजापरिषद । 

 

 

२००५ साल सम्ममा आइपुग्दा थुप्रै युवाहरुले यसमा संलग्न भइसकेका थिए । यसरी संलग्न हुने युवाको जमातमा किरण प्रसाद पाण्डे पनि थिए। राजनीतिमा केही चिनिएका हुन्छन् भने धेरै नचिनेका। नचिनिएका मध्येका एउटा राजनीतिज्ञ हुन् किरण प्रसाद पाण्डे। को कुन तहमा पुग्छ धेरैका लागी त्यो महत्तवपूर्ण हुन्छ। तर किरण जहाँ रहे खुशी थिए किनकी उनले आफ्नो निष्ठालाई बचाएर मात्र राजनीति गरेका थिए। त्यसैले पनि स्थानीय निकायमा रहेर वडा नम्बर १८ को वडा अध्यक्षको हैसियतमा जनतासँग हातेमालो गर्दा उनी सन्तुष्ट थिए । ‘हाम्रो देश’ दैनिकको सम्पादक भएर सही सूचना र सही धारणा बनाउने सिलसिलामा उनी पत्रकारितामा लामो समयसम्म रहे । यस क्रममा उनी प्रबल गोरखा दक्षिणबाहु, त्रिशक्ती पट्ट परम, राजनीतिक पीडित समितिबाट ताम्रपत्र, सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहुबाट विभुषित भएका थिए। र, यसैगरी प्रजातन्त्र सेनानीबाट सम्मानित पनि भएका थिए । चलचित्र विकास बोर्डमा लामो समय रहेर उनले यस क्षेत्रको विकासमा पनि सकेको योगदान दिएका थिए। 

 

१९८५ साल कार्तिक २२ गते काठमाडौंको भुरुङखेलमा जन्मेका किरण प्रसाद पण्डेको ९३ वर्षको उमेरमा हालै भएको अवसानले प्रजातान्त्रिक आन्दोलनको एउटा लामो कालखण्ड वोकेको सम्झनालाई छोडेर गएको छ । चेत कुमारी पाण्डेसँग १३ वर्षको उमेरमा बिवाह गरेका उनको तीन छोरी र एक छोरा छन् । उनको छोरा प्रमोद पाण्डे पाण्डे नेपालको एक ख्याति प्राप्त गायक हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार