• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

स्वाँठ भइदिएको भए हुन्थ्यो

कस्तो मान्छे
कति कमजोर चित्त भएको मान्छे
छुस्स केहीले छोयो कि
दुखी हाल्छ
सम्वेदनशीलता नभइदिएको भए
बरु स्वाँठ भइदिएको भए
सायद दुख्दैनथ्यो कि ?


सानो कुराले पनि
यति धेरै दुख्छ
अनि पूरा दिन
त्यसैमा बित्छ


हरेक किसिमको गीत
गाउन सक्ने मान्छेहरूका लागि
बेसुरा सुन्नु पर्दा
दुख्छ कि दुख्दैन
म जान्दिन ;
मानसपटमा जतन गरेको
आत्मीय स्वरभन्दा
अलिकति फरक हुँदा मात्र पनि
बेसुरा लागि हाल्छ
त्यसले के फरक पर्छ र ?
गाउन नजान्ने मान्छेका लागि
अनि जिन्दगीमा सुरभन्दा
प्रशस्त बढी त बेसुर नै हुन्छ
होइन र ?
किन यसरी चित्त दुखेको त ?
अनि मात्र लाग्छ
बरु म एउटा स्वाँठ भइदिएको भए
कति मजा हुन्थ्यो होला
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार